१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘८ प्रतिशत वृद्धि गर्न १० खर्ब चाहिन्छ’

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायब महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए ।  

२०७३ साल चैत १ गतेबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसी यसअघि एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसीले एनएमबी बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् । उनै अनुभवी  केसीसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्वासेले गरेको कुराकानी :  

२८ वटा वाणिज्य बैंकको भिडमा एनएमबी बैंक कहाँ छ ?

एनएमबी बैंक अलि पृथक किसिमको बैंक हो । यस बैंकका आफ्ना सहायक कम्पनी एनएमबी माइक्रो फाइनान्स र एनएमबी क्यापिटल छन् । एनएमबी बैंकले ५० हजारदेखि ५ अर्ब सम्मको कर्जा प्रवाह गरेको छ । सानोतिनो लगानी तथा ठूलो लगानीमार्फत उद्यमशीलताको विकास गर्न बैंकले प्रोत्साहन गर्दै आएको छ ।   

अरु बैंकभन्दा एमएमबी बैंक के अर्थमा फरक छ ?

एनएमबी बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ । कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा बढी प्रथामिकता दिएर कर्जा प्रवाह गर्दै आएका छौं । नाफा हुन्छ भन्दैमा मदिरा र सिगरेटमा लगानी गर्दैनौँ । नाफा भन्दा पनि सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुग्ने काममा बढी केन्द्रित छौं । 

सदाचार नीति बैंकले लिएको छ भन्न खोज्नु भएको हो ?

त्यसो भन्न खोजेको होइन । सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी उत्पादन हुने वस्तुमा लगानी गर्दैनौं । बैंकले गरेको लगानीबाट उत्पादन हुने वस्तुले मानव स्वास्थ्यलाई सकेसम्म फाइदा पुगोस् भन्ने मान्यता हाम्रो हो । व्यक्ति र समाजका लागि केही गर्नुपर्छ नाफा मात्रै हेर्नु हुँदैन भन्ने उद्देश्य हो ।  

बैंकको वित्तीय अवस्था कस्तो छ ?

बैंकले करिब ८५ अर्ब निक्षेप संकलन गरी ७६ अर्ब कर्जा प्रवाह गरेको छ । खराब कर्जा ०.८८ प्रतिशत छ । सबै सूचक सकारात्मक छन् । बैंकको चुक्ता पुँजी आठ अर्ब छ । चालु आर्थिक वर्षको चैत महिनासम्म बैंकको नाफा १ अर्ब छ ।   

२८ वटा वाणिज्य बैंकमध्ये कुन स्थानमा छ एनएमबी बैंक ?

तह नाप्ने विभिन्न तरिका छन् । के आधारमा नाप्ने भन्ने त छँदैछ । शाखा, पुँजी वा अन्य कुनै माध्यमबाट तह नाप्न सकिन्छ । बैंकको तह नाप्ने काम त सेवाग्राहीको हो । हामीले नाप्दा पूर्वाग्रही हुन पुग्छ तर समग्र रुपमा हेर्ने हो भने हामी उत्कृष्ट पाँच बैंक भित्र (टप फाइभ)मा पर्नु पर्दछ । यो हाम्रो बुझाइ हो ।  

तपाईं यस बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर आएको पनि १६ महिना हुन लाग्यो । के परिवर्तन भयो त बैंकमा ?

पहिलादेखि नै म बैंकको निर्णायक तहमा थिए । कर्मचारीलाई वृत्ति विकास हुने काम गरिरहेका छौं । त्यसैले पनि अन्य बैंकको तुलनामा फरक खालको बैंक भनेर एनएमबी बैंकलाई चिन्ने गरेका छन् । ६,७ जनाको मुख्य (कोर) टिम बनाएर काम गरिरहेका छौं । यस वर्ष बैंकले उपलब्धिमूलक काम गरेको छ । बैंकले द बैंकर अफ द इयर प्राप्त गरेको छ । यसलाई कम उपलब्धि मान्नु हुँदैन । सरकारले एनएमबी बैंकमार्फत नै वैकल्पिक ऊर्जा कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्दै आएको छ ।  

अहिले बैंकिङ क्षेत्रमा के को ट्डकारो आवश्यकता छ ?

