८ वैशाख २०८१ शनिबार
अन्य

‘कोठामा बस्नुभन्दा काम गर्नु जाती’

मुलुकका विभिन्न जिल्लाबाट राजधानी आएर बस्ने थुप्रै छन् । उनीहरूमध्ये कतिपयले आफ्नै घर बनाएर बसेका छन् भने कतिपयले डेरामा समय कटाउँदै छन् । बिरानो ठाउँमा आफ्नो खेतबारी नभएपछि दिनभर कोठामा बस्नु उनीहरूको दैनिकी जस्तै बन्ने गरेको छ । तर, कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा आएर बस्दै गरेका केही महिलाको हकमा भने यो देखिँदैन।

दोलखा, वैलेश्वर गाउँपालिकाकी टीकामाया अधिकारी सात वर्षदेखि काठमाडौंको मूलपानीमा बस्दै आएकी छन् । दोलखाबाट आएपछि सुरुका केही समय उनी बिहान बेलुकाको खाना पकाउने अनि दिनभर घरमा बिताउने गर्थिन् । तर, केही समययता भने उनको दैनिकी फेरिएको छ।

‘कोठामा बस्दा खर्च मात्र हुन्थ्यो, यसरी खेतबारीमा आएर काम गर्न थालेपछि बचत हुन थालेको छ।’

‘कोठामा खुम्चेर बस्नुभन्दा फाँटमा काम गर्नु रमाइलो हुँदो रहेछ,’ तरकारी खेतमा काम गर्दै गरेकी उनले भनिन्, ‘पैसा पनि आउने स्वास्थ्य पनि राम्रो हुने ।’ कोठामा बस्दा समय कहिले कट्ला जस्तो हुने गरेकोमा अहिले काम गर्न थालेपछि रमाइलो हुने गरेको उनले बताइन्।

उनको जस्तै बुझाई छ, सिन्धुपाल्चोक बाह्रबीसेकी शर्मिला थापाको पनि । राजधानी आएर बस्न थालेको एक दशकभन्दा बढी भइसकेको छ । उनी पनि अहिले हरेक दिन काममा निस्कने गरेकी छन् । खेतीपातीको काममा रमाइलोसँगै पैसा पनि हुने उनको बुझाइ छ।

‘साथीहरूसँग मिलेर काम गर्दा रमाइलो हुन्छ,’ उनले भने, ‘त्यहि भएर खाली समयमा काममा निस्कने गरेका छौं ।’  आफ्ना दुःखसुखका कुरा गर्दै काम गर्दा निकै खुसी मिल्ने उनले बताइन् । ‘मनका चिन्ता पनि हटेर जाँदो रहेछ,’ उनले थपिन्, ‘त्यसैले काम गर्न जाँगर लागेको छ।’

यसरी काम गरेको दैनिक ३ सय हात पर्ने उनीहरू बताउँछन् । यसबाट उनीहरूले आफ्नो खर्चका साथै नानीहरूको खर्च समेत जुट्ने बताउँछन् । ‘घरमा बस्दा खर्च मात्र हुन्थ्यो,’ दोलखाबाट आएकी गीता सुवेदी सुनाउँछिन्, ‘यसरी काम गर्न थालेपछि बचत हुन थालेको छ।’

प्रकाशित: ३० भाद्र २०७५ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App