coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

दलितमाथि दलन

२१ औं शताब्दीको ज्ञान र विज्ञानले विश्व उत्कर्षमा पुगेका बेला हाम्रो समाजमा भने मन्दिर छोएको आधारमा कसैमाथि कुटपिट हुनुजस्तो लाजको विषय के हुन सक्छ र ? एकथरी मानिसले त्यहाँ पूजाअर्चना गर्न मिल्छ, अर्काथरीले त्यहाँका भित्ता छुँदा पनि कुटाइ खानुपर्छ । योभन्दा विडम्बनापूर्ण अवस्था अरू हुन सक्दैन । बारा परवानी– ३ लिपनीमालस्थित मन्दिरमा छोएका कारण दलित बालकमाथि गत शनिबार कुटपिट भएको खबरले मानवता डाँको छोडेर रुनुपर्ने अवस्था आएको छ । स्थानीय गैरदलितहरूको कुटाइबाट सुमन राम, उनका दाजु उमेद र भतिज आकाश गम्भीर घाइते भई अहिले स्थानीय अस्पतालमा उपचार गराइरहेका छन् । तिनलाई कुटपिट गरी शरीरमा लागेका चोट त ढिलोचाँडो निको हुने नै छन् तर मनमा लागेको चोट कहिल्यै निको हुने छैन । यिनले जिन्दगीभरि यो पीडालाई मनमा लिएर बाँच्नुपर्नेछ । एउटा समुदायमा जन्म लिएकै आधारमा दलनमा पर्नुजस्तो दुःखद पक्ष अर्को हुन सक्दैन । कुनै खास समुदायमा जन्मिनासाथ उपल्लो हुने र कुनै खास समुदायमा जन्मिनासाथ तल्लो हुने भन्ने अवधारणा गलत छ । समाज, राजनीति र कानुनले जतिसुकै उचाइ लिए पनि समाजमा रहेको यस्तो पिछडिएको मान्यतामा परिवर्तन नआई कहिल्यै हामी उकालो लाग्न सक्ने छैनौं । जन्मले कोही पनि महान् हुन सक्दैन । कर्मले मात्र उचाइ चुम्न सकिन्छ।

कुल जनसंख्याको एक चौथाइ अंश रहेको दलित समुदायमाथि हुने भेदभाव अन्त्य नगरी समाजमा वास्तविक शान्ति र मेलमिलाप कायम हुन सक्दैन । यत्रो ठूलो संख्याले मनमा पीडा बोकेर बस्दा बाँकीका मनमा पनि चैन हुन सक्दैन । यो स्थितिको अन्त्य नभई नयाँ नेपालको परिकल्पना खोक्रो साबित हुनेछ।

दलित समुदायका व्यक्तिमाथि कथित उपल्लो समुदायका व्यक्तिबाट सामान्य विषयमा कुटपिट हुने गरेका घटना नौला होइनन् । यसो गर्न नहुने सन्देशसाथ समाचार, लेख र टिप्पणीसमेत प्रवाहित भइरहेका हुन्छन् । तैपनि यो क्रम रोकिएको छैन । विषय सामान्य हुन्छन्– मन्दिर छोएको, सार्वजनिक धारामा पानी खाएको आदि–इत्यादि । पीडकहरूका निम्ति यी सामान्य विषय हुन् । तर, पीडितका हकमा भने यस्ता घटनाले मनमस्तिष्क हल्लाउँछन् । गत साउन अन्तिम साता बर्दियाको सलोही गाउँपालिकामा आफ्ना छोराको पोषण भत्ता लिन गएका ३४ वर्षीय अजय राममाथि पनि कुटपिट भएको थियो । उनलाई वडाध्यक्षले पानी छोएको निहुँमा गालीगलौज र कुटपिट गरेका थिए । गत साउनमा अन्तरजातीय विवाह गरेका झापा बुद्धशान्ति गाउँपालिकाका लोकेश दर्जी र कन्काई नगरपालिकाकी देवका विमलीलाई माइती पक्षले विभिन्न यातना दिएपछि उनीहरू गाउँबाटै विस्थापित भएका थिए । विस्थापित जोडीलाई माइती पक्षले चौकीमा पु¥याउने, सामूहिक रूपमा गुन्डा पठाउने लगायतका अवाञ्छित गतिविधि गरेका थिए । घटनापछि उनीहरू गाउँ छोडी काठमाडौं पसेका छन् । प्रायः यस्ता घटनाको उजुरी प्रहरीमा पुग्ने  गर्छन् । तर, प्रहरीमा पनि कथित उच्च जातीय अहंकारले घर गरिरहेको हुँदा सबै ठाउँमा संवेदनशील व्यवहार हुन सकेको देखिँदैन । बाराको एउटा गाउँमा दलित समुदायका व्यक्तिलाई गोली हान्ने धम्की दिएपछि पूजा गर्न नसकेको घटना पनि सार्वजनिक भएको थियो । दुई वर्षअघि अन्तरजातीय विवाहका कारण मारिएका काभ्रे होक्सेका १८ वर्षीय अजित मिजारको शव अहिलेसम्म उठ्न सकेको छैन । सरकारले न्याय दिन नसकेको भन्दै परिवारले उनको अहिलेसम्म दाहसंस्कार गर्न मानेका छैनन्।

दलित समुदायमाथि भइरहेको दमनका यी केही घटना मात्र हुन् । देशैभरि उनीहरूमाथि भइरहेका विभेदका घटनाको कुनै हिसाब छैन । सबै घटना सार्वजनिक चर्चामा आउँदैनन् । यस्ता अपमानका घटनाबाट कुडिँदै धेरै दलित समुदायका व्यक्तिहरू बाँचिरहेका छन् । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक जानकारीमा आइरहेका छन् । यस्ता घटनामा पनि धेरैजसो दलित बालिकाहरू सिकार हुने गरेका छन् । अन्तरजातीय विवाहले सबैभन्दा बढी दलित समुदायका व्यक्ति ठूलो मारमा पर्ने गरेका छन् । राष्ट्रिय दलित आयोगका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जातीय छुवाछुत तथा भेदभावका ४९ घटनाबारे उजुरी परेका छन् । उजुरी नपरेका घटना योभन्दा कैयन् गुणा बढी छन् । संविधानमा दलित समुदायमाथि कुनै पनि भेदभाव तथा छुवाछुत गर्न नपाइने व्यवस्था छ । यसैका आधारमा जातीय भेदभाव तथा छुवाछुत कसुर ऐनमा परिमार्जन गरी सजायसमेत तोकिएको छ । छुवाछुतसम्बन्धी कसुर फौजदारी मुद्दामा पर्ने गरेको भए पनि प्रहरीले अधिकांश घटनामा आँखा चिम्लिने गरेको देखिन्छ । कुल जनसंख्याको एक चौथाइ अंश रहेको दलित समुदायमाथिको भेदभाव अन्त्य नगरी समाजमा वास्तविक शान्ति र मेलमिलाप कायम हुन सक्दैन । यत्रो ठूलो संख्याले मनमा पीडा बोकेर बस्दा बाँकीका मनमा पनि चैन हुन सक्दैन । यो स्थितिको अन्त्य नभई नयाँ नेपालको परिकल्पना खोक्रो साबित हुनेछ।

प्रकाशित: २९ भाद्र २०७५ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App