coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रजनोवृत्ति : नबुझी नहुने कुरा

गणेश दंगाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ

नेपाली समाजमा व्याप्त लैंगिक विभेदको असर महिला स्वास्थ्यमा पनि परेको छ। विशेषगरी पहाडी तथा विकट जिल्लाका महिलाहरूमा यसको असर बढी देखिन्छ।

महिला स्वास्थ्यको प्रसंगमा महिनावारी अर्थात् रजश्वला एउटा महत्वपूर्ण विषयमा पर्छ। महिनावारीभित्र रजनोवृत्तिको कुरा पनि आउँछ । रजनोवृत्तिपछि महिलाहरूले शारीरिक, मानसिक तथा सामाजिक बाधा, व्यवधान झेल्ने गरेका छन्।

के हो रजनोवृत्ति?
महिनावारी स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । लगातार १२ महिनाभन्दा बढी मासिक धर्म नभएमा रजनोवृति भएको मानिन्छ । मासिक धर्म १४ वा १५ वर्षको उमेरमा सुरु भई ४५ वर्षभित्र बन्द हुन्छ । रजनोवृति भएपछि महिलामा शारीरिक तथा मानसिक परिवर्तनहरू आउँछन् । यस्ता परिवर्तन विशेष र सामान्य गरी दुई प्रकारका हुन्छन् । सामान्य प्रकारका परिवर्तनले महिलालाई खासै असुविधा हुँदैन ।  तर, कसै कसैलाई भने यी परिवर्तनहरू कष्टकर भइदिन्छन् । महिलामा महिनावारी अकस्मात बन्द हुन्छ भने कसैमा एक दुई वर्षभित्र बन्द हुन्छ ।
रजनोवृतिपछि महिलामा उत्साह कम हुने, शरीरमा शिथिलता आउने, निद्रा नलाग्ने, शरीरका विभिन्न भागमा पीडा हुने, बेचैनी हुने र डिप्रेसन हुनेजस्ता लक्षण देखा पर्न सक्छन् । यी सबै लक्षण डिम्ब ग्रन्थीहरूले काम नगर्ने भएकाले र महिला हार्मोनको कमीले देखिन्छन् । यसबाहेक तनाव हुने, मुटको धड्कन बढ्ने, छाला चाउरी पर्ने, हड्डी कमजोर हुने, अचानक शरीरको तापक्रम बढ्ने र पसिना आउने आदि हुन सक्छन् । यदि ४० वर्षभन्दा कम उमेरमा रजानोवृति भएमा यसलाई अप्राकृतिक वा असामान्य मानिन्छ।

महिनावारी छिटो या ढिलो बन्द भएमा कतिपय पुरुष(पति)महिलालाई दोषी सम्झन्छन् र अप्रत्यक्ष रूपमा तनाव दिइरहेका हुन्छन् । महिनावारी छिटो या ढिलो बन्द हुनुमा महिला आफैको कुनै दोष हुँदैन।

कुनै महिलालाई रेडिएसन दिएमा, केमोथेरापीका औषधि प्रयोग गरेमा, कुनै किसिमका शल्यक्रिया गरेमा वा वंशाणुगत कारणले पनि समयभन्दा अघि नै रजनोवृति हुन्छ । यसबाहेक शरीरमा विकसित भइरहेको कुनै रोगका कारण पनि रजनोवृत्ति छिटो हुन सक्छ ।  धेरैजसो महिलामा रजनोवृति हुनुअघि नै असजिलो वा अप्ठेरो भएको लक्षण देखा पर्न थाल्छन् । कतिपयलाई रजनोवृत्ति हुनु एक/दुई वर्षअघि नै विभिन्न लक्षण देखिन्छन् । रजनोवृत्ति हुनुअघि मूत्राशय र मूत्रनलीमा हुने परिवर्तनले पिसाब छिटो–छिटो लाग्ने, पोल्ने, नरोकिने र संक्रमण हुने हुन सक्छ । यौनांगमा हुने परिवर्तनले योनी सुक्खा हुने, यौन सम्पर्क कष्टकर हुने तथा संक्रमण हुने, तौल बढ्ने, उच्च रक्तचाप, कोरेस्ट्रोल आदि बढ्ने हुनाले हृदयरोगको खतरा हुन सक्छ।

त्यतिबेला शरीरमा हार्मोनको स्तर खस्किएर विभिन्न अप्ठेरा लक्षण देखा पर्न सक्छन् । तर यी लक्षण पनि विस्तारै आफै हराएर जान्छन् । कतिपय महिलामा रजनोवृति भएको केही वर्ष पछिसम्म पनि एक्कासि गर्मी भई पसिना आउने, मानसिक चिन्ता बढ्ने, निराशापन बढ्नेजस्ता लक्षण देखा पर्न सक्छन्।

चाँडै महिनावारी बन्द भएका महिलाहरूमा हड्डी कमजोर हुने तथा मुटुसम्बन्धी रोगसमेत लाग्छ । बढी उमेरमा महिनावारी बन्द हुने महिलाहरूमा भने स्तन, गर्भाशय र डिम्बाशयमा क्यान्सर हुने जोखिम हुन्छ । जसले महिलाको वृत्ति विकासमा समेत बाधा पु-याउन सक्छन् । यसको रोकथाम तथा उपचारका लागि परिवार, समाज र राज्यले विशेष ध्यान दिनु आवश्यक छ।

