७ वैशाख २०८१ शुक्रबार
अन्य

बाटो, पुल र स्कुल

दिपक महत

शुक्रबारको दिन दिउँसो १ बजे स्कुल बिदा भएपछि टाकुरा गाउँका तीन विद्यार्थी शक्ति, विजय र रचना घरतिर लाग्दैथिए । वैशाखको तेस्रो हप्ता मौसममा परिवर्तन भयो । एक्कासी आकाश गर्जिन थाल्यो । सिमसिम पानी जमिनमा पर्न थालिसकेको थियो । स्कुल आउँदा घरबाट ओत लगाउन मिल्ने छाता, प्लाष्टिक केही पनि उनीहरूले बोकेका थिएनन् । त्यसैले आफैँले किताब, कापी बोकेको झोलालाई टाउकोमा अठ्याउँदै घरतिर दौड्न थाले । स्कुलबाट उनीहरूको घर टाकुरा पुग्न झण्डै एक घण्टाको बाटो हिँड्नुपथ्र्याे । घर जाने बाटोमा जङ्गल थियो । त्यो जङ्गल पुग्नुभन्दा अगाडी एउटा खोला पनि पार गर्नुपर्ने हुन्थ्यो।

स्कुल पढ्न गाउँबाट जम्माजम्मी तीन जनामात्र जान्थे । उनीहरूमध्ये शक्ति सिनियर थियो । ऊ कक्षा पाँचमा पढ्थ्यो भने विजय र रचना चार कक्षामा पढ्थे । स्कुल जाँदा आउँदा सधैं सँगै आउने जाने  गर्थेे । गाउँमा स्कुल जाने उमेर समूहमा अरु पनि थिए तर शिक्षाको चेत नहुँदा घरका अभिभावकले आफ्ना छोराछोरीलाई स्कुलसम्म पठाउन आवश्यक मानेका थिएनन् । यो देखेर शक्ति, विजय र रचना खुसी थिएनन् । उनीहरू सोच्थे यदि ‘उनीहरूलाई पनि हामीजस्तै स्कुल ल्याउन सकियो भने कति राम्रो हुन्थ्यो है!’

पानी रोकिएन । झन ठूलो पर्दै गयो । दिउँसै अन्धकार भएजस्तो भयो । आकाश पनि गर्जिरहेको नै थियो । लगातार दौडिँदा रचना गलेकी थिई।

उसले शक्तिलाई रोकेर भनी ‘दाइ ! अब म दौड्न सक्दिनँ । यतै कतै रुखमुनि ओत लागेर बसौँ न।’

शक्तिले सहमति जनायो तर विजय भने यसमा सहमत भएन । पानीमा भिजेरै जाने मनसाय देखायो।

विजयले शक्ति र रचनालाई भन्यो ‘जाने भए जाम । नभए म एक्लै भएपनि घर जान्छु । यो पानी रोकिने हैन । फेरि यहाँ बसेर राम्रोसँग ओत लाग्न नि पाइने हैन । बरु सरासर गएर घर पुगी लुगा फेर्न पाइन्छ।’

यति भनेर ऊ फेरि दौडिन थाल्यो । रचना केही भन्दै थिई तर ऊ सुन्नै तयार भएन।

पानी ठूलै परेकाले शक्ति र रचना निथ्रुक्कै भिजेका थिए । तर, आफ्ना किताबलाई बचाउन उनीहरूले झोलालाई छातीमा टाँसेर राखेका थिए । यसबीच उनीहरू ठूलो रुखको खोजीमा केही समय यताउता गरिरहे । रुखमा ओत लागेर बस्दा दुवै प्रकृतिप्रति जिज्ञासु बने । ‘मौसम पनि कस्तो छिनछिनमा बदलिइरहने’ रचना बोल्न थाली।

चराहरू पनि भिज्नबाट बच्न चिरबिर चिरबिर गर्दै यताउति उडिरहेको देखेर शक्ति रोमान्चित बन्दै थियो । यस्तैमा शक्तिले उनीहरू ओत लागेर बसेकै रुखमा ढुकुरको गुँड देख्यो । त्यहाँ ढुकुरले आफ्ना बचेराहरूलाई पानीबाट जोगाउन ढाकेर राखिरहेको दृश्य मनमोहक देखिन्थ्यो । दुवैले त्यो दृश्य रमाइलो मानी हेरे।

करिब डेढ घण्टापछि पानी रोकियो । शक्ति र रचना भिजेको कपडालाई निचोरेर कुरा गर्दै घरतिर  लागे।

बाटोमा खोला तर्नुपथ्र्याे । भर्खरै परेको पानीका कारण खोला बढेको रहेछ । अब खोला तर्न नसक्ने अनुमान शक्तिले लगायो । अहिलेसम्म पनि पुल बनाउन नसक्ने र नचाहनेप्रति गुनासो पोख्यो।

अनायासै रचना चिच्याई।

शक्तिले सोध्यो, ‘के भयो रचना?’

