८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले थुनिएको बाडिगाड बग्न थाल्यो, जाेखिम कायमै रहेकाले सतर्क रहन अाग्रह

बागलुङ – चट्टानी पहिरोले जिल्लाको बडिगाडखोला गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा थुनिएको खोला बिस्तारै आफ्नो गतिमा बग्न थालेको छ। चट्टान सहितको ढुङ्गा झरेर थुप्रिएको एक साइडमा माटोको थुप्रो रहेकाले त्यहीबाट पानी बग्न थालेको बताइएको छ।

पानी बाग्न थालेपछि लोकमार्ग छेउसम्म आइपुगको बडिगाड खोलाको सतह एक मिटर तल खसेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाले जानकारी दिए। ‘पानीले आफ्नो बग्ने गति भेट्टाएको छ, अब त्यस्तो ठूलो खतरा त छैन,’ थापाले भने, ‘ठूलो चट्टान सहितको पहाड नै झरेकाले पनि पूरै घट्नका लागि समय लाग्ने देखिन्छ।’

शनिबार बिहानसम्म खसेको पहिरो अहिले भने रोकिएको उनले बताए। पहिरो खस्ने क्रम र पानी बग्न थापेपनि सम्भावित जोखिम कायमै रहेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन उनले आग्रह गरे। पहिरोका चट्टानको पहाडै खसेका कारण अवरुद्ध भएको लोकमार्ग खुलाउन भने एक साताको जति लाग्न सक्ने उनले बताए।

पहिरोले लोकमार्ग अवरुद्ध हुँदा बागलुङ बुर्तिबाङ र बुर्तिबाङ—वुटबल सडक सञ्जालबाट विच्छेद भएको छ। करिब छ घण्टासम्म अवरुद्ध भएको खोलाले दुई किलोमिटर लामो ताल बनाउँदा ढोरपाटन नगरपालिका–२ सिमलचौरमा दुई घर र चार बंगला डुबानमा परेका छन्।

स्थानीय चुडाबहादुर कुमालको गोठमा बाँधेका तीन गोरु पानीमा डुबेर मरेका छन्। देवीराम कुमार र कृष्णबहादुर कुमालको घर गोठ डुबानमा परेको छ। थुनिएको खोलाले गन्तव्य भेट्टाए पनि अलपत्र यात्रुहरु भने गन्तव्यतर्फ जान सकेका छैनन्।

प्रकाशित: ३० भाद्र २०७५ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App