coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कुस्ती प्रशिक्षण केन्द्र सञ्चालनमा

महागढीमाई नगरपालिकाले मंगलबारदेखि सञ्चालनमा ल्याएको कुस्ती प्रशिक्षण केन्द्रमा कुस्ती खेल सिक्ने खेलाडीसँग हात मिलाउँदै नगर प्रमुख उपेन्द्र यादव ।    तस्बिरः नागरिक

बारा – महागढीमाई नगरपालिका, बरियारपुरले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न कुस्ती प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको  छ । बरियारपुरमै सञ्चालनमा ल्याइएको कुस्ती प्रशिक्षण केन्द्रको मंगलबार २ नम्बर प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह र नगरप्रमुख उपेन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरे।

दैनिक २५ देखि ३० युवाले केन्द्रमा प्रशिक्षण लिइरहेको र यसका लागि नगरपालिकाले तीन जना प्रशिक्षकको व्यवस्थासमेत गरेको नगर प्रमुख यादवले बताए । त्यसका लागि नगरपालिकाबाट दैनिक १० हजार रुपैयाँको हाराहारीमा खर्च हुने प्रमुख यादवले बताए।

कुस्ती प्रशिक्षण केन्द्रले मधेसी संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा सहयोग मिल्ने विश्वास मन्त्री साहले व्यक्त गरे । कुस्ती खेलाडी उत्पादन हुँदा यसले नगरपालिकाका साथ साथै प्रदेशको पनि मान, सम्मानसमेत हुने भएकाले यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्ने मन्त्रीले साहले प्रतिबद्धता गरे।

प्रदेश नं. २ मा रहेका अन्य नगरपालिकामध्ये यस नगरपालिकालाई कुस्ती खेलको क्षेत्रमा उत्कृष्ट बनाउने योजना रहेअनुसार नै अहिले कुस्ती प्रशिक्षण केन्द्रलाई सञ्चालनमा ल्याइएको नगरप्रमुख यादवले  बताए।

कुलतमा फस्दै गएका युवालाई यसबाट टाढा राख्ने, अनुशासित र स्वस्थ राख्ने  खेलका रूपमा कुस्ती खेल रहेकाले यस खेलको खेलाडी उत्पादन गर्न नगरपालिका अगाडि बढेको नगरप्रमुख यादवले बताए । कुस्ती प्रशिक्षण केन्द्रमा आउने युवालाई विभिन्न समूह बनाएर कुस्ती सिकाइने र राम्रो गर्ने खेलाडीलाई नगरपालिकाबाट विशेष सहयोग दिने योजनासमेत रहेको उनको भनाइ थियो।

कुस्ती प्रशिक्षण केन्द्रको लागि छ लाख बजेट विनियोजन गरिएको र यसमा कमी हुने बजेट रकमलाई आवश्यकताअनुसार नगरपालिकाबाटै व्यवस्था गर्ने प्रतिबद्धतासमेत नगरप्रमुख यादवले व्यक्त गरे । कुस्ती सिक्ने खेलाडीका  लागि नगरपालिकाले प्रत्येक दिन एक गिलास दूध, अण्डा, फलफूल दिने उनले बताए।

सञ्चालनमा ल्याइएको प्रशिक्षण केन्द्र सधैंभरिका लागि सञ्चालनमा रहने  र प्रशिक्षण केन्द्रमा आएर यसबाट फाइदा लिन नगर प्रमुख यादवले युवाहरूलाई आग्रहसमेत गरे ।

प्रकाशित: २९ भाद्र २०७५ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App