लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइलोको व्यवहारबाट आफू सशंकित भएको बताएका छन् । पोग्बाले केही दिनअघि आफ्नो युनाइटेड बसाइका बारेमा दुबिधा व्यक्त गरेपछि माउरिन्हो पुनः एक पटक उनीसँगको सम्बन्धका बारेमा बोल्न बाध्य भएका थिए।
गत सिजन माउरिन्होको रोजाइमा पर्न असफल भएका पोग्बाले यस सिजन भने इङ्लिस प्रिमियर लिगको सुरुआती खेलबाटै निरन्तर पहिलो रोजाइमा स्थान पक्का गर्दै आएका छन् । तर पनि पोग्बाले भने बारम्बार माउरिन्होसँगको सम्बन्ध सुमधुर नभएको बताउँदै आएका छन्।
राइलोले पोग्बा बार्सिलोनाबाट सम्भावित प्रस्ताव स्वीकार गर्न तयार भएको संकेत गरेसँगै उनको ओल्ड ट्राफोर्ड भविष्यका बारेमा थप दुबिधा बढेको छ । तर माउरिन्होले भने पोग्बाले क्लबमा असन्तुष्ट रहेको कुनै संकेत नगरेको भन्दै उनी र उनका एजेन्टले यसबारे क्लबसमक्ष छलफल गर्न आवश्यक भएको बताएका छन्।
‘पोग्बाको विषय सञ्चारमाध्यममा आइरहेका खबरहरू सत्य हो वा होइन मलाई थाहा छैन,’ माउरिन्होले भने, ‘उनका एजेन्टले पनि मलाई यसबारे केही बताएका छैनन् । राइलोले सार्वजनिक रूपमा पोग्बाको सरुवाका बारेमा बोलेको प्रत्यक्ष देखेमा मात्र म यसमा विश्वास गर्छु।’
माउरिन्होले सिजनपूर्वको अभ्यासका दौरान पोग्बाले विश्वकपमा देखाएको लय क्लब स्तरमा पनि दोहोर्याउन सक्नुपर्ने प्रतिक्रिया दिएका थिए।
‘म युनाइटेडमा जुनसुकै प्रशिक्षक आए पनि आफ्नो तर्फबाट क्लबका लागि शतप्रतिशत प्रदर्शन गर्न सधैं तयार छु,’ पोग्बाले गत साता भनेका थिए, ‘मेरो भविष्य म्यानचेस्टर युनाइटेडको निर्णयमा निर्भर हुनेछ । मेरो र क्लबबीचको सम्झौता अझै बाँकी छ तर आगामी केही महिनामा के हुन्छ कसैलाई पनि थाहा छैन।’
प्रकाशित: ३१ भाद्र २०७५ ०४:३५ आइतबार