६ वैशाख २०८१ बिहीबार
अन्य

नेपथ्यका नायक

दर्जनौं कालजयी गीतका रचनाकार हुन् उनी । ‘साहित्य सेवा गरें’ भन्ने घमण्ड छैन उनमा । प्रशस्तीगान रुचाउँदैनन् । मिडियामा छाउन मन पराउँदैनन् । बरू नेपथ्यमा बसेर खुरुखुरु साहित्य साधना गर्छन् । ती अब्बल गीतकारको नाम हो–सुवासचन्द्र ढुंगेल।

उनी गीत लेख्छन् । मुक्तक लेख्छन् । र, लेख्छन् लघुकथा । मन छुने शब्द, मिठो संगीत र कर्णप्रिय गायनकै कारण उनका धेरै गीत ‘हिट’ छन् । लोकप्रियताको सगरमाथा चुमेका छन् तिनले । त्यसैले त दशकौंदेखि नेपालीहरूको मनमनमा गुञ्जिँदैछन्।  

उनका सृजना मार्मिक छन् । मिलनका भन्दा विछोडका, खुसीका भन्दा दुःखका गीत बढी लेख्छन् । उनका गीतमा मायाप्रेम र बिछोड मात्र होइन जीवन दर्शन पनि हुन्छ । त्यसैले ती विशेष बनेका हुन्।  

हप्तामा एकपटक श्रीलंका बोर्डकास्टिङ कर्पोरेशनबाट नेपाली कार्यक्रम बज्थ्यो । कार्यक्रम भिक्षु मैत्रीले चलाउँथे । एकदिन भिक्षुले अनुरोध गरे, ‘गायिका सुजाताले नेपाली गीत गाउने इच्छा गर्नु भएको छ । त्यसैले इच्छुकले गीत पठाउनु होला ।’ सुवासचन्द्र ढुंगेलले गीत पठाए, सुजाताले गाइन् । आफ्नो पहिलो गीत रेडियोमा बज्दा उनका आँखा रसाए ।

गीत लेख्छु भनेर कनिकुथि लेख्न सकिंदैन । हृदयबाटै भावनाको मुल फूट्नु पर्छ । तिनै भावनामा डुबुल्की मार्दामार्दै गीत बन्छ । प्रायः हिँडिरहेका बेला उनको मनमा भावना छचल्किन्छ । मुखडा फूर्छ, त्यसलाई टपक्कै टिप्छन् । र, फेरी हिँड्दाहिँड्दै अरु अन्तरा फुर्छ । यसरी बिस्तारै एउटा गीत पुरा हुन्छ ।  
जीवन भोगाई नै उम्दा साहित्य बन्छ । आफैंले भोगेका कुरा जीवन्त हुन्छ । अरुको भोगाइलाई पनि जीवन्त ढंगले उर्तान ठूलो खुबी चाहिन्छ । यसरी हेर्दा ढुंगेलका कतिपय रचना उनका आफ्नै भोगाई हुन् भने कतिपय साथीहरूका।

आजका दिनसम्म ५ सय वटा आधुनिक गीत र डेढ सय हाराहारीमा भजन लेखेका ढुंगेलका सयवटा गीत र २० वटा भजन रेकर्ड भएका छन् । बिडम्बना ! उनको पहिलो रेर्कडेड गीतको अभिलेख उनीसँगै छैन।

त्यो गीतको बोल थियो, ‘नसोध मलाई मेरा आफ्नाहरु, मेरो उदास जीवन कथा... ’।

श्रीलंकाली गायिका सुजाताले गाएकी थिइन् त्यो । यस विषयमा रोचक कथा छ । तिनताका उनी महाराजगञ्जमा मेडिसिनका विद्यार्थी थिए । बिहान÷बेलुका रेडियो खुबै सुन्थे । हप्तामा एकपटक श्रीलंका बोर्डकास्टिङ कर्पोरेशनबाट नेपाली कार्यक्रम बज्थ्यो । कार्यक्रम भिक्षु मैत्रीले चलाउँथे । एकदिन भिक्षुले अनुरोध गरे, ‘गायिका सुजाताले नेपाली गीत गाउने इच्छा गर्नु भएको छ । त्यसैले इच्छुकले गीत पठाउनु होला।’

