coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिल्लामा सरकारी कार्यालय फर्काउन खोज्नु गम्भीर

कृषि ज्ञान केन्द्रको कार्यालय उद्घाटन गर्दै प्रदेश सांसद दिपेन्द्र पुन ।    तस्बिरः नागरिक

रोल्पा – ‘यो या त्यो नाममा जिल्लामा सरकारी कार्यालय फर्काउन खोजिएको हो भने त्यो गम्भीर तथा संविधान विपरीतको काम हुँनेछ। अहिलेसम्म पनि संघ र प्रदेशले स्थानीय तहलाई अन्योलमा राखेको छ। कतिपय कार्यालयका कर्मचारीले अझैसम्म तलब खान पाएका छैनन् भने काम गर्नु त परैको कुरा हो,’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले कृषि ज्ञान केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा भने, ‘स्थानीय तहले बिनियोजन गरेको कृषि र पशुको बजेट कार्यान्वयन गर्ने दक्ष जनशक्ति छैन्। फेरी कुनै घुमाउरो बिधिबाट कार्यालय फर्काउने चेष्टा पो हो कि भन्ने आशंका जन्मिएको छ।’

स्थानीय तहहरूले दक्ष जनशक्ति नहुँदा कार्य सम्पादनमा समस्या रहेको बताउने गरिरहँदा जिल्लामा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना हुनु सकारात्मक हुँदा हुँदैपनि आशंका भने जन्माएको जनप्रतिनिधिको ठहर रहेको छ। ‘पोहोर थाहै नपाएर बजेट मिस गरियो। अहिले बजेट छुट्याएका छौ तर खर्च कसरी गर्ने दोधारमा छौ। कर्मचारी सेटल गर्नलाई मात्र कार्यालय स्थापना भएको हो भने दुःखद हो। संघियताको मर्म अनुसार काम गर्ने हो भने कार्यालयलाई सफलताको शुभकामना,’ नगर प्रमुख केसीले भने। 

उपसचिबस्तरको एक जना कार्यालय प्रमुख सहित अधिकृत र अन्य गरी १५ जनाको दरबन्दी सृजना गरेर साविकको कृषि विकास कार्यालयलाई सोही भबनमा कृषि ज्ञान केन्द्रका रुपमा कार्यालय स्थापना गरिएको छ। बिगतको भन्दा फरक कार्यशैलि रहेको दाबी गरेको कार्यालयले स्थानीय समस्यामा आधारीत रहेर काम गर्ने जनाएको छ। नवस्थापित कार्यालयमा विशेषज्ञ शाखा, अध्यन परिक्षण तथा तथ्याङ्क शाखा, तालिम तथा प्रसार शाखा र प्रशासन शाखा गरी ४ वटा फाट रहने छ। 

कृषि ज्ञान केन्द्रको कार्यालय उद्घाटन गर्न रोल्पा आएका प्रदेश सांसद दिपेन्द्र पुनले नगर प्रमुखले उठाएका जस्ता आवाज ठाउँठाउँमा उठिरहेको भन्दै खर्चिलो हुँदा हुँदैपनि संघियतालाई व्यवस्थित गर्नुको बिकल्प नरहेको बताए। ‘हामीले थेग्न सक्छौ सक्दैनौ एउटा कुरा हो तर यसलाई व्यवस्थित गर्नुको बिकल्प छैन्। अर्को कुरा प्रदेश न. ५ को उन्नतीका लागि कृषि र पशुपालनमा जोड दिनै पर्छ।’

रुकुम पूर्व र रोल्पा गरी दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रको कार्यालय उद्घाटन गरिएपनि कार्यक्रम र बजेटभने अझै आइनसकेको कार्यालय प्रमुख नरेश धितालले बताए। 

प्रकाशित: ३० भाद्र २०७५ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App