८ वैशाख २०८१ शनिबार
समाज

उच्च जोखिममा सर्पदंशका बिरामी

सर्पदंशबाट दुई साताअघि मृत्यु भएका चितवन भरतपुरका तीन वर्षीय सलिन विकका आफन्त दोषीमाथि कारबाहीको माग राखी चितवन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै। तस्बिर : नागरिक

– सप्तरी, महदेवा गाउँपालिका–४, डाढागाउँकी ६० वर्षीया मूर्तिदेवी रामलाई सर्पले टोक्यो। उनलाई तत्काल अस्पताल लैजानुको सट्टा गाउँमै धामीझाँक्री बोलाएर फुकफाक गरियो। तर बिरामीको अवस्था झन् बिग्रँदै गयो। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो।

– चितवन, भरतपुर महानगरपालिका–१५, मंगलपुरका तीन वर्षीय सलिन विकलाई भदौ २१ गते राति साढे दुई बजे घरमै सर्पले टोक्यो । आधा घन्टाभित्र सलिनलाई आफन्तले भरतपुर अस्पताल पु-याए पनि त्यहाँ भेन्टिलेटर नभएको भन्दै डाक्टरले उपचार गरेनन्। त्यसपछि बच्चालाई पुरानो मेडिकल कलेज लगियो, तर, त्यहाँ ‘एन्टी स्नेक भेनम’ थिएन। नारायणी सामुदायिक र नयाँ मेडिकल कलेज (सिएमसी) पु¥याए पनि सर्पदंशको सुरु उपचार गरिएन। त्रिवेणीस्थित सर्पदंश उपचार केन्द्रले पनि ढिलो भएको भन्दै उपचार गर्न इन्कार ग-यो।

कतै उपचार नभएपछि आखिरमा आफन्तले फेरि बच्चालाई भरतपुर अस्पताल पु¥याए । बेलैमा उपचार सुरु नगरिएकोले बच्चाको अवस्था जटिल भइसकेको थियो। केही बेरपछि डाक्टरले मृत घोषणा गरे । सलिनको उपचारमा अस्पताल संवेदनशील नदेखिएको भन्दै आफन्तले दोषीमाथि कारबाही माग गरेका छन्।

  • गाउँमा अझै धामीझाँक्रीको भर
  • सर्वसुलभ भएन उपचार
  • गम्भीर बिरामीलाई भेन्टिलेटर दिँदैनन् अस्पताल

माथिका दुई घटना प्रतिनिधिमूलक हुन् । झापा,सुनसरी,सप्तरी, चितवनलगायत तराईका विभिन्न जिल्लामा सर्पदंशका बिरामी बढे पनि प्रभावकारी उपचार नहुँदा कैयौंले अकालमै ज्यान गुमाउँदै आएका छन्।