दक्ष जनशक्तिको आवश्यकता छ । एनएमबी बैंकले दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रशिक्षण गर्ने कार्य गर्दै आएको छ ।   

बैंकिङ क्षेत्रका चुनौतीहरु के के छन् ?

दक्ष जनशक्तिको अभाव छ । बैंकहरुले स्थानीय निकायमा धमाधम बैंकका शाखाहरु स्थापना गरिरहेका छन् । एनएमबी बैंकले गत आर्थिक वर्षमा ३० शाखा स्थापना गरेको छ । एनएमबी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको स्थानीय निकायमा शाखा स्थापना गरिसकेको छ । व्यापार बिस्तार गर्नका लागि पनि शाखा स्थापना गर्नुपर्ने अवस्था छ । स्थानीय निकायले वाणिज्य बैंकमार्फत खर्च गर्ने प्रावधान ल्याएपछि बैंकले त्यस्तो क्षेत्रमा शाखा स्थापना गर्न थालेका छन् । कतिपय स्थानमा बाटोघाटोको समस्या छ । सुरक्षाको चुनौती पनि त्यत्तिकै छ ।  

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने नीति ल्याएको छ । त्यसैलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ । के त्यो लक्ष्य पूरा गर्न सम्भव छ ?

बजेटले लिएको लक्ष्य पूरा गर्न चुनौती नै छ । अघिल्लो आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि र गत आवमा ७ प्रतिशतको आर्थिक वृद्धि भएको छ । लगातार दुई वर्ष यति धेरै हुनुलाई सकारात्मक नै मान्नु पर्छ । चालु आर्थिक वर्षमा पनि ८ प्रतिशतको लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइएको छ । नेपाल राष्ट्र बैंकले पनि कुल पुँजीको २५ प्रतिशतसम्म परिवर्तित विदेशी मुद्रा र भारतीय रुपैयाँ ऋण ल्याउन दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले बैंकहरुले पनि विेदशी संघसंस्थाबाट ऋण लिने प्रक्रिया सुरु गरेका छन् ।  नेपालमा भएको कोषले मात्र नपुगेर विदेशबाट समेत रकम ल्याउन लागिएको हो । यसले पनि बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधान गर्न केही सहयोग पुग्ने देखिन्छ । त्यसैगरी तरलता सहज हुने गरी राष्ट्र बैंकले विभिन्न उपकरण ल्याएको छ । यसले पनि आर्थिक वृद्धिको लक्ष्यमा पुग्नका लागि सहयोग पु-याउने छ । गत आर्थिक वर्षमा बैंकहरुले ४,५ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी ल्याएका थिए । यस वर्ष पनि त्यही अनुपातमा ल्याउने अपेक्षा गरिएको छ । ८ प्रतिशतको आर्थिक वृद्धि गर्नका लागि १० खर्बको लगानी आवश्यक पर्ने हुन्छ । ४,५ खर्ब बैंकबाट लगानी गर्न सकियो भने बाँकी रकम सरकारले ल्याउन सक्नुपर्छ ।   

तपाईंले बैंकमा गत आर्थिक वर्षमा जस्तै लगानीयोग्य पुँजी (तरलता)को कमी वा सहज हुने स्थिति देख्नु भएको छ ?

गत आर्थिक वर्षको अन्त्यमा बजेट खर्च पर्याप्त रुपमा भएकाले तत्कालका लागि तरलता सहज भएको छ । तर, लामो समय लगानीयोग्य पुँजी सहज हुन्छ भन्ने अवस्था भने देखिएको छैन । ऊर्जा क्षेत्रमा मात्र ५ हजार मेगावाट बिजुली उत्पादन गर्न पर्याप्त रकमको आवश्यक पर्छ । बैंकहरुले मात्र त्यत्रो लगानी गर्न सक्दैनन् । सरकारले पनि बाहिरबाट रकम ल्याउन पहल गर्नुपर्छ ।   

निजी क्षेत्रले मात्रै लगानीयोग्य पुँजीको जोहो गर्न सक्दैनन् भन्न खोज्नु भएको हो ?

