७ वैशाख २०८१ शुक्रबार
विचार

अमेरिकामा खर्बपतिको सातो टिप्दै बर्नी स्यान्डर्स

अमेरिकाका चर्चित सिनेटर बर्नी स्यान्डर्सले अहिले एउटा मुद्दा उठाइरहेका छन् । उत्तर–पूर्वी राज्य भरमन्टका सिनेटर स्यान्डर्सले अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले वार्षिक लाखौँ डलर पारिश्रमिक लिने तर त्यसैका कामदारले भने बाँच्नका लागि आवश्यक न्यूनतम सुविधासमेत नपाएको विषयलाई चर्को रूपमा उठाएका छन्।

स्यान्डर्स गत राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक दलबाट उम्मेदवारको प्रतिस्पर्धामा थिए । तर पछि हिलारी क्लिन्टनले टिकट हात पारिन्।

स्यान्डर्सले हालै एउटा प्रस्ताव संसद्मा दर्ता गरेका छन् । कामदारलाई कम सुविधा दिने कम्पनीहरूलाई लक्षित गरेर ‘अनुदान शून्यकरणमार्फत खराब रोजगारदाता नियन्त्रण’ (बेजोस) बिललाई स्यान्डर्सले दर्ता गरेका छन् । जुन विधेयकले गर्दा अहिले अमेरिकामा कम पारिश्रमिकमा काम लगाइरहेका धेरै कम्पनीको सातो गएको छ।

यो प्रस्तावमा जुन परिमाणमा कम्पनीका कर्मचारीले सरकारी सुविधा (फुडस्टाम्प, मेडिकेट) लिइरहेका छन् त्यसको आधा कम्पनीले व्यहोर्नुपर्ने उल्लेख छ । अर्थात् कुनै कम्पनीमा काम गर्ने ‘ए’ नाम गरेको व्यक्तिले फुडस्टाम्पबापत मासिक तीन सय डलर प्राप्त गर्दै आएको रहेछ भने त्यसको आधा अर्थात् एक सय ५० डलर त्यो व्यक्ति काम गर्ने कम्पनीले व्यहोर्नुपर्ने प्रस्ताव छ । जुन रकम कम्पनीसँग सरकारले करका रूपमा असुल गर्नेछ।

यो प्रस्ताव पारित भएमा एक सय ५० अर्ब डलर सरकारी कोषबाट जोगिनेछ।

बर्नी स्यान्डर्सले ट्विटरमा लेखेका छन्, ‘यो धर्तीमा धनी मानिसको कम्पनीमा काम गर्ने कोही पनि फुडस्टाम्पमा निर्भर हुनुपर्ने अवस्था रहनुहुन्न । दैनिक २६ करोड डलर कमाउने मान्छेको कम्पनीमा काम गर्ने कोही पनि व्यक्ति कारमै रात बिताउने अवस्था रहनुुहुन्न । जुन अवस्था अमेजनमा कायम छ ।’
अमेजनले यो कुराको खण्डन गरेको छ । तर मलाई समेत राम्रोसँग जानकारी छ, मेरा कैयौँ नेपाली साथीहरू घण्टाको ११ डलरमा अमेजनमा काम गर्छन् । त्यो पनि कहिलेकाहीँ हप्तामा ४० घण्टा पनि हुँदैन । ४० घण्टा नै काम गरे पनि कर कटाउँदा कामदारले पाउने भनेको मुस्किलले हप्ताको तीन सय ८० डलर हाराहारीमा मात्र हो । तीन सय ८० डलरका दरले महिनामा एक हजार सात सय डलर हुन आउँछ।

अमेरिकामा अधिकांश कामदारलाई नेपालमा जस्तो मासिक तलबमा राखिएको हुँदैन । व्यवस्थापन भन्दा तल काम गर्ने अधिकांश कामदारहरूले घण्टावारी रूपमा पारिश्रमिक पाउँछन् । उनीहरूले हप्ताभरि गरेको कामको आधारमा अघिल्लो हप्ताको पारिश्रमिक अर्को हप्तामा पाउँछन्।

अमेरिकामा स्थानअनुसार एउटा बेडरुमकै अपार्टमेन्ट लिने हो भने पनि औसत सातसय ५० डलर पर्छ । न्युयोर्क, क्यालिफोर्निया जस्ता सहरहरूमा त सिंगलबेड अपार्टमेन्टकै झन्डै दुई हजार डलर पर्छ।

नेपालीहरू सबैभन्दा धेरै भएको ड्यालस क्षेत्रमा सिङ्गलबेडको नौसयदेखि एकहजार एकसय र डबलबेडको एकहजारदेखि एकहजार पाँचसय डलरसम्म पर्छ।

