coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निमगका ४ विमान ग्राउन्डेड

काठमाडौं - नेपाल वायुसेवा निगमका चार विमान ग्राउन्डेड भएका छन् । तीनवटा ट्विनअटर र एउटा न्यारो बडी विमान ग्राउन्डेड भएका हुन्।

भदौ ८ गतेबाट व्यावसायिक उडान थालेको कलसाइन ‘९एन–एएलजेड’ भएको वाइडबडी ‘ए३३०–२००’ सिरिजको विमान पनि शुक्रबारबाट ग्राउन्डेड भएको थियो । कार्गो राख्ने ढोका कुच्चिएर ग्राउन्डेड भएको उक्त विमान भने शनिबार बिहानै मर्मत गरेर नियमित उडान भर्न थालेको छ।

ग्राउन्डेड भएका तीनवटा ट्विनअटर विमान निगमले मर्मत गरिरहेको जनाएको छ । आन्तरिक उडान भर्दै आएका तीनवटा ट्विनअटर विमान मर्मत गर्न अझै केही समय लाग्नेछ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार छोटो धावनमार्ग भएका विमानस्थलमा पनि उडान भर्नेे ट्विनअटर विमानमध्ये ‘९एन–एबिएक्स’ कलसाइनको विमान ४ वर्षअघिदेखि नै ग्राउन्डेड भएका हुन् । कलसाइन ‘९एन–एबियु’ र ‘९एन–एबिटी’ भने दुई महिनाअघिबाट गाउन्डेड भएका हुन्।

‘अहिले हामीले तीनवटै विमानको मर्मत थालेका छौं,’ कंसाकारले भने, ‘पहिला बिग्रेको विमान बनाउन ५ महिना लाग्ने अनुमान छ । हालै बिग्रिएका दुई विमान भने तीन हप्ताभित्र बन्ने अनुमान छ ।’ बिग्रेका विमान दसैंका बेला सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

बाह्य उडान भर्ने न्यारो बडीको ३२०–२०० विमान पनि एक महिनादेखि ग्राउन्डेड छ । मलेसियाबाट नेपाल उडान गरेको निगमको कलसाइन ‘९एन–एकेडब्लु’ विमानको पखेटामा चरा ठोकिएपछि ग्राउन्डेड भएको हो । यसको पनि मर्मत कार्य जारी छ।

‘ग्राउन्डेड रहेको न्यारो बडी आइतबारसम्म बन्ने अनुमान छ,’ उनले भने, ‘शुक्रबार ग्राउन्डेड भएको वाइडबडी शनिबार (आज) बिहानै मर्मत गरिसकेका छौं।’

दसैं र पर्यटकीय सिजन सुरु भएकाले ट्विनअटर विमान पनि सक्दो चाँडो बनाउने कसरतमा निगम छ । ट्विनअटर विमानमार्फत निगमले निजी वायुसेवा कम्पनीले उडान नगर्ने दुर्गम क्षेत्रका गन्तव्यमा उडान गर्दै आएको थियो । काठमाडौं, नेपालगन्ज र विराटनगर विमानस्थललाई केन्द्र बनाएर हिमाली र पहाडी भेगका सोलु, भोजपुर, रुकुम, जुम्ला, ताप्लेजुङ, डोल्पा, जोमसोम, बागलुङ लगायत १८ गन्तव्यमा ट्विनअटरमार्फत उडान गर्छ । तर, ती विमान थन्किएसँगै हिमाली तथा पहाडी भेगका यात्रुलाई मर्का परेको छ।

विमान मर्मत भएपछि नियमित सञ्चालनमा ल्याएर यात्रुलाई सेवा दिने महाप्रबन्धक कंसाकारले बताए । ‘यात्रुको बाध्यतालाई बुझेर सक्दो चाँडो विमान मर्मत गरी सञ्चालनको तयारीमा छौं,’ उनले भने, ‘दसैंमा भने समस्या नहुने गरी विमान मर्मतको काम भइरहेको छ।’

निगमसँग ट्विनअटरबाहेक चारवटा वाई–१२ र दुईवटा एमए–१६ विमान छन् । यी विमानले आन्तरिक उडान भरिरहेका छन्।

अन्तर्राष्ट्रिय उडानका लागि चारवटा एअरबस र एउटा बोइङ विमान छ । मर्मतको क्रममा रहेको न्यारो बडी विमान आइतबार बनेर सञ्चालनमा आएपछि निगमका बाह्य उडान भर्ने सबै बिमान चालु रहनेछन्।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App