निजी क्षेत्रले मात्रै लक्ष्य प्राप्त गर्न सक्दैनन् । त्यसैले सरकारले पनि पहल गर्नुपर्छ । हङ्सी सिमेन्टमा सरकारकै पहलमा चिनियाँ लगानी भित्रिएको छ । त्यस्तै लगानी अन्य उद्योगमा पनि ल्याउनुपर्छ ।  

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) नेपालले ल्याउन नसक्नुको कारण के हो ?

नेपालको नीति अस्थिर किसिमको छ । एफडिआई ल्याउन सुस्पष्ट नीति आवश्यक पर्छ । त्यसैगरी उद्योगधन्दा स्थापना गर्न बिजुलीको नियमितता छैन । दक्ष जनशक्तिको अभाव त्यत्तिकै मात्रामा छ । लगानी ल्याउँदा सहज भए पनि लैजाँदा समस्या हुने हो कि भन्ने दुविधा विदेशी लगानीकर्तामा देखिन्छ । ल्याउदा जति सहज हुन्छ लैजाँदा पनि त्यत्ति नै सहज भयो भने विदेशी लगानी आउन सक्ने सम्भावना बढी हुन्छ । नीतिगत रुपमा स्पष्ट व्यवस्था हुनु पर्छ ।  

नेपालमा लगानी गर्न जोखिम बढी छ भन्न खोज्नु भएको हो ?

बाहिरबाट हेर्दा जोखिम (रिक्स फ्याक्टर) बढी छ । पहिले जलविद्युतमा निजी क्षेत्र जलविद्युत क्षेत्रमा लगानी गर्न डराउँथे तर अहिले संस्थागत रुपमा नै जलविद्युतमा लगानी गर्न थालिएको छ । संस्थागत रुपमा एक सय मेगावाटसम्मका आयोजना निर्माण हुन थालेका छन् । राजनीतिक स्थायित्वसँगै अपेक्षाहरु बढी हुन थालेका छन् । लगानीकर्ताको आत्म विश्वास बढेको छ । बैंकबाट ऋण लिएर भएपनि आयोजना निर्माण गर्न थालिएको छ । आयोजना निर्माण गर्दा प्रदेश र स्थानीय तहलाई के फाइदा हुन्छ भन्न थालिएको छ । लगानी गर्नका लागि आत्मविश्वास बढेको छ । नेपालमा स्थायित्व हुन्छ भने लगानी गर्न सकिने आशय विदेशीले व्यक्त गर्न थालेका छन् । विदेशीले लगानी गर्ने माध्यम भनेकै बैंकिङ च्यानलबाट हो । एफडिआई भित्रिने सम्भावना बढेको छ ।  

एफडिआई ल्याउनु नेपालको आवश्यकता नै हो ?

नेपालमा एफडिआई ल्याइनु पर्छ । एफडिआई ल्याउन पनि त्यति सजिलो छैन । अहिले नेपालका बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण लिन थालेका छन् । विदेशी वित्तीय संस्थाले ऋण दिनका लागि पनि नेपालकै क्रेडिट रेटिङ गर्ने गर्छन् । त्यसपछि बैंक तथा वित्तीय संस्थाको अवस्था पनि त्यतिकै मूल्यांकन गर्छन् । मुलुकभित्र सञ्चालन भएका सबै बैंकले ऋण ल्याउन सक्ने कुरा पनि भएन । संयुक्त लगानीका बैंकले बढी लिन सक्छन् । ऋण लिन सुरुवात गरेपछि विश्वासको वातावरण बन्दै जान्छ । नीतिगत रुपमा स्थायित्व आवश्यकता छ ।  

नेपालमा अवैधानिक रुपमा आर्थिक क्रियाकलाप बढी हुने गरेको छ भनिन्छ । यस्तो गैरकानुनी रुपमा हुने क्रियाकलापको हिस्सा कति छ जस्तो लाग्छ तपाईलाई ? 

