८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी वार्ता प्रस्ताव चीनद्वारा स्वागत

बेइजिङ – केही समयदेखि जारी अमेरिका–चीन व्यापारिक विवादकै बीच वासिङ्टनले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई बेइजिङले स्वागत गरेको छ। विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रूप लिने आशंका गरिएको थियो।

महिनौंदेखि चीन र अमेरिकाले एकअर्काविरुद्ध प्रतिशोध स्वरुप करवृद्धिको घोषणा गरिरहेका थिए । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टिभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनियाँ अधिकारीलाई वासिङ्टन आमन्त्रण गरेका छन्।

‘चिनियाँ पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन,’ बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताए। ‘बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं,’ गाओले बताए। उनले दुवै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी पनि दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।     

चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने पाँच सय अर्ब अमेरिकी डलर बराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ एएफपीले जनाएको छ । वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै ६ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आएर २.५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने सांघाई सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ।

ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धिको घोषणा गरिसकेका छन् । करवृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपूर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोधस्वरुप सोही रकम बराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करवृद्धि गरेको छ।

‘अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिनु भएको छ । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ,’ ह्वाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँग गरेको कुराकानीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना रहेको बताइएको छ।

अमेरिकाले करवृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत करवृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।

दुवै देशका व्यवसायीले वासिङ्टनलाई करवृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । आधाभन्दा बढी अमेरिकी कम्पनीले व्यापारिक विवाद बढ्दै गएपछि पछिल्ला दिनमा अमेरिकी कम्पनीमाथि कडा नियमन गर्ने, निरीक्षण गर्ने तथा भन्सारमा विलम्ब गर्नेजस्ता दुःख दिन थालेको बताउने गरेका छन्।

प्रकाशित: २९ भाद्र २०७५ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App