८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘भर्खर कलेज जाने उमेरको भएँजस्तो लाग्छ’

काठमाडौं चाबहिलकी पूर्वनर्स धनादेवी भण्डारी अहिले ८० वर्षकी भइन्। तर, उनको दिनचर्या देख्दा जो कोही छक्क पर्छन्। उनी यो उमेरमा पनि बिहानदेखि बेलुकीसम्म कुनै न कुनै काममा व्यस्त हुन्छिन्। उनको स्वास्थ्य सक्रियता देख्दा उनी ८० वर्ष पुगिन् होली भन्ने लाग्दैन। आखिर यसको ‘राज’ के हो त? नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानीः

कति वर्षकी हुनु भयो?
१९९५ सालकी हुँ, अहिले ८० वर्षकी भएँ।

के गर्दै हुनुहुन्छ?
मजस्तै वृद्धाहरूको हेरचाह गर्ने एउटा संंस्था छ, त्यसकै प्रमुख भएर काम गरिरहेकी छु।

कुन् संस्था हो?
‘होम केयर’ जसले वृद्धावृद्धालाई घरघरमै पुगेर नर्सिङ सेवा दिन्छ।

यो उमेरमा पनि स्वस्थ देखिनु हुन्छ? कसरी हो?
सबैभन्दा मुख्य कुरा, मलाई कुनै तनाव छैन। तनाव नभएपछि रोगलाई जितिन्छ । केही रोगहरू छन् जसलाई योगध्यान र सकरात्मक सोचले नियन्त्रणमा राखेकी छु। म शाकाहारी हुँ । माछामासु खान्न । दालभात, तरकारी, सागसब्जी र  दूध–दही अनिवार्य रूपमा दैनिक खान्छु।

स्वास्थ्यका लागि दैनिक के गर्नुहुन्छ?
नियमित ताजा भोजन खान्छु। दैनिक एक घण्टा योग गर्छु । अहिलेसम्म चश्माको सहारा लिनु परेको छैन। योगले गर्दा आँखा पनि बलिया भएका छन्, शरीरमा आएका गाँठागुँठी पनि योग गरेरै घटाएँ।

अझै कति वर्ष सक्रिय हुन सक्छु भन्ने लाग्छ?
शरीर कतिखेर के हुन्छ त्यो त भन्न सकिंदैन । तर, मनमा अझै पाँच÷दश वर्ष सक्रिय हुन सक्छु भन्ने लाग्छ।

खाना पनि आफै पकाउनु हुन्छ?
पोहोर सालसम्म आफै पकाउँथे, गत वर्ष बिरामी भएपछि छाडें।

खाना कस्तो खानु हुन्छ?
चिल्लो र पिरो खादिनँ।

दैनिक कति हिंड्नु हुन्छ?
दैनिक मर्निङ वाक गर्थें। उमेरका कारणले होला, धेरै हिंड्दा बढी थकाइ लाग्न थालेपछि योगतिर ध्यान केन्द्रित गरेको छु। सामान्य हिंड्डुल भने गरिरहन्छु।

८० वर्षकी भइसक्नु भयो, मनमा कस्तो अनुभूति हुन्छ?
भर्खर कलेज जाने बेला भएको छुजस्तो अनुभव हुन्छ।

दिन कसरी बिताउनु हुन्छ?
ओ हो! एक मिनेट पनि खाली छैन। साथीभाइसँग भेटघाट, कार्यालय व्यवस्थापनका काम,  म अध्यात्ममा आस्था राख्छु, सतसंघ आश्रममा जान्छु।

स्वस्थ रहन तपाईंका सुझाव?  
ऋरू केही गर्नु पर्दैैन। मुख्य कुरा, कुनै टेन्सन लिनु हुँदैन। तनावरहित हुन समयमै पारिवारिक व्यवस्थापन गरें। आफूलाई चाहिने सम्पत्ति राखेर समयमै छोराछोरीलाई वितरण गरें। सबै मदेखि खुसी छन्। खुसी रहने मान्छेको स्वास्थ्य राम्रो हुन्छ।

प्रकाशित: ३० भाद्र २०७५ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App