८ वैशाख २०८१ शनिबार
शिक्षा

तीन रुपैयामै पुस्तक!

काठमाडौं - काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन्।

प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य आदि विधाका पुस्तक उपलब्ध छ। विभिन्न जाति तथा धर्मसंस्कृतिमाथि लेखिएका पुस्तक पनि मेलामा उपलब्ध छन्। २०६९ साल सम्म प्रकाशितको पुस्तकलाई ६० प्रतिशत र २०७५ सालसम्म प्रकाशित पुस्तकमा भने ४० प्रतिशत छुट दिइएको छ। ‘मेलामा दुई रुपयाँ देखि १२ सयसम्मका पुस्तक छन्,’ पुस्तक प्रदर्शनीका सहायक व्यवस्थापक महेश्वर थापामगरले भने।

मेलामा किफायत मूल्यमा पुस्तक उपलब्ध हुने तथा इतिहाससम्बन्धि पुस्तक अधिक भएको हुँदा मेलामा आएका धर्मनारायण महर्जनले बताए। तर पनि आफ्नो रुचिको सामाजिक इतिहासका पुस्तक भने नपाएको गुनासो उनको थियो।

मेलामा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक राखिएका छन्। पुस्तकको बिक्री प्रबद्र्धन गर्न पनि प्रतिष्ठानले वर्षको तीन चार वटा पुस्तक प्रदर्शनी गर्ने गरेको छ। अधिकांश पुस्तक पुराना भए पनि पाठकका लागि अध्ययन अनुसन्धान गर्न सघाउने खालका छन्।

मेलाका प्रमुख बजार व्यवस्थापक सुधिर ढुंगेलले प्रतिष्ठानले प्रकाशित गरेका पुस्तक सस्तो तर महत्वपूर्ण भएकाले प्रदर्शनीमा पाठकहरुको उल्लेख्य उपस्थिति हुने गरेको बताए । ‘पाठकहरु एउटा पुस्तक किन्न आएता पनि सस्तो र उपयोगी पुस्तक देखेर अरु पनि पुस्तक लाने गरेका छन्,’ ढुंगेलले भने। उनका अनुसार मेलामा सबैभन्दा बढी नेपाली बृहत् शब्दकोश र दर्शनावलि सम्बन्धि र जातीय संस्कारका पुस्तक बिक्री भएका छन्।

नेपाल सम्बन्धी अध्ययन गरिरहेकी चीनियाँ नागरिक हाइ लू पनि प्रदर्शनीमा भेटिइन्। मिङ्जु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी लूले नेपाली भाषामा प्रकाशित ऐतिहासिक पुस्तकको अंग्रेजी अनुवाद हुने हो भने आफूजस्ता विदेशी अनुसन्धातालाई धेरै सहज हुने बताइन्।

प्रतिष्ठानले प्रकाशित गरेका कतिपय पुस्तक पुनमुद्रण नहुँदा हाल अप्राप्त रहेका छन् । त्यस्ता पुस्तक खोज्न आउने धेरै पाठक निरास भएर फर्कनु परेको छ । प्रतिष्ठानले त्यस्ता पुस्तक प्रकाशन गर्ने योजना राखेको छ । ‘३० देखि ४० वटा महत्वपूर्ण पुस्तकको अधिक माग भएता पनि स्रोत साधनको अभावले पुनमुद्रण गर्न सकेका छैनौं’ ढुङ्गेले भने, ‘ती पुस्तक प्रकाशन गर्न सकियो भने राम्रो हुने थियो ।’ मेलामा ४ सयभन्दा बढी पुस्तक बिक्रीमा छन्।

प्रतिष्ठानले काठमाडौंबाहिर पनि पुस्तक मेला गर्न थालेको छ । मोफसलमा पुस्तक उपलब्ध हुँदा स्थानीय पाठक खुसी भएको ढुंगेलले बताए । ‘तर उपत्यकाबाहिर पुस्तक प्रदर्शनी गर्दा प्रचार प्रसारको कमी, स्थानाभाव तथा यातायातको समस्या हुने गरको छ,’ उनले बताए । प्रतिष्ठानले शीघ्र नै उपत्यकाबाहिर पनि पुस्तक प्रदर्शनी गर्ने तयारी गरेको उनले बताए।

प्रकाशित: २९ भाद्र २०७५ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App