४ वैशाख २०८१ मंगलबार
अर्थ

नपढेरै दक्ष दरिए जो

इलाम- ‘चिया क्षेत्रमा तपाईंको औपचारिक अध्ययन चाहिँ कति होला?' जिज्ञासा सुनेर उनी मुस्कुराए मात्रै। तर, छेउमा बसिरहेका वृद्ध सूर्य सुब्बाले हत्तपत्त ढाकिहाले, ‘चियामै लुटपुटिएको २ कोरी बर्ख नाघे होलान् बाबु।'  माइपोखरी गाविस–१, जस्बिरेका युवक शरद सुब्बालाई पत्रकारले मात्रै होइन, उनले तयार गरेको चियाका पारखी, स्वदेशी–विदेशी व्यापारी र चियाविज्ञ पनि बारम्बार यही प्रश्न गर्छन्। तर, सबैलाई उनको जवाफ एउटै छ, ‘पढेरमात्र होइन, गरेर पनि धेरै सिकिँदोरहेछ।' घरको २ कान्लामाथि जस्बिरे अर्गानिक चिया प्रशोधन उद्योगमा उज्यालो नहुँदैदेखि राति अबेरसम्म जोतिने शरदको अर्गानिक चियाले व्यापारी, चियाविज्ञ र इलाम घुम्न आएका बेला बोटमै चिया चाख्न चाहने पर्यटकसमेत प्रभावित छन्। उनले उत्पादन गरेको उच्च गुणस्तरको चियाको अमेरिका, डेनमार्क, चीन, रुस, फ्रान्स र नेदरल्यान्डमा धानिनसक्नु माग छ। उनी भन्छन्, ‘चीनका व्यापारीले मलाई यो वर्ष २ लाख किलो चिया बनाइदिनू भनेका छन्। तर, मेरोमा २ हजार किलोमात्रै उत्पादन हुन्छ।'

चियाको बारेमा औपचारिक अध्ययन नगरेर के भो र! तयारी चियामा चाहिने भनेको उच्च गुणस्तर न रहेछ। चिया, चाख्न, किन्न, यसबारे औपचारिक अध्ययन गर्न यहाँ आइरहने स्वदेशी र विदेशीको हुलले त्यही प्रमाणित गर्छ। अनि, तेस्रो मुलुकमा चिया बिक्रीका लागि ‘जुँगाको लडाइँ' चलिरहेको लोगो पनि किन चाहियो? शरदका ‘सुनकेसरी', ‘कोठीडाँडा ब्युटी' र ‘ऐंसेलु खर्क' अर्गानिक चिया नै डेनमार्कमा हारालुछ छन्। अर्गानिक चिया उत्पादनबारे बुझ्न आएका विदेशीको जिज्ञासामा अंग्रेजीमै फरर जवाफ फर्काइरहेका शरदले समय निकालेर भने, ‘कहिलेकहीँ त चियाबारे बताउँदा बताउँदै कामै पो अड्किन्छ।'

तर, उनी समयमै टिपेको हरियो पत्ती कतिबेला ट्रफमा ओभाउने, कतिबेला रोलिङ, ड्राई गर्ने र कतिबेला फिनिसिङ गर्ने भन्नेमा ज्यादै चनाखो रहन्छन्। र, त चिया पारखीको प्रशंसा पात्र बन्न सकेका रहेछन्। ३ वर्षअघि सन्दफु चिया उद्योगमा शरदले बनाएको चिया चाखेर चीनको जेजियाङ युनिभर्सिटीका चिया विभाग प्रमुख तथा चियाविज्ञ टी सु जेजेडङले पनि उनको प्रशंसा गरेका थिए। जेजेडङले यहाँको अर्गानिक तयारी चियालाई चीनको नामी ब्रान्ड स्मेइहाओको चियासँग तुलनासमेत गरेका थिए।

करिब २० वर्षदेखि चियाखेती र प्रशोधनमा लागेका शरदले उमेरले पनि त्यसको डेढी शरद मात्रै बिताउँदै छन्। तर, बाल्यकालदेखि नै बुबाले थालेको चियाखेतीमा रमाएका शरद चिया प्रशोधनमा अहिले ‘विज्ञ' प्राविधिक बनिसकेका छन्। हरियो चिया टिप्दादेखि तयारी चिया प्याकिङ गर्दासम्म ध्यान दिनुपर्ने तरिकामा माहिर छन्। उनी गाउँका किसानलाई समेत हरियो चिया टिप्न सिकाउँछन्, टिपेको हरियोपत्ती सुरक्षित गर्न कस्तो ढाकर चाहिन्छ भन्ने उनलाई थाहा छ। र, त्यस्तै ढाकरमा उद्योगसम्म सुरक्षित रूपमा हरियोपत्ती ल्याइदिन्छन् किसान पनि ।