सगरमाथा अञ्चल अस्पताल, सर्पदंश उपचार शाखाका स्वास्थ्यकर्मी रामकुमार दयालीका अनुसार ग्रामीण भेगका बिरामीलाई तत्काल अस्पताल ल्याउनुभन्दा पनि अन्य उपचारमा भर पर्ने प्रवृत्ति छ। ‘धामीझाँक्रीको भर नपरी सुरुमै अस्पताल ल्याएमा धेरैको ज्यान बच्न सक्छ,’ उनले भने, ‘तराई–मधेसका कतिपय गाउँमा अझै पनि सर्पले टोकेपछि धामीझाँक्रीकहाँ उपचार गर्दा ठीक हुन्छ भन्ने अन्धविश्वास छ।’ चेतना अभावले सर्पदंशबाट अझै पनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
गर्मीयाममा वर्षासँगै आउने बाढीका कारण सप्तरीमा प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म सर्पदंशका घटना ह्वात्तै बढ्ने गर्छन् । सगरमाथा अञ्चल अस्पतालले सर्पदंश उपचार प्रभावकारी बनाउन पूर्वतयारी बढाएको छ । ‘हामीले आवश्यक मात्रामा ‘एन्टी स्नेक भेनम’ व्यवस्था गरिसकेका छौं,’ सर्पदंश उपचार शाखाको संयोजकसमेत रहेका दयालीले भने, ‘हामीकहाँ पर्याप्त ‘एन्टीस्नेक भेनम’ छ।’ दयालीका अनुसार सगरमाथा अञ्चल अस्पतालसँग २ सय ६९ थान ‘एन्टीस्नेक भेनम’ मौज्दात छ। यो वर्ष वैशाखदेखि हालसम्म सर्पदंशका ४ सय ८२ जना बिरामीले सगरमाथा अञ्चल अस्पतालबाट उपचार गराएर फर्किएका छन्।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविन खड्का सर्पले टोक्ने सिजनमा २० बेडको आइसियुमा एक बेड सर्पदंशका बिरामीलाई उपचारका लागि छुट्याएर राखिन्छ । तीन वर्षीय बालक सलिनलाई सर्पले टोकेको दिन सबै आइसियु बेड भरिएकाले रेफर गरिएको उनले बताए। ‘अन्य अस्पतालले लिन नमानेपछि बिरामीलाई फेरि फर्काएर ल्याइयो, उपचार गर्दागर्दै बालकको मृत्यु भयो,’ उनले स्पष्ट पारे।

भरतपुर अस्पतालको आइसियुमा गत आर्थिक वर्षमा सर्पदंशका ७ सय ४४जना बिरामीको उपचार गरिएकोमा तीनजनाको मृत्यु भएको थियो । अस्पतालले सर्पदंशका बिरामीलाई सेवा दिन आनाकानी गर्नु संवेदनाहीन भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत बताउँछन् । ‘मेडिकल सिटी भनेर कहलिएको भरतपुर महानगरमा यस्तो लापरबाही हुनु खेदजनक छ। आवश्यक कारबाही अगाडि बढाउँछौं,’ उनी भन्छन्।

‘भेन्टिलेटर’ दिन मान्दैनन् अस्पताल
सर्पको डसाइबाट गम्भीर बिरामीलाई भेन्टिलेटरमा राख्न पूर्वका अस्पतालले अस्वीकार गर्दै आएका छन्। विषालु सर्पको टोकाइबाट बिरामी भएकाको उपचारमा अस्पतालले आइसियु सेवा दिन इन्कार गरेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीका अनुसार भेन्टिलेटर चाहिने बिरामीलाई राख्न अस्पतालले अस्वीकार गर्दै आएका छन्।

उपशाखाका एम्बुलेन्स चालक लक्ष्मी मिश्रका अनुसार जटिल अवस्थामा रहेका बिरामीलाई अस्पताल पु-याउँदा भेन्टिलेटर नभएको भन्दै फर्काउने गरिन्छ। ‘धेरै अस्पताल दौडाए पनि गम्भीर बिरामीका लागि भेन्टिलेटर पाउन मुस्किल हुन्छ,’ उनले भने। यस्तो समस्या पटक–पटक आएपछि दमक रेडक्रसले अस्थायी भेन्टिलेटरको व्यवस्था गरेको छ। भेन्टिलेटरले केही घन्टासम्म बिरामीलाई श्वासप्रश्वास गराउन सक्छ । ‘धेरैपटक सर्पदंशका गम्भीर बिरामीलाई अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको पाइएपछि अस्थायी भेन्टिलेटर व्यवस्था गरेका छौं,’ बुढाथोकीले भने, ‘यसबाट बिरामीलाई अस्पतालसम्म लैजान सजिलो भएको छ।’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु समेत खाली नहुने भएकाले बिरामीले सास्ती खेप्नुपरेको छ । ‘कहिलेकाहीँ त विराटनगरका सबै अस्पतालमा चहार्दा पनि भेन्टिलेटर पाइँदैन। कतिपयले सर्पले डसेको बिरामी राख्ने भनेपछि दिन अस्वीकार गर्छन्।’

