coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'साँझ ७ बजे अघि पुग्नुस् नत्र बास नपाइएला'

हुम्ला - समुन्द्री सतहबाट ३ हजार ९ सय ३३ मिटर उचाईमा रहेको लिमीको तिल गाउँमा साँझ ७ बजेपछि जोसुकैलाई घर छिर्न प्रतिबन्ध लगाइएको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ, तर यो यथार्थ हो। गाउँमा अधिकांश महिला, बुढापाका र बालबालिकाहरु मात्रै बस्ने भएपछि जोसुकै मानिसहरु आएपनि घर भित्र पस्न नदिने निर्णय गरिएको नाम्खा गाउँपालिका ६ की भुटिक तामाङले बताइन। ४५ घरधुरी रहेको तिल गाउँमा घरकै परिवार समेत समयमै नआएपछि  घरमा छिर्ने अनुमति नभएको ताामाङले बताइन।

गाउँमा पुरुष नबस्ने भएपछि बाहिरबाट आएका मानिसबाट चोरी हुने, महिलामाथी बलात्कार हुने र भुत प्रेतको डरका कारण ७ बजेभन्दा पछि आउने कोही कसैलाई पनि घरको ढोका नखोल्ने निर्णय भएको तिल गाउँकी पेमा डोल्कार तामाङले बताइन। उनले ७ बजे पछि आफ्नै घरको सदस्य अाएपनि ढोका नखोल्ने गरेकाे बताइन्।

धैरै पहिले गाउँमा चोरी हुने र महिला बलात्कृत हुने भएपछि त्यती बेलाका बुढापाखाले ७ बजेपछि कसैलाई पनि घरभित्र पस्न नदिने निर्णय गरी बसालेको थिती (नियम) अहिलेको पुस्ताले समेत त्यसलाई मानेकाे गाउँका अगुवा छिरीङ पाल्जोर लामाले बताए।

लिमी महाेत्सवको अवसरमा हिल्साबाट ६ घण्टाको पैदल पछि बेलुका सावा ८ बजे तिल गाउँ पुगेको नेपाल पत्रकार महांसघका अध्यक्ष सहित ३ जना पत्रकार गाउँमा घरको ढोका नखोलेपछि रातभरी भोकभोकै खुला आकास मुनी सुत्न बाध्य भएको नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहोराले बताए। बेलुका ढोका नखोले पनि बिहान भने घरमा बोलाएर खाना समेत खुवाएर पठाएको अध्यक्ष बोहोराले बताए।

तिब्बतको सिमासँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तिल गाउँ मात्रै नभई लिमीका हल्जी र जाँङमा पनि राति अवेर आउने बटुवालाई समस्या हुने गरेको छ। लिमी जाने बटुवालाई बास बस्नका लागि न त होटेल छ नत गाउँमा राति ७ बजेपछि बास बस्न बासनै पाइन्छ। उत्तरी तिब्बतसँग जोडिएको बस्ती भएकोले यहाँका स्थानीयहरु राम्रो सँग नेपाली भाषा समेत बोल्न जान्दैनन्।

तिल गाउँका स्थानीयहरुको मुख्य आम्दानीको स्राेत पशुपालन व्यवसाय भएपनि पछिल्ला केही वर्ष यता व्यापार व्यवसायकालागि तिब्बतको ताक्लाकोट निस्कने गरेको पाइन्छ। खेति योग्य जमिन कम भएपछि अधिकांश युवाहरु तिब्बतको ताक्लाकोट त काेहि पशुपालनका लागि लेकतिर निस्कने गर्दा गाउँमा बुढापाका, बालबालिका तथा महिलाहरु मात्रै बस्ने गरेका छन्। 


 

 

प्रकाशित: २९ भाद्र २०७५ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App