coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

१०. मुक्तक

सागर उदास

अलिअलि लजाएर हिँड्न थालेकी छाैं,
सुस्तसुस्त हाँसलेझैँ पाइला चालेकी छौं ।
नरमाइलो लाग्न थाल्यो भन्छौ जन्मघर,
मन्दिर धाउँदा मनको वर माग्न थालेकी छौं ।
...
अग्लोअग्लो घरभन्दा पाली मनपर्छ,
माया गर्ने मान्छेको त गाली मनपर्छ ।
एकैैछिनमा गुन बिर्सने भो मान्छेको जात,
वाहिरी संसारभन्दा त घरवाली मनपर्छ ।
...
साह्रै राम्री थिइन अरे कोमल मत्स्यगन्धा,
पिरतीमा भगवान पनि हुने रैछन् अन्धा ।
कुहिरोलाई डुँगाभित्रै कुन्नी के–के भयो,
व्यास जन्मे बुद्धिमानी पराशर भन्दा ।
...
सबै भन्छन् रमाइलो सुखद शुुक्रबार,
देख्दिनँ कुनै बारमा पनि जिन्दगीको सार ।
यस्तो बनोस मेरै लागि कुनै एकदिन,
जीवनको यात्रा नहोस खुकुरीको धार ।
...
कोइली जस्तै लठ्ठ पार्ने बोली हजुरको,
गून्यूमाथि टम्म जीउमा चोली हजुरको
यस्तो परी देखें आज सत्य रामराम,
स्वागत गर्छु मत दिल खोली हजुरको ।
...
थारै माया पाउँला भनि बल्झिएर आएँ,
त्यही रातो पच्छ्यौरीमा अल्झिएर आएँ ।
खाली रहेछ दिलदार दिल बास पाइन्छ कि,
बर बन्ने आशा बोकी सम्झिएर आएँ ।
...
रमाएर बसेको थिएँ आफ्नै घरगाउँमा,
सहर झरें परें अहिले तिम्रै बल्छिदाउमा ।  
दुई दिनको रहर भो सहरको बसाइ,
किन्न माग्छौँ चोखो मन कबाडीको भाउमा ।
...

कति खाने ज्यान मायाको सधैं टोकाइ,
सारी लर्काइ हिँड्छे मलाई झोला बोकाइ ।
जहिलेसुकै उसकै खटन बहरझैं दाउँछे,
यस्तै हो कि सधैभरि जीवन भोगाइ ।
...
यी नजरमा फूल बनी तिमी फुलेपछि,
साँच्चै माया गर्छु भनी खुल्नु खुलेपछि ।
म पनि त गगन चुम्ने चंगासरी भाछु,
कसले छेक्छ हाम्रो बाटो लगन जुरेपछि ।
...
अछाम, डोटी, बाजुरा र बझाङको जिल्ला,
खप्तड साह्रै राम्रो चार जिल्लाको किल्ला ।
जिउँदै हुँदा जानै पर्ने खप्तड स्वर्गभूमि,
एकचोटी पुगे हजुर मनमा शान्ति मिल्ला ।

प्रकाशित: ३० भाद्र २०७५ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App