दमकका तीनवटा अस्पतालमा भेन्टिलेटर भए पनि उनीहरूले पनि सर्पदंशका बिरामी राख्न मान्दैनन्। सभापति बुढाथोकीले धेरैपटक आम्दा र लाइफलाइन अस्पतालमा दबाब दिएरै बिरामी राख्न लगाएको बताए । ‘भेन्टिलेटरमा नराखे बिरामीको मृत्यु हुन्छ, राख्न खोज्दा अस्पताल मान्दैनन्,’ उनले सुनाए, ‘कतिपयको जमानी बसिदिएर भेन्टिलेटर व्यवस्था गरिदिएका छौं ।’ दमकस्थित सर्पदशं उपचार केन्द्रका इन्चार्ज देवी भण्डारीका अनुसार सामान्य केसमा ‘एन्टीस्नेक भेनम’ प्रयोग गरेर उपचार गरिन्छ। तर, असामान्य अवस्थाका बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ।

समयमै उपचार गरे निको हुन्छ
दुई साताअघि मोरङ सुन्दर हरैंचा–६ का १२ वर्षीय प्रदीप घिमिरेलाई घरनजिकै फोहोर फाल्न जाँदा सर्पले टोक्यो । तर, कुनै किराले टोक्यो होला भनी परिवारका सदस्यले चासो दिएनन् । केही समयपछि उनमा बान्ता र चक्कर लाग्ने समय देखियो । उनी आत्तिन थाले। परिवारका सदस्यले टोकेको ठाउँमा मट्टीतेल दल्नुका साथै खुर्सानी खुवाए । प्रदीप झन् सिकिस्त हुँदै गए।

गाउँलेको सुझावमा उनलाई सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरी लगियो। त्यहाँ पु-याउँदासम्म उनी अचेत भइसकेका थिए। उपचार सुरु गरेको दुई घन्टापछि उनको होस खुल्यो। सामुदायिक सर्पदंश उपचार केन्द्रका प्राविधिक टोपराज काफ्लेले १५ मिनेट अबेर भएको भए उनको ज्यानै जानसक्ने बताए। इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा बर्सेनि सर्पले डसेका बिरामीको संख्या बढ्दो छ। यही वर्ष वैशाखदेखि भदौं तेस्रो सातासम्म ९ सय ३९ जना सर्पदंशका बिरामीले उपचार गराइरहेका छन्।

उपचार केन्द्रका अनुसार यस वर्ष वैशाखमा ७५, जेठमा १ सय ६४, असारमा २ सय ५०, साउनमा २ सय ७५ र भदौ तेस्रो सातासम्म १ सय ७५ जना सर्पदंश बिरामीको उपचार भएको छ। २०६९ सालमा स्थापित यस केन्द्रबाट अहिलेसम्म ८ हजार ४ सय १६ जना बिरामीले उपचार पाएका छन्।

नेपाली सेनाले इटहरीसँगै प्रदेश नं. १ का चार ठाउँमा सर्पदंश बिरामीको उपचार सेवा दिँदै आएको छ। झापाको चारआली र उदयपुरमा पनि सेनाले सर्पदंशकोे उपचार गर्दै आएको छ । चारआलीमा २०६२ सालयता १४ हजार २ सय ८८ जनाले उपचार पाएका छन् । चारआलीमा सर्पदंश भएका बालबालिकाको पनि उपचार गरिन्छ । चारआली र इटहरीको तुलनामा उदयपुरमा भने बिरामी थोरै हुने गरेका छन्। मोरङको याङ्शिलामा पनि सर्पदंश उपचार केन्द्र खोल्ने तयारी भइरहेको पूर्वी पृतना मुख्यालय, इटहरीका सेनानी प्रकाश उप्रेतीले बताए।

