सर्लाही - मागेजति कर नदिएको भन्दै ठेकेदारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीस्थित तरकारी बजारमा फलफूल व्यापारीको टहरा भत्काइदिएका छन्। ठेकेदारले बढी कर मागेको र त्यसको विरोध गर्दा आफूहरुको पसल नै भत्काइदिएको फलफूल व्यापारीले गुनासो गरेका छन्।
नगरपालिकाले दैनिक प्रतिठेला १२ रुपैयाँ तोकेपनि ठेकेदारले आफूहरुसँग ४० रुपैयाँसम्म लिने गरेको ठेलामा फलफूल व्यापार गरिरहेका अशोक साहले गुनासो गरे। ‘धम्क्याएर ३० देखि ४० रुपैयाँसम्मलिने गरिएको छ,’ उनले शनिबार नागरिकसँग भने, ‘नगरपालिकाले तोकेभन्दा बढी तिर्दैनौं भन्दै विरोध गर्दा हिजो दिउँसो हामीहरुको टहरा भत्काइदिए, अनि चारवटा ठेला सिक्रीले बाँधेर राखेका छन्।’
२० वर्षदेखि ठेलामा फलफूल पसल गर्दै आएका विनोद कापरले बजारमा कर उठाउन ठेक्का लिएका ठेकेदारले यस वर्ष निकै दुःख दिएको गुनासो गरे। ‘२० वर्ष भयो मैले फलफूल पसल गरेको, अघिल्लो वर्ष १० रुपैयाँ तिरेका थियौं,’ उनले भने, ‘तर यस वर्ष ५० लाखको ठेक्का कसरी उठाउने भन्दै जबर्जस्ती ४० रुपैयाँसम्म माग्ने गरेका छन्, नदिँदा पसलमा बस्ने महिला तथा केटाकेटीलाई गालीगलौज एवं कुटपिटसम्मको दुव्र्यवहार सहनु परिरहेको छ।’
४० रुपैयाँ दिने भए रसिद माग्दा नदिने र उल्टै धम्क्याउने गरेको फलफूल व्यापारीहरुको गुनासो छ। ‘नगरपालिकाले तोकेभन्दा बढी मागिएपछि हामीले रसिद माग्यौं तर उल्टै धम्कि खाइरहेका छौं,’ अर्का फलफूल व्यापारी रामबाबु महतोले भने, ‘बढी कर मागेको र धम्क्याएको विषयमा इलाका प्रहरी कार्यालय लालबन्दी तथा नगरपालिकाका मेयरलाई गुनासो गर्दा कुनै सुनुवाइ भएन, हामी जस्ता साना व्यवसायीको समस्यामा कुनै सुनुवाइ नै नहुने रहेछ।’
भत्काइएको एवं सिक्रीले बाँधेर राखेको ठेलाको फोटो खिचेको भन्दै शनिबार बिहान ठेकेदारहरुको समूहले पत्रकारलाई समेत दुव्र्यवहार प्रयास गरेका थिए। बजार छेउमै बसेको ठेकेदारको समूहले ‘तपाईंहरुले त्यहाँको फोटो खिच्नुभयो, अब हामी तपाईंहरुको फोटो खिच्छौं,’ भन्दै मोबाइलबाट पत्रकारको फोटो खिचेर त्रास देखाउने प्रयास गरेका थिए।
चार–पाँचजना मिलेर तरकारी बजारको ठेक्का ४८ लाख ५० हजार रुपैयाँमा लिएको ठेकेदार समूहका ज्ञानु योञ्जनले बताए। ‘त्यत्रो बढी रकममा ठेक्का सकारेका छौं,’ उनले भने, ‘अनि ३० रुपैयाँ पनि नलिए कसरी हाम्रो लगानी उठ्छ?’ परिवारका तीन–चार जनाले पसल राख्ने र सबै एउटैको हो भन्दै व्यापारिले प्रतिठेलाको हिसाबले पैसासमेत नदिने गरेको उनले बताए। ‘यहाँ तीन–चारजना व्यापारीले हामीसँग निउ खोजिरहेका छन्,’ योञ्जनले भने, ‘कर नतिर्ने तर निउमात्र खोज्नेहरुको ठेला नियन्त्रणमा लिएका हौं, अरु पनि थुप्रै पसल छन नि, सहर्ष तिर्नेहरुको केही पनि गरेका छैनौं।’
लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले ठेकेदारले बढी लिन खोज्ने र फलफूल व्यापारीले कम दिन खोज्ने गरेकाले विवाद निम्तिएको बताए। ‘ठेकेदारले बढी लिन खोज्ने र व्यापारीले तिर्न नखोज्ने गर्दा विवाद सिर्जना भएको छ,’ मेयर खड्काले भने, ‘व्यापारीहरुले ठेकेदारले कर बढी लिएको गुनासो गरेका छन्, पट्टामा तोकिएभन्दा बढी लिएको प्रमाण ल्याओ, कारबाही गर्छु भनेको छु।’
प्रमुख जिल्ला अधिकारी द्रोर्णप्रसाद पोखरेलले तोकिएभन्दा बढी कसैले कर लिन नपाइने बताए । ‘तोकिएभन्दा बढी कर कुनै पनि हालतमा लिन पाइँदैन,’ प्रजिअ पोखरेले भने, ‘म मेयर साबसँग कुरा गर्छु र बढी कर लिने ठेकेदारलाई नियन्त्रणमा लिन प्रहरीलाई भन्छु।’
प्रकाशित: ३१ भाद्र २०७५ ०५:५३ आइतबार