ढुंगेलले गीत पठाए, सुजाताले गाइन् । रेडियोमा आफ्नो गीत बज्दा उनका आँखा रसाए।

‘पछि तिनै भिक्षुले त्यो गीत रेडियो नेपालमा बुझाएका थिए तर रेडियो नेपालमा हराइदिए’, ढुंगेल भन्छन्, ‘म अहिले सुजातालाई खोजिरहेको छु । सायद उहाँसँग त्यो गीत सुरक्षित होला।’

यसरी ०३६ सालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । उनले गीत लेख्न थालेको त स्कुले जीवनदेखि नै हो । भक्तपुरको सानोठिमीमा अबस्थित डिएमपिएस (आदर्श माध्यमिक विद्यालय) पढ्दैदेखि लेख्थे उनी।

अनि ७–८ कक्षा पढ्दैखेरी रेडियो नेपालको बाल कार्यक्रममा कविता सुनाउँथे । त्यतिबेला हरेक साँझ ५ बजेछि आधा घन्टा बाल कार्यक्रम आउँथ्यो । बासुदेव मुनाल र नुपुर भट्टाचार्यले कार्यक्रम चलाउँथे । शुक्रबार साँझ कविता बज्थ्यो । बाल कार्यक्रमकै ‘को भन्दा को कम’ मा पनि उनका गीत, कविता, चुट्किला र कथा बज्थे।

‘रेडियोको बाल कार्यक्रमले ममा उर्जा बढायो’, बिहीबार दिउसो साथी दीपेन्द्रसिंह थापासँगै कुराकानी गर्न उनको निवास कुलेश्वर पुगेका बेला ढुंगेलले सम्झिए, ‘हाम्रो स्कुलको सांस्कृतिक माहौलले पनि मलाई प्रेरित गरेको थियो।’

हामीले उनका केही चर्चित गीतहरुका रचना गर्भ सुन्यौं। प्रेम पिडाले उनलाई भावुक बनाएको रहेछ । भावुक गीत नै उनको पहिचान । जीवनभर यस्तै गीत लेखेका सुवासचन्द्र ढुंगेललाई सोध्यौं हामीले, ‘किन सेन्टिमेन्टल गीतहरु मात्रै लेख्नु भएको?’ ‘भावुक गीतहरुले सबैको मन छुन्छ, त्यसैले’, छोटो उत्तर दिए उनले।

उनले त्यही स्कुलबाट ०३४ सालमा एसएलसी उर्तिण गरे । र, मेडिसिनका विद्यार्थी बने । पछि जन प्रशासनमा स्नातकोत्तर र शिक्षामा एमफिल गरे । पहिलो गीत रेकर्ड भएको दुई वर्षपछि ०३८ सालमा तारा थापाको स्वर र धनञ्जय थापाको संगीतमा रेडियो नेपालमा ‘चिता बनाई जलाई नदेउ मुटुभरिका रहरहरू’ गीत रेर्कड भयो । त्यो धेरैले रुचाए । फलतः किशोर वयमै उनी चर्चित बने।

पहिलो गीत रेकर्ड भएपछि उनले रेडियो नेपालबाट २० रुपैयाँ पारिश्रमिक पाएका थिए । रेकर्ड गर्नु अघि त्यहाँबाट स्विकृत गराउनु पथ्र्यो । गीतमा ‘स्विकृत’ भनेर राममणि रिसालको हस्ताक्षर थियो । गीत स्विकृत भएपछि उनका एक जना दाईले गायिका तारा थापासंग भेट गराइदिए सोल्टी होटलमा । त्यहीँ काम गर्थे ती दुबैजना।

