coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जीवन धान्ने आधार बन्दै पानी घट्ट

डोल्पा – हिमाली जिल्ला डोल्पामा परम्परागत पानी घट्ट सर्वसाधारणदेखि राजनीतिज्ञसम्मको लागि जीवन धान्ने आधार बन्दै आएको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ करेलीकाँडाका कन्न बुढा वर्षले ७१ पुगे। ०५४ मा भएको स्थानीय निर्वाचनमा साविकको त्रिपुराकोट गाविसमा नेपाली काँग्रेसबाट निर्विरोध गाविस उपाध्यक्ष बनेका उनको यतिखेर पानी घट्टमा दिनचर्या बित्ने गरेको छ। 

हिमाली जिल्लामा परम्परागत पानी घट्ट लोकप्रिय मात्र नभइ जीवन धान्ने आधार समेत बनेको छ। गाउँमा आधुनिकता भित्र्याउने बिजुली बत्तीको सुबिधा भएपनि ग्रामीण बस्तीहरूमा भने अझैपनि पानी घट्ट सर्वसाधारणको रोजाई र खोजाईमा पर्दै आएका छन्।

डोल्पाका धेरै स्थानीय तहमा बिजुली बत्तीको सुबिधा भएपनि भरपर्दो र स्थाई नभएकाले उज्यालोको लागि पनि पिलपिले बत्ती बाल्नु बाहेक अन्य काममा प्रयोग गर्न नसकिने भएपछि घट्ट मिल चलाउन सक्ने अवस्था छैन्।
पानी घट्टमा पिसानी गरेको पिठो, रोटी तथा ढिडो खानको लागि स्वादिष्ट हुने र थोरै लागानीमा पनि बनाउन सकिने भएकाले सबैको रोजाई र खोजाईमा पर्ने गरेको ७१ वर्षीय कन्न बुढा बताउँछन्।

हिमाली तथा पहाडी क्षेत्रका ग्रामीण बस्तीमा प्रमुख बाली भनेको नै मकै गहुँ र फापर भएकाले पिसानीको लागि पानी घट्ट बाहेक अर्को बिकल्प नभएकोले दुख भएपनि एउटा घट्टले दश जनाको परिवारलाई वर्षभरी खान पुग्ने बुढाको भनाई छ। डोल्पालीको बिहान बेलुका गर्जो टार्ने पिठो पिसानीको एउटै आधार पानी घट्ट भएको र पानी घट्ट संचालन स्थानीय स्रोत साधनको प्रयोग गरेर बनाउन सकिन्छ।

थोरै परिश्रमले घट्टबाट उठेको शुल्कबाट परिवार पाल्न सजिलो हुने भएकाले आफुले छलगाड खोलामा दुई ओटा घट्ट संचलानमा ल्याएको अर्का घट्ट संचालक माधवसिँ कठायतले बताए।

स्थाई र भरपर्दो बिजुलीको ब्यवस्था नभएको बर्तमान अवस्थामा सबैको जीवन धान्ने आधार पानी घट्ट बन्दै आएकोले पानी घट्ट संचालनको लागि स्थानीय निकायले थोरै भएपनि अनुदान सहयोग गर्न सके इतिहासको रुपमा पनि परम्परागत पानी घट्ट बचाइ राख्न सकिने कठायतको भनाई छ।

डोल्पाका अन्य स्थानीय तहमा पनि परम्परागत पानी घट्ट संचालनमा रहेपनि त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत हिरा घट्ट, छलगाड घट्ट, गल्लीगाड घट्ट, ठुलीभेरी नगरपालिका अन्तर्गत भेत्तीखोला घट्ट, रुपगाड घट्ट विशेष चर्चामा रहेको र यी घट्टमा स्थानीयको घुइचो लाग्ने गरेको पाइन्छ।

नेपालका अन्य जिल्लामा आधुनिक प्रवृद्धि भित्रिएसंगै परम्परागत पानी घट्ट संचालनमा नआएको बेला कर्णालीका डोल्पा, जुम्ला, हुम्ला, मुगु र कालिकोटमा भने अझैपनि घट्ट संचालनमा छन्। 

प्रकाशित: ३० भाद्र २०७५ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App