७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाली यु-१९ टाेलीकाे लगातार दाेस्राे हार

काठमाडाैं - वाई भी राथोडको अविजित अर्धशतकप्रेरित भारतको यु–१९ ‘ए’ टोलीले शुक्रबार नेपाली युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ। 

भारतीय क्रिकेट बोर्डको आयोजनामा भएको चार टोली सम्मिलित शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । नेपालले यसअघि भारतकै यु–१९ ‘बी’ टोलीलाई ४० रनको नतिजा सुम्पिएको थियो । भारतको ‘ए’ टोलीले पहिलो खेलमा अफगानिस्तानको यु–१९ टोलीलाई १ सय ४० रनले हराएको थियो । 

सन्दीप जोराले ६६ रन बनाएपछि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रनको योगफल बनायो । जुन भारतले २४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। 

ओपनर रवि शाहलाई ४.१ ओभरमा पहिलो विकेटका रुपमा गुमाएको नेपालले थप ६ रन जोड्दा अर्को दुई विकेट खेर फाल्यो । रवि ५ रन बनाएर आउट हुँदा रित गौतम र कप्तान आसिफ शेख शुन्य रनमा पवेलियन फर्किए । त्यसपछि सन्दीप जोरा र तिर्थराज दासले चौथो विकेटका लागि ६९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ लम्किएको थियो । २८.१ ओभरमा तिर्थराज आउट हुदाँ नेपाल ९२–४ को अवस्थमा थियो । तिर्थराजले ८६ बलमा ७ चौकासहित ४६ रन जोडे। 

त्यसपछि ९३ बलमा ५ चौका र १ छक्का हान्दै ६६ रन जोडेका सन्दीपले भिम सार्कीसँग पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे । ४०.१ ओभरमा सन्दीप आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । भिमले २८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका वाई डी मङवानी र अजय देवगडले समान ४ विकेट लिए भने राजेश मोहान्ते र यशस्भी भुपेन्द्र जैशवालको नाममा १–१ विकेट रह्यो।

१ सय ५७ रनको लक्ष्य पछ्याएको भारतले शुरुमै विकेट गुमाए पनि ओपनर अनुज र राथोडले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाली बलर छायाँमा परे । कमलसिंह ऐरीले दोस्रो ओभरको दोस्रो बलमै नेहाल वाधेरालाई एलबिडब्लू आउट गरेका थिए । त्यसपछि अनुज र राथोडले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै जितको आधार खडा गरे । ४४ बलमा ८ चौकासहित ४७ रन बनाएका अनुज आउट भएपछि राथोड र प्रभसिमरन सिंहले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै भारतलाई ८ विकेटको जित दिलाए। 

६८ बल खेलेका राथोडले ५ चौका र १ छक्का हान्दै ५९ रनमा अविजित रहदाँ प्रभसिमरनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए । नेपालले अब आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ।

प्रकाशित: २९ भाद्र २०७५ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App