‘उ दाइ यहाँ हेर्नुस् त, विजय लडिरहेको छ । रगत पनि बगेर बाटो राताम्यै भएको छ।’   

शक्ति र रचना हतारहतार विजय भएतिर लागे । विजय खोलाको छेऊमा लडिरहेको थियो । उसको शरीरबाट रगत बगेको थियो । रचना र शक्तिले सोधे ‘विजय के भयो ? कसरी लड्यौ ?’ तर विजय बोल्न सकिरहेको थिएन । सुँकसुँक मात्र गरिरह्यो । हेर्दा विजयको हातमा गहिरो चोट लागेको थियो । त्यहीँबाट रगत बगिरहेको थियो।

शक्तिले आफ्नो गोजीबाट रुमाल निकाल्यो र घाउ भएतिर लगेर बाँधिदियो । अब रगत बग्न छोड्यो। 

केहीबेरपछि विजय बोल्यो । बाटामा ढुङ्गामा अल्झिएर ऊ लडेको रहेछ । लडेर लागेको घाउको दुखाइ र बढेको खोला तर्न नसक्दा ऊ बाटामै अलपत्र परेको रहेछ । शक्ति र रचना पुगेपछि उसले राहत महसुस गरेको थियो । ऊ आफ्ना साथीहरूसँग गुनासो पोख्न थाल्यो ‘यो बाटोमा यतिधेरै मान्छे ओहोरदोहोर गरिरहन्छन् तर, बाटोको अवस्था यो छ । बाटोकै कारण कति दुःख सहनु परेको छ हामीले।’

आवेगमिश्रित स्वरमा रचना पनि बोली ‘त्यै भएर त तिमीलाई हामीले एक्लै नजाऊ भनेको हैन ?’ विजयसँग ठुस्केजस्तो गरी रचनाले।  

विजय चुप लाग्यो।

खोला धमिलो र ठूलो थियो । त्यसैले उनीहरूले झट्टै पार गर्न सकेनन् । जोखिम लिन तयार भएनन् । शक्तिले केही समय पर्खेर खोला घटिसकेपछि घर जाने भन्यो । यो कुरामा दुवैजना सहमत भए । विजय घाउ दुखिरहेको थियो । शक्ति र रचना सान्त्वना दिइरहेका थिए । अब गाउँ पुगेर उपचार गर्न शक्ति र रचनाले सुझाए । छिट्टै निको हुने भन्दै विजयलाई ढाडस थपिदिए।

सायद दिउँसोको ५ बजेको थियो । खोला पनि घटेको थियो । उनीहरू तीनैजना हात समातेर खोला तर्न खोज्दैथिए, कसैले रचनालाई बोलाएजस्तो आवाज सुने उनीहरूले । उनीहरू रोकिए । रचनाको बाबालाई उनीहरूले खोलापारि देखे । रचनाका बाबा देखेर उनीहरू खुसी भए।

तीनै जनालाई रचनाको बाबाले खोला पार गराउनुभयो।

शक्ति बोल्यो,  ‘अङ्कल हामीले पुल नबन्दा यतिधेरै दुःख भोगेका छौँ । उर्जाशील समय त्यतिकै कटाएका छौँ । ज्यान जोखिममा पारेका छौँ । त्यसैले पुल त जसरी भएपनि बनाउनुपर्छ।’

रचनाले थपी, ‘बाबा अब बाटो पनि राम्रो बनाउनुपर्छ । हेर्नुस् त, आज विजय लडेर चोट लागेको । कम्तीमा हिँड्ने बाटो सजिलो भैदिएको भए यसरी पीडा खप्नुपर्ने त थिएन । रचनाका बाबा सहमत हुनुभयो । भोलि बिहानै ७ बजे सबै गाउँलेलाई भेला पारेर कुरा गर्ने भन्नुभयो।

घर पुगिसकेपछि शक्ति र विजयले पनि यो कुरा सुनाए । भोली बिहानै चौतारीमा सल्लाह गर्नका लागि घरबाट जान तयार भए।

अर्को दिन बिहान ७ बजे, टाकुराको चौतारीमा सबै भेला भइसकेका थिए । रचनाका बाबाले हिजो शक्ति, विजय र रचनाले भोगेको दुःख सुनाउनुभयो । यो सुनेर सबैले खोलामाथि एउटा पुलको आवश्यकता महसुस गरे ।  जनश्रमदानबाटै बाटो र पुल बनाउन सबैले अठोट गरे । सरकारको मात्रै मुख ताकेर बस्न नहुने कुरामा पनि एकमत देखिए।

अत्यमा, रचना बोली ‘अब हामीजस्ता बालबालिकालाई घरमा राखेर हुँदैन । पढ्न स्कुल पठाउनै पर्छ । यदि हामीले स्कुल पठाउन सकेनौँ भने भविष्यमा पछुताउनुपर्छ । यसको दोषी स्कुल नपठाउने अभिभावक नै हुनुपर्नेछ । भोली गएर आफ्ना छोराछोरीले अभिभावकलाई धिक्कार्ने अवस्था सिर्जना नहोस् ।’ यति भनिसक्दा सबै गाउँले मुखामुख गर्न थाले । रचनाको चेतनास्तर देखेर सबै प्रभावित भए । अनि एकै स्वरमा सबैले भने, ‘हामी अब अब हाम्रा सन्तानलाई स्कुल पठाउँछौँ ।’ रचना, विजय र शक्ति पनि खुसी भए । सबै गाउँले पनि खुसी भए।

प्रकाशित: ३० भाद्र २०७५ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App