महिलाहरूले पनि महिनावारी बन्द भएकोबारे खुलेर कुरा गर्नुपर्छ । महिनावारी छिटो या ढिलो बन्द भएमा कतिपय पुरुष(श्रीमान्)महिलालाई दोषी सम्झन्छन् र अप्रत्यक्ष रूपमा तनाव दिइरहेका हुन्छन् । महिनावारी छिटो या ढिलो बन्द हुनुमा महिला आफैको कुनै दोष हुँदैन । धेरै महिला लाज या डरका कारण कसैलाई नभनी एक्लै तनाव झेलिरहेका हुन्छन् । यस्तो अवस्थामा पति, घरका अन्य सदस्यले महिलालाई कडा कामहरूमा सहयोग गर्र्नुपर्छ । साथै उनीहरूको उपचारको खोजीसमेत गरिदिनु पर्छ । महिलाको स्वास्थ्य भनेको पूरै परिवारको स्वास्थ्य हो र परिवारको स्वास्थ्य भनेको समुदायको स्वास्थ्य हो भन्ने कुरा सबैले बुझ्नुपर्छ।

महिनावारी बन्दपछि कसरी गर्ने स्वास्थ्यको हेरचाह ?
– पोषिलो खाना जस्तैः सागपात, गेडागुडी, दूधदही, अन्डा, फलफूल, माछा, मासु आदी खाने । यस्तो बेला पोषिलो खाना ज्यादै आवश्यक हुन्छ ।
– प्रशस्त मात्रामा झोल पदार्थ तथा सागपात खाने ताकि कब्जियतको समस्या नआओस् ।
– जनन्द्रीय तथा पाठेघर स्वस्थ राख्न उचित व्यायाम गर्ने ।
 

रजनोवृतिका पीडाबाट छुट्कारा पाउने उपाय
– धूमपान, मद्यपान गर्ने बानी छ भने बन्द गर्ने ।
– स्वस्थ आहार, फाइबरयुक्त खानेकुरा, सागसब्जी तथा फलफूलसहित सन्तुलित खाना खाने ।
– तौल बढी छ भने घटाउने तथा नियमित व्यायाम गर्ने ।
– योनी सुक्खा भएमा नरम बनाउने क्रिम, जेली वा स्टाजन क्रिम प्रयोग गर्ने ।
– मल्टिभिटामिन तथा क्याल्सियम चक्कीहरू पनि सेवन गर्न सकिन्छ ।

नेपालमा रजनोवृतिसम्बन्धी धेरै अध्ययन तथा अनुसन्धान भएका छैनन् । विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालको भित्री मधेस कपिलवस्तुका एक हजार महिलामा गरेको अनुसन्धान र नेपाल रजनोवृति समाजले काठमाडौंका दुई हजार महिलामा गरेको अनुसन्धानले धेरै महिलालाई रजनोवृतिसम्बन्धी ज्ञान र चेतना नभएको देखाएका छन् । धेरै कम महिलालाई मात्र रजनोवृति एउटा समस्या पनि हुन सक्छ भन्ने जानकारी भएको पाइयो।

यस्तै अध्ययनअनुसार ४० देखि ४४ वर्ष उमेरका ५० प्रतिशतभन्दा बढी महिलालाई रजनोवृति भएको पाइयो भने रजनोवृतिको औसत उमेर ४८ वर्ष देखियो । यसैगरी अधिकतम् महिलामा शारीरिक, मानसिक, यौन, मूत्रप्रणाली, मांसपेशी तथा जोर्नीसम्बन्धी समस्या रहेको अध्ययनले देखाएका छन् । तसर्थ यसबारे उनीहरूलाई स्वास्थ्य शिक्षा दिइनुपर्ने तथा स्वास्थ्य सेवा प्रदायकहरूलाई रजनोवृतिका समस्या भएका महिलालाई कम्प्रिहेन्सिभ उपचार तथा व्यवस्थापनसम्बन्धी थप तालिमहरू दिइनुपर्ने अध्ययनले निष्कर्ष निकालेका छन्।

एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले ‘मेनोपज’ भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौं वर्ष पर सार्न सकिने तथा कार्बोहाइड्रेटयुक्त खानेकुराले कैयौं वर्षअघि ल्याउन सक्ने देखाएको छ । ब्रिटेनका १४ हजार महिलाका बीच चार वर्षसम्म उक्त अध्ययन गरिएको थियो । सालमोनलगायत विभिन्न प्रजातिका माछा नियमित खाने महिलाहरूको महिनावारी अन्त्य हुने उमेर तीन वर्षभन्दा बढी पछि धकेल्न सकिएको उक्त अध्ययनले देखाएको छ। तर पास्ता र भात दैनिक खाने महिलाहरूमा झन्डै डेढ वर्षअघि महिनावारी रोकिने उक्त अध्ययनले देखाएको छ।

प्रकाशित: ३० भाद्र २०७५ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App