४ वैशाख २०८१ मंगलबार
समाज

लमजुङमा बाढीको वितण्डाः विभिन्न स्थानमा पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता

लमजुङ – यसवर्ष हरितालिका तीजकै दिन बुधबार परेको अविरल वर्षाका कारण लमजुङका विभिन्न स्थानमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ। जिल्लाको उत्तरतर्फको मस्र्याङ्दी गाउँपालिकाका-३ खुदीको पल्लोटारीमा पहिरोले बगाउँदा २ जना र सोही गाउँपालिका-४ श्रीचौरमा एक महिलाको ज्यान गएको हो।

पहिरोमा परेर पल्लोटारीकी ६५ वर्षीया अतिरुपा थापा, उनकी नातिनी १० वर्षीया सिरीषा थापा र श्रीचौरकी ४६ वर्षीया विष्णुमाया गुरुङको मृत्यु भएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए। अत्याधिक वर्षाका कारण स्थानीय खोलाखोल्सीमा आएको बाढी र पहिरोमा परेर उनीहरुको ज्यान गएको हो।

त्यस्तै, मस्र्याङ्दी नदीको वहाव बढेपछि दोर्दीखोला जलविद्युत आयोजनाको निर्माणाधिन पावरहाउसमा कार्यरत् २ जना लाई बाढीले बगाएको छ। उनीहरु अझै फेला परेका छैनन्। बर्दियाका २७ वर्षीय बलिराम चौधरी र २२ वर्षीय लक्ष्मण थारुलाई नदीले बगाएको त्यहाँ कार्यत कर्मचारी ईश्वरकुमार श्रेष्ठले बताए। उनीहरुको अहिले बिहानैदेखि खोजी भइरहेको र तनहुँको खैरेनीस्थित तल्लो मस्र्याङ्दी जलविद्युत आयोजनामा समेत खबर गरिएको उनले जनाए। सोही गाउँपालिका–४ स्थित रामबजार नजिकैको खोलामा आएको बाढी र पहिरोले रामबजारको एक घर बगाएको छ भने अन्य घरहरु जोखिममा परेका छन्।

पहिरोले स्थानीय जीतबहादुर गुरुङको घर पूरै बगाएको छ भने विनु गुरुङ र दमाई गुरुङको घरमा आंशिक क्षति पुग्नुको साथै अन्य घरहरु जोखिममा पारेका छन्।

मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसीमा ४ घर रहेकोमा ३ घर बगाएको छ भने, मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा ४ वटा घर, मस्र्याङ्दी गाउँपालिका– ६ बाहुँनडाडामा ३ घर पहिरोले बगाएको स्थानीयहरुले बताएका छन्।

रामबजारमा एक घर पुरिएको अवस्थामा छ भने स्थानीय सोमलाल श्रेष्ठ, तुल्सी गुरुङ र घेर्मुस्थित गंगामिलन माविका एक शिक्षकको मोटरसाइकल पहिरोले बगाएको छ। सो क्षेत्रको खानेपानी मुहान र पाइपलाइन समेत पहिरोको चपेटोमा परेपछि रामबजार, हिमताल हाइड्रो कम्पनी साइड कार्यालय क्षेत्रमा खानेपानी समस्या भएको हाइड्रो कम्पनिमा कार्यरत् राजन गुरुङले बताए।

अन्नपुर्ण पदमार्गमा घुम्न गएका पर्यटक, मनाङबाट लमजुङ आउँदै गरेका यात्रुहरुले रामबजारको पहिरोको चेपुवामा परेको भन्दै आफुहरुलाई उद्घार गरिदिन आग्रह गरेका छन्।
 
बाढी र पहिरोले विभिन्न स्थानमा जनधनको क्षति पु-याएको खबर प्राप्त भएसँगै ति स्थानमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। आज विहानै जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा समितिको बैठक बसेर खोज, उद्दार तथा क्षतिबारे बुझ्न साँढे ९ बजे हेलिकोप्टर मार्फत् घटनास्थलहरु तर्फ एक टाेली पठाइएकाे प्रजिअ ढकालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, खुदी प्रहरी चौकी, बाहुनडाँडा प्रहरी चौकी, धारापानीस्थित सिमा प्रहरी चौकी लगायतबाट प्रहरीहरु खटाइएको छ। बिहीबार विहानै नेपाली सेना, सशस्त्र प्रहरी र थप प्रहरी घटनास्थल तर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादब ढकालले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App