२ दशकअघि बुबा सूर्यले जस्बिरेमा खेती गरेको चिया टिप्न, भट्टी बनाएर ओइलाउन, कपडामा पोको पार्न र फुकाएर घाममा सुकाएर मगमग बासना आउने बनाउन बालक शरद खुबै रुचि राख्थे। उनी चियालाई कसरी अरूको भन्दा राम्रो बनाउन सकिन्छ भनेर बारम्बार प्रयास गरिरहन्थे। दाजु गृष्मले पनि उनलाई बेला–बेला सघाउँथे। उनले स्थानीय माई गुराँसे चिया प्रशोधन उद्योगमा चिया प्राविधिक भएर ९ वर्ष बिताए।

त्यसपछि आफूसहितको लगानीमा घरछेउमा सन्दफु चिया उद्योग सुरु गरे। ४ वर्ष काम गरे। त्यसको उत्पादन तेस्रो मुलुकमा उच्च माग भयो। बिक्री पनि निकै हुन थालेपछि उनले बुबा सूर्य, दाजु गृष्म र भाइहरूको सहयोगमा आफैं जस्बिरले चिया उद्योग खोलेका हुन्। यो उद्योगमा उच्च गुणस्तरको चिया तयार गरेर बेचेको पनि २ वर्ष बितेको छ। ‘बेला–बेला घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गर्ने तालिमहरूमा चिया प्रशोधन सिकाउन जाने गरेको छु,' शरदले भने, ‘चियाकै १० दिने तालिम दिन म्यानमार पनि गएको थिएँ।' जस्बिरेमा घरेलुस्तरमा चिया प्रशोधन गर्ने पनि शरद नै पहिलो युवक हुन्।

जिल्लामा रहेका अढाई दर्जन हाराहारी ठूला चिया प्रशोधन उद्योगका प्राविधिक भारतीय नागरिक छन्। साखेजुङको हिमालयन सांग्रिलालगायत नगन्य मात्राका चिया प्रशोधन उद्योगमा मात्रै नेपाली प्राविधिक काम गर्छन्। तर, शरदले भने धेरै संख्याका इलामे युवालाई चिया प्रशोधन सिकाइसकेका छन्। उनले सिकाएका प्राविधिक विभिन्न साना र ठूला चिया उद्योगमा काम गरिरहेका छन्। ‘गाउँ–गाउँबाट किसानहरू चिया, कटाइ, पत्ती टिपाइ र प्रशोधनबारे बुझ्न आउनुहुन्छ,' उनले भने, ‘निकैले सिकेर जानुभएको छ। उहाँहरूको उत्पादन पनि सुधि्रएको छ अहिले।'

शरदको उद्योगमा दैनिक ५० किलो तयारी अर्गानिक चिया उत्पादन हुन्छ। यहाँ ह्वाइट, गोल्डेन, रेड र ब्ल्याक टी उत्पादन गर्ने गरेको शरदले सुनाए। ‘त्यसभित्र पनि ३५ प्रकारका चिया बनाउँछौं,' उनले भने, ‘उत्पादन भएजति यहाँ राख्न पाइँदैन, बिक्री भइहाल्छ।' थोरै परिमाणको उत्पादन भएपनि हरियोपत्ती टिपाइदेखि नै मेहनत गरिरहेकाले तयारी चिया बिक्रीमा समस्या नभएको सुब्बाले जनाए। गुणस्तर पुगेपछि बिक्रीको चिन्ता नहुने उनको अनुभव छ। भन्छन्, ‘नेपालको सबै चिया अर्गानिक बनाउन सरकारीस्तरबाटै पहल हुनुपर्छ, नेपाली चियाले विश्व बजारमा तहल्का मच्चाउन सक्छ।'

यहाँको चिया बढीजसो नेदरल्यान्डको तातोपानी टी कम्पनीले खरिद गरिरहेको छ। सुब्बाले चीनका टी इन्स्पेक्टर (विज्ञ)ले उद्योगमै आएर त्यहाँका व्यापारीले चाहेअनुसारको चिया तयार गर्न प्रशिक्षण दिने गरेको पनि बताए। यसअघि पनि चीन, फ्रान्स, जर्मनीलगायत देशबाट आएका चिया विज्ञ र व्यापारीले यहाँका प्राविधिकलाई चिया प्रशोधनको तरिकाबारे सिकाएका थिए। नेपालमा वार्षिक उत्पादन हुने करिब २ करोड ३१ लाख किलो तयारी चियामध्ये साढे ४१ लाख किलो मात्रै अर्थाेडक्स छ। त्यसमा पनि बर्सेनि ३ लाख किलो चियामात्र अर्गानिक रहेको तथ्यांक छ।

प्रकाशित: २ आश्विन २०७३ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App