coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निक्षेपको तुलनामा लगानी तीन सय प्रतिशत बढी

काठमाडौं - साउनयताको ५२ दिनमा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यही अवधिमा उनीहरुको बैंकमा निक्षेप जम्मा भने १५ अर्ब रुपैयाँ मात्र भएको छ। निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी तीन सय प्रतिशतभन्दा बढी देखिन्छ।

यो तथ्यांकले निक्षेप संकलनको तुलनामा कर्जा बढी प्रवाह गरेका कारण बैंकहरुमा लगानीयोग्य पुँजी अभाव हुने गरेको आरोप पुष्टि भएको छ। वाणिज्य बैंकहरुलाई गत वर्ष करिब ६ महिना लगानीयोग्य पुँजी अभाव भएको थियो । निक्षेप संकलनको तुलनामा कर्जा बढी लगानी गरेको कारण लगानीयोग्य पुँजी अभाव भएको आरोप लाग्दै आएको थियो।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४/७५ को अन्तिम दिनसम्म बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। चालु आर्थिक वर्ष ०७५/७६ को भदौ २२ सम्ममा २४ खर्ब ८५ अर्ब निक्षेप संकलन पु-याएका छन्। यस्तै गत आर्थिक वर्ष ०७४/७५ को अन्तिम दिनसम्ममा २१ खर्ब ११ अर्ब लगानी गरेका बैंकहरुले चालु आर्थिक वर्ष ०७५/७६ को भदौ २२ सम्ममा २१ खर्ब ५८ अर्ब लगानी गरेका छन्।

चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरुले लगानी बढाउन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बुधबार नागरिकलाई बताए। ‘गत आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च सरकारले बढाएका कारण लगानीयोग्य पुँजी बैंकिङ प्रणालीमा आएकाले बैंकहरुलाई लगानी बढाउन सहज भएको हो,’ उनले भने, ‘असारमा आएको रकमले बैंकलाई ऋण लगानी गर्न सजिलो बनाएको छ।’

सरकारले गत आर्थिक वर्षको अन्तिम २५ दिनमा एक खर्ब ६३ अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो। असारमा सरकारले खर्च गरेको रकम बैंकिङ प्रणालीमा आएकाले आजसम्म लगानीयोग्य पुँजीको अभाव नभएको दाहालको भनाइ छ।

अहिले बैंकहरुसँग करिब १ खर्ब लगानीयोग्य पुँजी भएको बैंकर बताउँछन् । ‘बैंकहरु पुससम्म ऋण दिन सक्ने अवस्थामा पुगेका छन्,’ एक बैंकरले भने, ‘औसतमा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ७५ प्रतिशत छ।’

बैंकहरुले सिसिडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । त्योभन्दा माथि पु-याए नेपाल राष्ट्र बैंकले कारबाही गर्छ । ८० प्रतिशतमा पुग्ने हो भने १ खर्ब ३४ अर्ब लगानी गर्नयोग्य रकम आउँछ।

‘सिसिडी रेसियो अहिले भइरहकोबाट ३ प्रतिशत बिन्दुले बढाएर ७८ प्रतिशत पु-याउँदा मात्र पनि ८४ अर्ब रुपैयाँ लगानीयोग्य पैसा बैंकहरुसँग हुन्छ,’ दाहालले भने, ‘यो रकमले बैंकहरुलाई पुससम्म लगानी गर्न पुग्छ।’

सरकारले आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने तरिका अन्त्य नगर्ने हो भने पुसपछि भने लगानीयोग्य रकमको अभाव हुने निश्चित भएको बैंकर बताउँछन् । ‘सरकारले खर्च गर्ने परिपाटी बदल्नु पर्छ,’ दाहालले भने, ‘अन्यथा गत वर्षमा जस्तै लगानीयोग्य पुँजीको अभाव यस वर्ष पनि दोहोरिन्छ।’

दसैंमा रेमिटेन्स अन्य महिनाको तुलनामा बढी आउने भएकाले पनि तरलताको अभाव तत्काल नहुने नेपाल राष्ट्र बैंकको भनाइ छ।

हाल २८ वाणिज्य बैंकहरु सञ्चालनमा छन् । दसैं र तिहारपछि लगानी केही बढ्ने अनुमान गरिएको छ । तर, त्यसले मात्रै लगानीयोग्य रकमको समस्या समाधान गर्न नसक्ने विज्ञको भनाइ छ।

बैंकहरुले मुद्दती बचतमा ११ प्रतिशत ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन् । त्यसरी संकलन गरेको निक्षेपलाई बैंकहरुले १६ प्रतिशतसम्ममा ऋण लगानी गरेका छन्।

‘बैंकहरुमा लगानीयोग्य रकम प्रशस्त भएपछि निक्षेको ब्याजदर घटाउन थालेका छन्,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने, ‘सरदर ०.५ प्रतिशत निक्षेप र कर्जाको ब्याजदर घटेको छ।’

केन्द्रीय बैंकले कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) साढे चार प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। तोकिएको स्प्रेड दरभित्र रहेर बैंकहरुले कर्जा लगानी गर्नुुपर्ने स्थिति रहेको बैंकर्स संघको भनाइ छ।

प्रकाशित: २८ भाद्र २०७५ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App