८ वैशाख २०८१ शनिबार
खेल

राेनाल्डाे फर्ममा फर्केकाे प्रमाणित

लियोन– पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले हंगेरीविरुद्ध बुधबार रातिको खेलमा दुई गोल गरेर क्रिस्टियानो रोनाल्डोले आफू उच्च फर्ममा फर्केको प्रमाण दिएको बताएका छन्।

कमजोर रूपमा युरोपियन च्याम्पियनसिपको सुरुआत गरेको रोनाल्डो र उनको टोली पोर्चुगल बुधबार समूह चरणको अन्तिम खेलमा हंगेरीसँग ३–३ को बराबरी नतिजा निकाल्दै नकआउट चरणलाई छानिएको थियो।

समूह ‘एफ’ का पहिलो दुई खेलमा आइसल्यान्ड र अस्ट्रियासँग बराबरी नतिजामा सीमित हुँदा रोनाल्डोले गोल गर्न सकेका थिएनन् । दोस्रो खेलमा अस्ट्रियाविरुद्ध रोनाल्डोले समय सकिन ११ मिनेट बाँकीमा पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि पोर्चुगल अनपेक्षित गोलरहित बराबरीमा रोकिएको थियो । दाबेदारको हैसियतसाथ फ्रान्स यात्रामा निस्किए पनि मैदानको कमजोर प्रदर्शनका कारण पोर्चुगल र खासगरी रियाल मड्रिडका सुपरस्टार रोनाल्डोको खुबै आलोचना भयो।

रोनाल्डोले युरोपियन च्याम्पियनसिपका चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउने क्रममा दुई गोल गरेपछि पोर्चुगल तीनपटक सम्म खेलमा पछि परेर पनि बराबरी नतिजा निकाल्न सफल भयो । समूहको तेस्रो स्थानमा रहे पनि उत्कृष्ट चार तेस्रो हुने टोली भएर नकआउट चरणमा पुगेको पोर्चुगलले दुई दिनको आरामपछि क्रोएसियाको सामना गर्नेछ।

युरोपियन च्याम्पियनसिपको अन्तिम चरणमा सर्वाधिक १७ खेल खेलेका रोनाल्डो पोर्चुगलका लागि पनि सबैभन्दा बढी १ सय २८ अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन्। युरोपियन च्याम्पियनसिपको अन्तिम चरणमा सर्वाधिक खेल खेल्ने फ्रान्सका लिलियन थुराम र नेदरल्यान्ड्सका गोलकिपर इडविन भान डर सारको कीर्तिमान रोनाल्डोले बुधबारको खेलबाटै तोडेका थिए।

‘रोनाल्डोले आफू को हूँ भनेर प्रमाणित गरेका छन्। उनी एउटा स्कोरर र एउटा विजेता खेलाडी हुन्,’ ३१ वर्षे स्ट्राइकरबारे सान्तोसले भने, ‘उनी अत्यन्तै आत्मविश्वास भएका खेलाडी हुन् । उनले टिमलाई अत्यन्तै आवश्यकता परेका बेला उच्च प्रदर्शन गरेर आफूलाई प्रमाणित गरेका छन् । यति दबाबमूलक अवस्थामा दुई गोल गर्नु सामान्य कुरा होइन।’

क्रोएसियाले जारी प्रतियोगितामा उच्चस्तरको फुटबल खेलिरहेको बताउँदै पोर्चुगाली प्रशिक्षकले आफूहरू क्रोएसियाको चुनौती पन्छाउन सक्षम भएको बताए । रोनाल्डो सही समयमा लयमा फर्किनु टोलीका लागि महŒवपूर्ण रहेको बताउँदै उनले भने, ‘रोनाल्डो एउटा विश्वस्तरीय खेलाडी हुन् । उनले आफूलाई हरेक अवसरमा प्रमाणित गरिरहेका छन् । तर, बारम्बार उनलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिन्छ । सबै खेलमा कसैले पनि गोल गर्न सक्दैन । सुपरस्टारले दबाबका बेला टिमलाई माथि उकास्ने हो । त्यो रोनाल्डोले गरेका छन्। बुधबार गरेको गोल उनी र पूरा टोलीका लागि महŒवपूर्ण छ । नकआउट चरणमा त्यसले उनी र टिमलाई प्रेरणा दिनेछ।’

समूह चरणमा सबै खेल जित्ने लक्ष्यका साथ मैदान उत्रिए पनि असफल भएको स्विकार्दै सान्तोसले अब प्रतियोगितामा कुनै पनि गल्तीको माफी नपाइने बताए । समूहका एउटै खेल नजिती अन्तिम १६ पुगेको प्रसंग स्मरण गर्दै नकआउट चरणमा कुनै गल्ती नगर्ने उनले प्रतिबद्धता जनाए । ‘अब हामीलाई सानो पनि गल्ती गर्ने सुविधा हुँदैन । हरेक खेल जित्नुको अब हामीसँग विकल्प रहन्न । हामी त्यसमा सचेत छौं,’ उनले भने।

 

प्रकाशित: १० असार २०७३ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App