गाउँमा जोखिम बढी
मोरङ, मिक्लाजुड–४ का ११ वर्षीय मेरिना राईलाई सोमबार घरमै सर्पले टोक्यो। उपचारका लागि दमकस्थित सर्पदंश उपचार केन्द्र ल्याइयो । ‘गाउँबाट सर्पदंशका बिरामी बढी आउँछन्,’ केन्द्रका इन्चार्ज भण्डारीले भने, ‘विशेष गरी इटहरा, पथरी, टाडी, केराबारीलगायत गाउँबाट सर्पदंशका बढी बिरामी आउँछन्।’ करेसाबारी, गोठ आदिमा काम गर्दा तथा राति बाहिर निस्कँदा बढी मात्रामा सर्पले टोक्ने गरेको छ।

‘सबैखाले सर्पले टोकेका बिरामीको उपचार हुन्छ, बेलैमा स्वास्थ्य संस्था ल्याउनुपर्छ,’ भण्डारीले भने, ‘सबैभन्दा बढी विषालु करेत सर्पको समेत उपचार गर्ने गरेका छौ।’ सर्पदंश उपचारका लागि सरकारले स्वास्थ्य संस्थामा ‘एन्टीस्नेक भेनम’ उपलब्ध गराउँदै आएको छ। विषालु सर्पले टोकेको बिरामीको उपचारमा ५० हजारभन्दा बढी खर्च हुने दमक रेडक्रसले जनाएको छ।

सर्पको टोकाइबाट मृत्यु नहोस् भनी दमक रेडक्रसले ४ सय ५० वटा मोटरसाइकल एम्बुलेन्स तयार पारेको छ । त्यस्ता एम्बुलेन्सबाट सर्पले टोकेको ठाउँबाट दमकसम्म उपचारका लागि ल्याउने गरिन्छ। ‘सर्पदंशका बिरामी ल्याउन झापा, इलाम र मोरडमा हामीले मोटरसाइकल स्वयंसेवक राखेका छौं,’ दमक रेडक्रसका सभापति बुढाथोकी भन्छन्।

दमक रेडक्रसमा वार्षिक १ हजार ३ सय सर्पदंशका बिरामी उपचार गर्न आउछन् । तीमध्ये १० प्रतिशत अति विषालु सर्पले टोकेका बिरामी हुन्छन् । पूर्वी तराईमा ९ प्रकारका विषालु सर्प पाइन्छन् । तीमध्ये ६ वटा करेत जातका छन् भने ३ वटा गोमन जातका छन्। सर्पको अध्ययन र अनुसन्धानलाई सहज बनाउन रेडक्रसले सर्प संग्रहालय निर्माण गरेको छ। त्यहाँ ३० प्रजातिका सर्पलाई फर्मालिनमा हालेर राखिएको छ।

पूर्वी पहाड तथा तराईका ग्रामीण क्षेत्रबाट सर्पदंशका बिरामीलाई सेनाको उपचार केन्द्रमा ल्याउने गरिएको छ। निजी र सरकारी अस्पतालले सेनाको उपचार केन्द्रमै रेफर गर्ने गरेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अञ्चल अस्पताल र जिल्ला अस्पतालमा सर्पदंशका बिरामीको उपचार हुन्छ। सरकारी अस्पतालमा सर्पदंशका सीमित बिरामी आउने गरेका छन्। कतिपय अस्पतालमा एन्टी स्नेक भेनम नहुने भएकाले कतिपय बिरामीको ज्यान जाने गरेको छ। नेपाल सरकारले सबै उपचार केन्द्रमा एन्टी स्नेक भेनम निःशुल्क उपलब्ध गराउने भए पनि समयमै आपूर्ति नहुँदा समयसमयमा अभाव हुने गर्छ।

(जितेन्द्रकुमार झा/सप्तरी,सविता श्रेष्ठ/चितवन, युवराज विवश/दमक)

प्रकाशित: २८ भाद्र २०७५ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App