रेकर्ड भएको गीत सुन्न रेडियोमा कान थापेर बसेको सन्दर्भ पनि कम्ता रोचक छैन । हप्ताभरी रेकर्ड भएका गीतहरु शुक्रबार साँझ ‘नव संगीत’ कार्यक्रममा बज्थ्यो । ढुंगेल पनि ७–८ जना साथीभाई बटुलेर बसेका थिए गीत सुन्न । तर त्यो दिन उनको गीत बजेन । खल्लो भयो, भोलिपल्ट दिउसो १ बजे मात्रै बज्यो।

गीत लेख्नेक्रम जारी छ । रेकर्ड हुनेक्रम पनि चलिरहेकै छ । उनले केही पुस्तक पनि प्रकाशन गरेका छन्। ‘भाँचिएका मनहरू’मा एक सय एक गीत छन् । ‘अक्षरका गोलीहरु’मा एक सय ५७ वटा मुक्तक छन् । एक सय ६० वटा मुक्तकहरुको संग्रह ‘क्रमभंग’ प्रकाशनको संघारमा छ । एल्बमका रुपमा ०४५ सालमा म्युजिक नेपालबाट ‘चोट के हो व्यथा के हो’, २०६७ सालमा रिबेल क्रियशनबाट ‘सुबास’, विन्ध्यवासिनी म्युजिकबाट ‘मन बिना बाँच्न पाए’ प्रकाशोन्मुख छ र सरस्वती युवा परिवारबाट ‘आनन्दै आनन्द’ भक्ति गीत निस्केको छ।

मुक्तक पुस्तक पछि भजन र गीत संग्रह निकाल्ने योजनामा छन् उनी । त्यस्तै भक्तपुरको मोडर्न स्कुलका ११ वर्षे विद्यार्थी अधिश्री कसपालले उनका ५ वटा गीत गाएर एउटा एल्बम निकाल्दैछन्।

हामीले उनका केही चर्चित गीतका रचना गर्भ सुन्यौं । प्रेम पिडाले उनलाई भावुक बनाएको रहेछ। भावुक गीत नै उनको पहिचान हो । जीवनभर यस्तै गीत लेखेका ढुंगेललाई सोध्यौं हामीले, ‘किन सेन्टिमेन्टल गीतहरु मात्रै लेख्नु भएको?’

‘भावुक गीतहरुले सबैको मन छुन्छ, त्यसैले’, छोटो उत्तर दिए उनले।

आजसम्म गीतबाट जीवन धान्ने कमाई भएको छैन । उनी विश्वविद्यालय अनुदान आयोगमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । जीवनसाथी रत्नशोभा बहिरा विद्यार्थी पढाउँछिन् । त्यही कमाईले जिन्दगीको यात्रा चल्दैछ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा जन्मे÷हुर्केका ढुंगेल अचेल कुलेश्वर, काठमाडौंमा बस्छन् । उनको उमेर ५७ वर्ष भयो । जागिरबाट रिटायर्ड हुन अढाई वर्ष बाँकी छ । त्यसपछि जिन्दगीका योजना के के छन्?

‘गीत र मुक्तक लेखनमै फोकस हुन्छु’, उनले भने, ‘साहित्य सृजनाबाटै सन्तुष्टि मिल्छ।’    
 
जति चोट दिन्छौ देउ मायालु
भक्तराज आचार्यको स्वर र संगीतमा ०३८ मंसिरमा यो गीत रेकर्ड भएको थियो । सुवासचन्द्र सानैदेखि भक्तराजको स्वर मन पराउँथे । उनलाई आफ्नो गीत गाउन दिने इच्छा भयो । दोहोरो चिनजान थिएन । बरु रेडियो नेपालको बाल कार्यक्रममा आउँदाजाँदा सत्यनारायण राजभण्डारी र द्वारिकालाल जोशी लगायतसँग चिनजान थियो।

भक्तराज ललितपुरको महालक्ष्मीस्थानमा बस्थे । त्यतैका साथी बिदुर खड्काको सहयोगमा एक दिन उनी महालक्ष्मीस्थान पुगे । ‘गीतमा ३ वटा अन्तरा थियो । भक्तराजले ५ मिनेट भन्दा लामो रेडियोमा बजाउन गाहे हुन्छ भन्नु भयो’, उनले भने, ‘पछि  छोट्टयाइयो।’