अपार्टमेन्टलाई नै एकहजारको हाराहारीमा तिरेर बाँकी रहेको रकमले कामदारको जीवन कसरी थेगिन्छ? चारजनाको परिवार रहेछ भने दुई बेड रुम चाहियो, त्यही अनुसारको खानेकुरामा पनि खर्च हुन्छ । गाडीको किस्ता, बिमा, ग्यास खर्च, स्वास्थ बिमासमेत जोड्दा खर्च थेग्न नसकेर निम्न वर्गका अमेरिकीहरू समेत फुडस्टाम्प लिन बाध्य छन् । आप्रवासीका रूपमा अमेरिका पुगेकाले समेत खर्च धान्न नसक्ने अवस्था भएपछि खानाका लागि फुडस्टाम्पको सहारा लिइरहेका छन्।

रोजगारीबाट प्राप्त हुने पारिश्रमिक बाँच्नका लागि पर्याप्त नभएपछि सरकारी सुविधा लिन बाध्य हुन्छन् । जसलाई ‘फुडस्टाम्प’का नामले चिनिन्छ।

अमेजन हालै १० खर्ब डलरको कम्पनीमा सूचीकृत भयो । तर त्यही अमेजनमा काम गर्ने ओहायो राज्यका झन्डै एक हजार पाँच सय कामदारले फुडस्टाम्प लिइरहेको तथ्य बाहिर आएपछि बर्नी स्यान्डर्सले यो विषयलाई गम्भरताका साथ लिएर प्रस्ताव दर्ता गराएका हुन्।

फुडस्टाम्प भनेको कमाउन नसक्ने, कमाइले परिवार पाल्न नसक्नेलाई बाँच्नका लागि दिने सुविधा हो। क्रेडिट कार्ड जस्तै एउटा कार्ड दिइएको हुन्छ । त्यही कार्डमा मासिक रूपमा सरकारले बाँच्नका लागि आवश्यक पर्ने खाना, सरसफाइको लागि आवश्यक पर्ने सामग्री किन्नका लागि रकम सरकारले राखिदिन्छ । जसलाई प्रयोग गरेर फुडस्टाम्प पाउने व्यक्ति वा परिवारले स्टोरहरूमा खाने कुरा किन्न सक्छन्।

तीन जनाको परिवार छ भने मासिक दुई हजार ८ सय ८ डलरभन्दा थोरै कमाइ हुनेलाई सरकारले फुडस्टाम्पबापत नगद दिन्छ । फुडस्टाम्पबापत मासिक ५ सय चार डलर सरकारले प्रदान गर्छ। फुडस्टाम्पबाट चुरोट, मदिरा, खान र पिउनका लागि नमिल्ने चिजहरू किन्न मिल्दैन।

त्यस्तै चारजनाको परिवार छ भने तीन हजार तीन सय ८३ डलरभन्दा थोरै आम्दानी गर्ने फुडस्टाम्प प्राप्त गर्नका लागि योग्य हुन्छन् । चार जनाको परिवारले मासिक ६ सय ४० डलर प्राप्त गर्छन् । फुडस्टाम्प लिनका लागि आम्दानीको मापदण्ड राज्यअनुसार फरक हुन्छ । यो माथि उल्लिखित मापदण्ड टेक्सस राज्यका लागि हो।

अमेरिकामा फुडस्टाम्प लिनु भनेको गरिबमा दर्ता हुनु हो । त्यही भएर सकेसम्म मानिसले फुडस्टाम्प लिन चाहँदैनन् । फुडस्टाम्प लिनेले घर, गाडी किन्न, क्रेडिड कार्ड लिनसमेत बैंकहरूले पत्याउँदैनन्। तर रोजगारी नपाएपछि, पाएको रोजगारीले पनि आपूm तथा परिवारको खर्च थेग्न नसकेपछि फुडस्टाम्प लिन मानिसहरू बाध्य हुन्छन्।

हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले फुड स्टाम्प, मेडिकेडजस्ता सरकारी सुविधा लिने आप्रवासीहरूलाई नागरिकता नदिने नीतिको मस्यौदा तयार गर्न लागेको समाचारलाई रोयटर्स लगायतका एजेन्सीहरूले सार्वजनिक गरेका थिए।  

नेपाली समुदायका सदस्यहरूमा फुडस्टाम्प लिनु नराम्रो हो भन्ने धारणा बसेको छ। जसले गर्दा जस्तोसुकै कठिन परिस्थितिमा पनि अधिकांश नेपालीले यो सुविधालाई प्रयोगमा ल्याउँदैनन्।

