५ वैशाख २०८१ बुधबार
राजनीति

देउवा र पौडेलपक्षीय विवादले केन्द्रीय समिति बस्नै सकेन

काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच केन्द्रीय अनुशासन समिति संयोजकलाई लिएर विवाद हुँदा केन्द्रीय समितिको बैठक नबसी स्थगित भएको छ। दुवै पक्षले समिति संयोजकको दाबी नछाडेपछि अनुशासन र कार्यसम्पादन समिति गठनका लागि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक साँझ साढे छ बजे स्थगित गरिएको हो।

दुईपक्षीय नेताबीच सहमतिका लागि छ घन्टाभन्दा बढी समय खर्चे पनि कुनै दुवै पक्षले आफ्नो अडानमा कायमै राख्दा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। ‘भोकप्यास नभनी बैठकको प्रतीक्षामा केन्द्रीय कार्यालयमा छ घन्टा गुजारियो तर बैठक सुरु नै नभई स्थगित भयो,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘पार्टीलाई गतिशील बनाउनुपर्नेमा बैठकै बस्न नसक्नु राम्रो भएन।’

सहमतिका लागि सभापति देउवा, नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीबीच पटकपटक छलफल भएको थियो। छलफलका क्रममा सभापति देउलाले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा अनुशासन समिति गठनका लागि प्रस्ताव गरेका थिए । नेता पौडेलपक्षसँग दुईजना सदस्यको नाम दिन आग्रह गरेका थिए। तर, पौडेल पक्षले त्यसलाई अस्वीकार गर्दै अनुशासन, निर्वाचन निर्वाचन समिति गठनका लागि मादण्ड बनाउनुपर्ने र पार्टीका वरिष्ठलाई त्यसको संयोजक बनाउनुपर्ने अडान राखेका थिए।

‘निर्वात निष्पक्ष पनि हुनुपर्छ र अनुशासन समिति संयोजकबाट पार्टीका सबै नेता तथा कार्यकर्ताले न्याय पाउँछु भन्ने हुनुपर्छ,’ नेता पौडेलले नागरिकसँग भने, ‘त्यसका लागि निश्चित मापदण्ड बनाएर सहमतिमा टुंग्याउनु पर्छ।’ सहमतिमै क्रियाशील सदस्यता छानबिन समिति विभाग र कार्यसम्पादन समिति सहमति टुंगोमा लगाउन खोज्दा बैठक बस्न नभ्याएको पौडेलले बताए। ‘आज (बिहीबार )भ्याइएन,’ पौडेलले भने, ‘एउटा एउटा होइन प्याकेजमै सबै विषय टुंगो लगाउनुपर्छ।’

सभापति देउवा र निकटले अनुशासन र कार्यसम्पादन समिति तत्काल गठन गर्ने र अन्य सहमति र विभाग बनाउँदै जाने प्रस्ताव गरेका थिए। केहीदिन अघि पार्टी सभापति देउवा निवासमा बसको पदाधिकारी बैठकमै भएको सहमति उल्लंघन गरेर पौडेल पक्षले नयाँनयाँ सर्तअघि सारेको आरोप लगाएको छ । पौडेलसहित बसेको पदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गर्ने जानकारीसहित दुईजनाको नाम मागेको सुनाउँदै एक नेताले भने, ‘त्यसपछि उहाँहरू(पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव) छुट्टै बैठक बस्नुभयो । उहाँहरु छलफल गरेर नाम दिन्छौं भन्नु भएको थियो । तर आज हुँदा सबै कुरा एकैसाथ हुनुपर्छ भन्ने अडानले बैठक बस्नसकेन।’

पौडेल पक्षले कुरा फेरिएको भन्दै सभापति देउवा निकटहरुले पहिला किन प्याकेजमै कुरा गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

सभापति निकट केन्द्रीय सदस्य रमेश रिजालले विभिन्न बहाना बनाएर अर्को पक्षले सभापतिलाई असफल बनाउन लागि परेको आरोप लगाए । ‘अनुशासन र कार्यसम्पादन समिति गठन गर्ने भनिएका सबै विषय प्याकेजमै गर्नुपर्छ भनेर अड्काउने कुरा भयो,’ रिजालले भने, ‘उहाँहरु महाधिवेशनअघि यस्तै किचकिच गरेर सभापतिलाई असफल बनाउन लागि पर्नुभएको छ।’

यसअघि बुधबार बसेको बैठकले पक्षीय भेलाले अनुशासन समिति संयोजक आफ्नो पक्षले पाउनु पर्नेसहित सबै विषयमा प्याकेजमा सहमति हुनुपर्ने निष्कर्ष निकालेको थियो । अनुशासन समिति संयोजकमा दुई पक्षबीच सहमति नजुट्दा कांग्रेस केन्द्रीय समितिको बैठक पटकपटक स्थगित हुँदैआएको छ।

प्रकाशित: २९ भाद्र २०७५ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App