रेडियोमा रेकर्ड भएकै दिन विजयसिंह मुनाल र बासुदेव मुनालहरुले ‘यो गीत हिट हुन्छ’ भनेका थिए । नभन्दै हिट भयो । रेडियोमा एकै दिन ५ पटकसम्म बज्न थाल्यो।  

यसमा उनको आफ्नै प्रेम पिडा छ । स्कुले जीवनकै अन्तरजातिय प्रेमिकासँग बिछोडको परिणाम यो ‘जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर राख्नेछु’, जन्मेको रहेछ।

भक्तराजको स्वर र संगीतमै ०४० सालमा उनको अर्को गीत ‘तिम्रो मनमा मिलनको फूल फूल्दा, मेरो मनमा बिछोडको खडेरी परेछ’ रेर्कड भयो । रेडियोमा २ पटक बजेपछि त्यो गीत त्यतै लुकाईदिएछन् । लामो समयको कालखण्डपछि त्यो गीत खोजेर प्रकाश सायमीले उज्यालो रेडियोको ‘अजर अमर गीत’ कार्यक्रममा बजाइदिएपछि उनी सायमीप्रति कृतज्ञ छन्।

तारा थापाले गाएको पहिलो गीतले नै उनलाई चिनाएको थियो । यो गीतले उनको क्षितिज झन फराकिलो बनायो।

चोट के हो व्यथा के हो  
गायक अरुण थापाले पनि औधि रुचाएको गीत हो ‘चोट के हो व्यथा के हो’ । ढुंगेलको गीत ०४५ सालमा रेकर्ड भएको थियो । हुन त उनले थापालाई ०४० सालतिरै होटल सोल्टीमा भेटेर भनेका थिए, ‘अरुण दाई मेरा पनि केही गीत गाइदिनु प-यो।’

तीन वटा गीत दिन खोज्दा थापाले भनेका थिए, ‘१५ वटा दिनुस छानेर २–३ वटा गाउँछु।’

केही महिनापछि झम्सिखेलस्थित अरुणको घरमा पुगे उनी । उनले चोट के हो व्यथा के हो को ट्युनिङ सुनाए । उनले ढुंगेलका अरु दुई गीत ‘पारी गयौ किन अधुरो यो जीवन र अरुसँग नजोख मलाई थाहै छ म सस्तो छु भनि’ पनि गाए।

‘पिएर आँसु आफ्नै आँखाको म प्यास मेटौंला’ बोलको गीत भने रेकर्ड हुन सकेनछ । ‘म्युजिक नेपालमा दुई दिनसम्म रेकर्ड गर्ने प्रयास गरियो, उनले गाउन सकेनन्’, ढुंगेलले सुनाए, ‘पछि यो गीत उमेश पाण्डेलाई गाउन दिएँ।’

त्यस्तै अर्को गीत ‘तिम्रो नजरको रमाइलो गाउँमा घुम्दाघुम्दै हराएँ म’ गजल शैलीको गीत पनि अरुणको स्वरमा रेकर्ड हुने संयोग जुरेन । पछि राजेश पायल राईले गाएका छन्।

अरुण वितेपछि ‘चोट के हो व्यथा के हो’ बढी हिट भएको अनुभव छ ढुंगेलसँग । उनका अनुसार थापाले आफ्ना मन पर्ने दुइटा गीतमा ‘चोट के हो’ र भुषण खरेलको ‘म रोए पनि तिमी हाँसिदिनु’ बताएका थिए । त्यति मात्र होइन उनले म मरेपछि मेरो शव यात्राको व्यानरमा यो गीत लेखिदिनु भनेका रहेछन् । ‘त्यही भएर त्यहाँ चोट के हो व्यथा के हो’ लेखिएको थियो’, ढुंगेलले ०५६ साउन ५ गतेको दुःखद् दिन सम्झिए।