अमेजनमा संसारभरि ५ लाख ६० हजार कामदार काम गर्छन् । पश्चिमी अमेरिकी राज्य वासिङ्टनमा प्रधान कार्यालय रहेको अमेजनका फुलफिलमेन्ट सेन्टरहरू प्रायः अमेरिकाका सबै राज्यहरूमा छन्।

अमेजन मात्र होइन, आम मानिसको क्रयशक्तिभित्र पर्ने स्टोर भनेर चिनिएको वालमार्टले आफ्ना कामदारलाई गर्ने व्यवहार पनि उस्तै छ । वालमार्टमा काम गर्ने अधिकांशलाई सुरुवातका केही महिना मुस्किलले हप्ताको ३० देखि घन्टा दिइन्छ । प्रतिघन्टा पारिश्रमिक अहिले पनि कतिपय राज्यहरूमा तोकिएको न्यूनतमकै वरिपरि छ । अमेरिकाका कतिपय राज्यहरूमा अहिले पनि घन्टाको ७ डलर २५ सेन्ट पारिश्रमिक कायमै छ । कर कट्टी गर्दा घन्टाको ६ डलरको हाराहारीमा कामदारले प्राप्त गर्छन् । जुन आम्दानीले परिवार त छाडौँ, एकल व्यक्ति पालिन समेत मुस्किल पर्छ।

वालस्ट्रिट जर्नलका अनुसार सन् २०१८ मा अमेजनमा काम गर्नेले औसत वार्षिक २८ हजार ४ सय डलर कमाएका छन्। म्याकडोनाल्डमा काम गर्नेको त्यो भन्दा पनि धेरै कम ७ हजार डलरको हाराहारीमा मात्र कमाइ छ।

रोजगारीबाट प्राप्त पारिश्रमिकले जीवन धान्न नपुगेपछि अमेजनमात्र होइन म्याकडोनाल्ड, बर्गर किङ्ग, अमेरिकन एअरलाइन्समा काम गर्ने कामदारले पनि फुडस्टाम्प लगायत सरकारी सुविधा लिइरहेको पुष्टि भएको छ । म्याकडोनाल्डले त धेरै ठाउँमा सम्बन्धित सिटीले तोकेको न्यूनतम पारिश्रमिक र थोरै आवर दिएर कामदारलाई काममा लगाउँदै आएको छ।

कामदारको कमाइको अवस्था यस्तो छ भने त्यही कम्पनीमा काम गर्ने प्रमुख कार्यकारीको तलब सुविधा भने कहालीलाग्दो छ । अमेजनमा काम गर्ने तल्लो स्तरको कामदारको दाँजोमा प्रमुख कार्यकारीको सुविधा ५९ गुणाले बढी छ । उता म्याकडोनाल्डका प्रमुख कार्यकारी अधिकृत स्टिभ इस्टरब्रुकले गत वर्ष २ करोड १८ लाख डलर पारिश्रमिक बुझेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले मिलियन डलर पारिश्रमिक बुझ्दा त्यही कम्पनीमा काम गर्नेले भने राज्यले तोकेको न्यूनतम पारिश्रमिक मात्र पाउने व्यवस्थामै किन पुनरावलोकन हुँदैन ? अहिलेको अवस्थामा घन्टाको ५ डलर १५ सेन्टको पारिश्रमिकले कस्तो अमेरिकी जीवन बिताउन नागरिकहरू सफल होलान् ? अहिले पनि अमेरिकी राज्य वोमिङको न्यूनतम पारिश्रमिक ५ डलर १५ सेन्ट छ। घण्टाको ७ डलर २५ सेन्टको पारिश्रमिक त धेरै राज्यहरूमा छ।

जसरी मानिसको जीवनमा ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको अवधारणा छ । ठीक त्यसैगरी ८ घन्टा काम गरिसकेपछि ८ घन्टा मनोरञ्जन गर्न र ८ घन्टा आरामले निदाउन पुग्ने गरी पारिश्रमिक अमेरिकी सरकारले नतोकेसम्म फुडस्टाम्पमा हुने सरकारी खर्चमा कमी आउनेछैन। मानिसलाई फुलटाइम रोजगारी गर्न बाध्य तुल्याउने र कम्पनीहरूलाई अमेरिकी स्टान्डर्डको जीवन बिताउनका लागि पुग्ने पारिश्रमिक दिन बाध्य बनाउने हो भने फुडस्टाम्प स्वतः कोल्याप्स भएर जानेछ।

प्रकाशित: २९ भाद्र २०७५ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App