यति नै छ भनेर भन्न सक्ने तथ्यांक त मसँग छैन तर अवैधानिक रुपमा आर्थिक क्रियाकलाप हुने गरेका छन् । विदेशबाट भित्रने रेमिटेन्सको रकम गैर बैंकिङ च्यानलबाट आउने गरेको छ । त्यस्तै कर छल्ने काम पनि हुने गर्छन् । यस्तो कार्यलाई अनुगमन गर्नुपर्छ ।  

अहिले सेयर बजारमा निकै गिरावट आएको छ । यसलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ?

सेयर बजारमा उतार–चढाव संसारभर आउने गर्छ । मुलुकको नीति परिवर्तन हुँदा सेयर बजारमा प्रभावित हुन्छ । बैंकको ब्याजदर माथि गएको समयमा पनि सेयर बजार घटने गर्छ । पछिल्लो समय नेपालको पुँजी बजार ओरालो लाग्नुको कारण पनि यही हुनुपर्छ । चालु आर्थिक वर्षको बजेटमार्फत लाभकर वृद्धि गरेका कारणले पनि सेयर बजार ओरालो लागेको हो ।  

एनएमबी बैंकले कुन कुन क्षेत्रमा बढी लगानी गर्दैछ ?

पछिल्लो समय हामीले ऊर्जा, पर्यटन, कृषि, शिक्षा, उत्पादनमूलक उद्योग, आइटी लगायतका सेक्टरमा लगानी बढाएका छौं । ऊर्जामा कुल लगानीको १५ प्रतिशत लगानी गर्नुपर्छ भन्ने उद्देश्यले त्यतातिर बढी लगानी गरेका छौं । जलविद्युत आयोजनामा निर्माण गर्न कम्तिमा ३,४ वर्ष लाग्ने गर्छ । आजको भोलि नै निर्माण हुन सक्दैन । अहिले ठूला जलविद्युत आयोजना निर्माणको चरणमा छन् । आयोजना निर्माणमा उत्साहित थपिएको छ । बिजुली नभइ उद्योगधन्दा फस्टाउन सक्दैन । बिजुली आधारभूत आवश्यकता हो । दक्षिण एसियामा ऊर्जाको खपत नेपालमा कम छ ।  त्यस्तै पर्यटनका लागि विमानस्थल, बाटो निर्माण हुनुपर्छ । आधुनिक कृषि खेतीमा जोड दिन सकिएको छैन । शिक्षामा लगानी गर्न नसकेकै कारण विदेशमा जनशक्ति जाने क्रम रोकिएको छैन । उत्पादनमूलक उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता छ । आइटी सेक्टरबाट भारतले प्रशस्त फाइदा लिइरहेको छ । त्यो फाइदा नेपालले पनि लिन सक्छ तर लिएको छैन । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरु निकै व्यक्त हुन्छन् भनिन्छ । समय कसरी मिलाउनु हुन्छ ?

बिहान ४ देखि ५ बजेको बीचमा उठ्छु । बुढाबुढीसँगै मनिङ वाकमा निस्कन्छौं । ८ बजेतिर अफिस जान्छु । अफिसमा ८ बजेदेखि ११ बजेसम्म बढी काम गर्न सकिन्छ । दिउँसो भेटघाटमा बित्छ । बेलुका पनि कहिले मिटिङ तथा अन्य सामाजिक काममा जानुपर्ने हुन्छ ।  

सामाजिक काममा कति समय दिनुहुन्छ ?

पहिला अलि बढी दिन्थेँ तर अहिले सामाजिक गतिविधिमा कम समय दिने गरेको छु ।  

परिवारमा को को हुनुहुन्छ ?

श्रीमती र दुई छोरा छन् । श्रीमती सरिता केसी एभरेस्ट बैंकमा काम गर्छिन् । ठूलो छोरा सार्थक केसी ए लेभलमा  र सानो छोरा साश्वत केसी कक्षा ८ मा पढिरहेका छन् ।  

प्रकाशित: ३० भाद्र २०७५ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App