८ वैशाख २०८१ शनिबार
समाज

गेस्ट हाउस चौर मासेर सिटी हल

सिटी हल बनाउने निर्णय गरिएको गेस्ट हाउस चौर। तस्बिरः सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिकाले गेस्ट हाउस चौमा सिटी हल बनाउने निर्णय गरेपछि स्थानीयबाट विरोध सुरु भएको छ। महानगरपालिकाको वडा नम्बर १० मा जिल्ला प्रहरी कार्यालयअघि रहेको गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले गरेको छ।

जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल, जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकाको भदौ २७ मा बसेको संयुक्त बैठकले गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णय गरेको थियो। जिल्ला समन्वय समितिले गेस्ट हाउस चौरमा सिटी हल बनाउन सहमति दिएको छ । गेस्ट हाउस चौर समितिको मातहत छ।

महानगरे गत आर्थिक वर्षमा नै महानगरपालिका क्षेत्रमा सभा हल बनाउन प्रयास थालेको थियो । पाँच हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल बनाउने महानगरपालिकाको योजनाअनुसार गेस्ट हाउसको चौर छनोट गरिएको होे । गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णयको नेपाली कांग्रेस र नेकपाबाहेक चितवनमा क्रियाशिल अन्य राजनीतिक दलले कडा विरोध गरेका छन्।

चितवनमा क्रियाशील नेकपा र नेपाली कांग्रेसबाहेकका दलले गेस्ट हाउस चौरमा सिटी हल बनाउने भरतपुर महानगरपालिकाको निर्णयको विरोध गरेका छन्।

विवेकशील साझा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को शुक्रबार बसेको संयुक्त बैठकले महानगरपालिकाको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ। बैठकले गेस्ट हाउस चौर ऐतिहासिक जग्गा भएकाले त्यहाँ सिटी हल बनाउन निर्णयको विरोध गरेको छ।

बैठकपछि ती राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी महानगरपालिकाको निर्णयले चौरको एक भागमा सहिद स्मारक निर्माण गर्ने विगतमा भएको सहमति र निर्णयको उल्लंघन गरेको आरोप लगाइएको छ। ‘अदुरदर्शी र अव्यवहारिक निर्णयको घोर विरोध गर्छांैं’, विज्ञप्तिमा उल्लेख छ, ‘निर्णय अविलम्ब फिर्ता लिन र बजार क्षेत्रको प्रभावबाहिर उपयुक्त हुने गरी स्थान छनोट गर्न माग गर्छौं।’

महानगरपालिकामा खेलकुद गतिविधि हुने चौरमध्येमा गेस्ट हाउस चौर पनि पर्ने भरतपुर फुटबल क्लबका क्याप्टेन ध्रुव भुसाल बताउँछन् । राष्ट्रपति रनिङ शिल्डसँगै स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिताको अभ्यास हुने चौरमा सिटी हल बनाउन नहुने उनले बताए। ‘खेलकुद अभ्यास हुने चौर मास्नु हुँदैन’ उनी भन्छन्, ‘चौर मास्दा खेलकुद पनि हराउँछ।’

यसअघि महानगरपालिकाले बिपी कोइराला क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने निर्णय गरेको थियो। महानगरपालिकाको सो निर्णयको नेपाली कांग्रेस चितवनले विरोध गरेको थियो । जिल्लामा भएका कार्यक्रममा भाग लिन आएका कांग्रेसका केन्द्रीय नेताले पनि क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउन नहुने धारणा राखेका थिए। अस्पतालजस्तो शान्त वातावरण हुनुपर्ने क्षेत्रमा धेरै मानिसको आवतजावत हुने सिटी हल बनाउन नहुने भन्दै चर्को विरोध भएको थियो।

विरोधपछि महानगरपालिकाले अस्पतालको जग्गामा सिटी हल बनाउने निर्णय स्थगित गरेर अन्यत्र जग्गा खोज्न थालेको थियो। सिटी हल बनाउनका लागि महानगरपालिकाले स्थान छनोट गरी दुईपटक गरेको निर्णयलाई नै विवादमा ल्याइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले बताए । क्यान्सर अस्पतालको जग्गामा बनाउने निर्णयको विरोध गरेपछि विकल्पको रुपमा स्थान छनौट गर्दा गेस्ट हाउस चौर सिफारिसमा आएको उनले बताए।

‘चौरको मात्र कुरा गरिरहेका छन्, चौरसँगै रहेका संरचनाहरु हटाउँदा करीब ४ बिघा ११ कठ्ठा जग्गा हुन आउँछ’, उनले भने, ‘अन्डरग्राउन्ड पार्किङसहितको सिटी हल बनाउन पुग्ने छ।’ गत आर्थिक वर्षमा नै सिटी हल बनाउन सहरी विकास मन्त्रालयले ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटलाई यस वर्ष निरन्तरता दिइएको उनले बताए।

सिटी हल सिटीमा बनाउनुपर्छ भन्ने प्राविधिकको सल्लाहबमोजिम गेस्ट हाउस चौरमा बनाउने निर्णय गरिएको मेयर रेणु दाहाल बताउँछिन्। केही गर्छौंभन्दा विरोध गर्ने संस्कार नै बसेको दाहालले बताइन्। सिटी हल बनाउन बजेट पाएपछि स्थानको खोजीमा लाग्दा क्यान्सर अस्पताल परिसरमा बनाउन सकिने सम्भावना देखेपछि पहल अघि बढाइएको उनको भनाइ छ। ‘महानगरपालिकाको बोर्ड, अस्पतालको बोर्ड, विभिन्न मन्त्रालय हुँदै निर्णयका लागि फाइल क्याबिनेट पुगेर निर्णय हुने भएपछि विरोध सुरु भयो’ मेयर दाहालले भनिन्, ‘त्यसपछि विकल्पको खोजी गर्दा गेस्ट हाउस चौरमा बनाउने सहमति भएको हो ।’ यसबाहेक दियालो बंगलाको जग्गामा पनि बनाउन सकिने भनिए नेपाल ट्रष्टको नाममा रहेको जग्गा अरुलाई नै लिजमा दिइएको पाइएको उनले बतइन् । गेस्ट हाउस चौरमा सिटी हल बनाउने निर्णयको विरोधमा राजनीतिक पूर्वाग्रहले काम गरेको उनी बताउँछिन् । ‘उपयुक्त जग्गा क्यान्सर परिसरकै लागिरहेको छ, ७८ बिघा जग्गा छ, अहिले त्यत्तिकै खाली छ’ उनी भन्छिन्, ‘परिसर छेउको पाँच बिघा महानगरपालिकाले लिएर सट्टा भर्ना दिन सकिन्छ।’

प्रकाशित: ३० भाद्र २०७५ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App