फूल झरे पनि काँढा झर्दैन    
उनका अधिकाँश गीत सेन्टिमेन्टल छन्। ‘फूल झरे पनि काँढा झर्दैन’मा उनले माया के हो भन्ने परिभाषा दिएका छन् । यसमा माया अजर, अमर हुन्छ भन्ने प्रेम दर्शन छ। ०४५ सालमा रविन शर्मा र तारा थापाको स्वरमा रेकर्ड भएको गीतमा राम थापाले संगीत भरेका छन्।

संगीतकार थापासँग पहिल्यै चिनजान भएकाले उनैले रविन र ताराले गाउँदा राम्रो हुने सुझाएका थिए। नभन्दै गीत धेरैले मन पराए। ‘डान्सिङ गीतका रुपमा यो गीत चर्चित भयो’, उनी सन्तुष्ट छन्, ‘फरक प्याट्रनको गीत भनेर धेरैले तारिफ पनि गरे।’

नपिउने बाचा गराई गयौ
एउटा पियक्कड मान्छेले जब मदिरा र प्रेमिका दुबै गुमाउनु पर्छ त्यतिबेला उसको मनोविज्ञान कस्तो होला? त्यही मनोदशाको चित्रण गरेका छन् उनले ‘नपिउने बाचा गराई गयौ म पिउँ कसरी, तिमी विनाको एक्लो जीवन म जिउँ कसरी’मा।

यो सत्यनारायण राजभण्डारीको अन्तिम गीत हो भने न्यूहुँ बज्राचार्यको पहिलो आधुनिक गीत। ०४६ सालतिर लेखिएको गीत ०४९ मा रेकर्ड भयो । ढुंगेलले चिनेका पहिलो गायक हुन् सत्यनारायण। ‘उहाँले पहिल्यैदेखि तिम्रो गीत गाउँछु भन्नु भएको थियो’, उनले भने, ‘उहाँले नै न्यूहुँलाई संगीत गर्न दिनु भएको थियो।’

नेपाल टेलिभिजनले यसको म्युजिक भिडियो बनाएको थियो । एक समय निकै चलेको गीतमा पर्छ यो।

मन बिना बाँच्न पाए हुन्थ्यो
सबै राम्रा गीत हिट हुँदैनन्, सबै हिट गीत राम्रा हुँदैनन् । श्रोता वा बजारले के रुचाउँछ भन्नै सकिँदैन । रेकर्ड भएका मध्ये ढुंगेललाई सबैभन्दा मन पर्ने गीत ‘मन बिना बाँच्न पाए हुन्थ्यो दुई चार वर्ष, पिर पनि हुँदैनथ्यो, हुँदैनथ्यो हर्ष’ हो । संगीता राना प्रधानको स्वर र अबिदको संगीतमा ०७० सालमा रेकर्ड गरिएको थियो । यसलाई उनले ०४५ सालमा लेखेका थिए।

हाल अमेरिकामा रहेका संगीतकार अबिदले नै संगीतालाई गाउन प्रस्ताव गरेका थिए । हुन त संगीता र उनका श्रीमान फिल्म निर्देशक किशोर रानासँग ढुंगेलको पहिल्यै चिनाजानी थियो । शास्त्रीय स्वादको गीत उनले गाएपछि त्यो धेरैले मन पराए।

रेकर्ड हुनु अघि नै प्रविण बराइली र दिपक जंगमले पनि यसको संगीत गरेका थिए भने दिप श्रेष्ठले पनि मन पराएका थिए । यसको म्युजिक भिडियो निस्कने तयारीमा छ । ‘जति चोट दिन्छौ देउ मायालु र चोट के हो व्यथा के हो’ गीतको भन्दा पनि राम्रो प्रतिक्रिया यसबाट पाएको छु’, गीतकार ढुंगेल भन्छन्, ‘फिलोसपिकल भएर पनि होला धेरैले मन पराएका।’

आखिर सबै कुरा मनैले गर्छ । मन नहुँदो हो त दुःख पनि हुन्नथ्यो, सुख पनि हुन्नथ्यो।

प्रकाशित: ३० भाद्र २०७५ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App