coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रसफोर्डलाई अवसर दिन सुझाव

लन्डन – इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले स्ट्राइकर मार्कुस रसफोर्डले आफ्नो क्षमता प्रमाणित गर्न क्लबबाट पनि धेरैभन्दा धेरै खेल्ने अवसर पाउनुपर्ने बताएका छन्।

इङ्ल्यान्डले यस साता खेलेको दुवै खेलमा रसफोर्डले गोल गरेका थिए । केही दिनअघि युइएफए नेसन्स कपमा स्पेनलाई २–१ को नतिजा सुम्पिएको इङ्ल्यान्डले बुधबार मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको थियो।

तर रसफोर्ड म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होको रोजाइमा पर्न भने निरन्तर संघर्ष गरिरहेका छन् । पछिल्लो लिगमा बर्नलीविरुद्ध रातो कार्डको दर्शन गरेसँगै रसफोर्डले इङ्लिस प्रिमियर लिगका आगामी तीन खेल गुमाउनेछन्।

साउथगेटले इङ्ल्यान्डका कप्तान ह्यारी केन र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको उदाहरण दिँदै रसफोर्ड २० वर्षका मात्र भएकाले उनीसँग आफूलाई प्रमाणित गर्ने धेरै समय रहेको बताए।

‘केनले २० वर्षको उमेरमा सायदै टोटेनह्यामबाट धेरै खेल्ने अवसर पाएका थिए,’ साउथगेटले भने, ‘त्यस्तै रोनाल्डोको अवस्था पनि त्यस्तै थियो । उनीहरू दुवैले निरन्तरको मिहिनेत र धेरैभन्दा धेरै अवसरपछि मात्र आफूलाई विश्व फुटबलको उत्कृष्ट खेलाडीका रूपमा प्रमाणित गरे । त्यसैले हामीले रसफोर्डलाई पनि आफ्नो क्षमता देखाउने मौका दिनुपर्छ  । उनीप्रति म पूर्ण रूपमा विश्वस्त छु।’

 

प्रकाशित: २९ भाद्र २०७५ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App