७ वैशाख २०८१ शुक्रबार
राजनीति

एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

विराटनगर– साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते  थुनामा राख्न दिएको आदेशलाई  उल्ट्याउँदै साधारण तारेखमा राख्न आदेश दिएको हो। 

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिएकाले  साधरण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद  रेग्मीले जानकारी दिए। उनले भने, ‘जिल्लाको आदेश रितपूर्वक नदेखिएकाले साधारण तारेखमा राख्न उच्च अदालतले आदेश दिएको छ।’ 

लोहनीले जिल्ला अदालत मोरङको आदेश चित्त नबुझेको भन्दै  सादा तारेखमा छोड्न माग राखी अदालती बन्दवस्तीको १७ नम्बर बमोजिम उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए। लोहनी पक्राउ पर्नु भन्दा पहिले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख थिए। सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा  जिल्ला अदालत मोरङले गरेको आदेश चित्त नबुझेको भन्दै अदालती बन्दोवस्तीको १७ नम्बर बमोजिम उच्च अदालत विराटनगरमा ३० वटा निवेदन परेको थियो। शुक्रबार २४ थान मुद्दाको पेशी चढेको थियो। जसमध्ये १ थान मुद्दा प्रतिवादी वकिलले निवेदन दिएर स्थगित गराएका थिए। अभियुक्त विरेन्द्रमान श्रेष्ठको पेशी स्थगित गरिएको थियो। अन्य मुद्दा समय अभावले हेर्न नभ्याएको अदालतले जनाएको छ। 

यसअघि अभियुक्तहरू निलम्बित डिएसपी सन्जय थापा, तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गर्ने आदेश दिइसकेको छ। यस्तै  राजन कुमार, पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङ्गे, हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीको हकमा पनि जिल्लाको आदेश उच्च अदालतले सदर गरेको थियो। यस्तै  जिल्ला अदालतले साधारण आदेश दिएका प्रहरी हवल्दार अम्बरबहादुर थापा र जवान बिष्णुबहादुर खड्कालाई पनि पुर्पक्षका लागि थुनामा राखेर कारवाही प्रक्रिया अघि बढाउन उच्च अदालतले आदेश दिएको थियो।

सुन तस्करी प्रकरणमा गत बैशाख १९ गते जिल्ला अदालत मोरङमा ६३ जना विरुद्ध अपराधिक समूह स्थापना, संचालन गरि सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरिर बन्धक र कर्तब्य ज्यान सम्बन्धी मुल मुद्धा दर्ता भएको थियो। प्रतिवादीहरूलाई १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको विगो पनि लगाइएको छ। 

प्रकाशित: २९ भाद्र २०७५ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App