७ वैशाख २०८१ शुक्रबार
समाज

जंगली जनावरबाट अन्न जोगाउन खोज्दा आमा छोराको ज्यान गयो

खोटाङ– बारीमा पाक्न लागेका मकै दुम्सीले सखाप पारिदिन थाल्यो। राती राती बारीमा आएर मकै सखाप पार्ने दुम्सी धपाउने कुनै पनि परम्परागत उपायले काम गरेन। त्यही भएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानी डिहीगाउँका १४ वर्षीय नवल तामाङ आमा सरिता तामाङ र बहिनी पूजनासँग दुम्सी मार्नका निस्किए। अन्न जोगाउनका लागि रातैपिच्छे गोठाला बस्नुभन्दा उनीहरुले दुम्सीलाई नै मार्ने निधो गरेका थिए। तर, दुम्सी मार्न घरबाट निस्किएका नवल उल्टै आमासँगै ज्यान गुमाउन पुगेका छन्।

दुम्सी बस्ने दुलो खोज्दै हिँडेका तीन जनामध्ये आमा सरिताको डिउखोलास्थित ओढारमा धुवाँ लगाउनेक्रममा गत साउन २६ गते मृत्यु भएकोमा निसास्सिएर गम्भीर बनेका नवलको बिहीबार राती मृत्यु भएको छ। अन्न जोगाउनका लागि दुम्सी मार्न ओढारमा पुगेका नवललाई अर्धचेत अवस्थामा दुलोबाट निकालिएको थियो। बोल्न नसक्ने अवस्थामा गुफाबाट उद्धार गरेर हेलीकोप्टर चार्टर गरेर काठमाडौं महाराजगञ्ज शिक्षण अस्पतालमा पुर्‍याइएका नवलको स्वास्थ्यमा सुधार नआएपछि घर फर्काइएको केही समयपछि मृत्यु भएको स्थानीय रमेश पुरीले बताए। अस्पतालमा ७ दिन आइसियूमा राखेर निकालेको ३/४ दिनपछि नै उनलाई घरमा ल्याइएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालले अर्धचेत अवस्थामै डिस्चार्ज दिएको आफन्त बताउँछन्। बाँदर, दुम्सी, मृग लगायतका जंगली जनावरले दुःख दिएपछि नियन्त्रणका लागि प्रशासन र स्थानीय तह समक्ष कतिपय किसानले हारगुहार मागिरहेकाबेलामा डिहीगाउँका आमाछोराले भने ज्यान नै गुमाउन पुगेका हुन्।

बारीमा पाक्न लागेका मकै दुम्सीले सखाप पार्दिने गरेपछि आमा सरिताकै सल्लाहमा नवल र बहिनी पूजना जंगलमा गएका थिए। दुस्मी बसेको आशंका गरिएको गुफाको मुखमा आगो बालेर धुवाँ लगाउँदा पनि दुम्सी ननिस्किएपछि सरिता गुफाभित्र पसेकी थिईन्। निकैबेरसम्म आमा बाहिर ननिस्किएपछि नवल पनि गुफाभित्र पसेका थिए। आमा र दाजु बाहिर ननिस्केपछि पुःन पूजना पनि गुफाभित्र पसेकी थिईन्। पुजनालाई भने प्रहरी र स्थानीयले सकुशल गुफाबाट बाहिर निकालेको थियो। धुवाँ नलगाउँदा पनि सो गुफामा १०/१२ मिनेट बस्दा श्वास फेर्नै मुस्किल हुनेगरेको स्थानीयको भनाई छ। आसपासमा दुम्सीको काँडा भेटिए सो आसपासका गुफामा दुम्सी बसेको यकिन गरेर धुवाँ लगाउने प्रचलन छ।

दुम्सी र बाँदरको समस्या डिहीगाउँका स्थानीयको साझा समस्या हो। जंगली जनावरको आतंक उनीहरुले लामो समयदेखि नै झेल्दैआएका छन्। रातको समयमा आउने दुम्सी धपाउनका लागि जहान हुने र जाँगर हुने स्थानीयले बारीका विभिन्न ठाउँमा कटेरा बनाएर रातका समयमा टिन वा बाँसका भाटा बजाउने गरेका छन्। कतिपयले रातभर बारीका विभिन्न ठाउँमा झ्याँस डढाएर धुवाँ पार्ने गरेका छन्। त्यही गर्दा पनि दुम्सीले दुःख दिन नछाडेपछि उनीहरु दुम्सी मार्नका लागि गएका पुरीले बताए।

धुवाँमा निसास्सिएर आमाले ज्यान गुमाएको झण्डै महिना दिनपछि ज्यान गुमाएका नवल सिमपानी मावि कक्षा ६ का छात्र हुन्। दुम्सी मार्नका लागि भन्दै घरबाट निस्केका आमा र छोराछोरी अबेरसम्म घरमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले डिउखोलामा रहेको ओढारमा आगो बलेको र ओढार बाहिर जुत्ता चप्पल देखेपछि उनीहरु ओढारभित्र फसेको पत्ता लगाएको थियो। मृतकका बाबु कुशबहादुर तामाङ गाउँकै प्रजातन्त्र प्राबिका प्रअकारुपमा कार्यरत छन्। आमा सरिताको मृत्यु भएपछि कतारमा रहेका उनका दाजु विजय घरमा आएका छन्।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App