८ वैशाख २०८१ शनिबार
समाज

एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

पत्रकार सम्मेलनमा निर्मला पन्तका बाबु यज्ञराज र अामा दुर्गादेवी। तस्बिर : दीपेन्द्र राेक्का/नागरिक

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।

‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन्। ‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’

घरमा भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउँदा पनि छोरीको हत्यामा प्रहरीभित्रैको मान्छेको हात भएको शंका छ, प्रहरीभित्रै अनुसन्धान गरिदिनुहोस् भनेर आफूले अनुरोध गरेको उनले स्मरण गराइन्।

निर्मलाका बुबा यज्ञराज पन्त प्रहरी सुरुदेखि नै धम्क्याउन र दोषी बचाउने खेलमा मात्र लागेको बताउँछन्। ‘अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण छोरीको हत्यामा प्रहरी संलग्न भएकाले नै हो,’ उनले भने, ‘कानुन सबैलाई लाग्नुपर्छ, शंकास्पद प्रहरीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्छ।’ सुरुदेखि प्रमाण नष्ट गर्न खोज्ने प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।

‘शक्तिशाली हत्यारा बचाउन प्रहरीले नियतबस प्रमाण नष्ट गर्ने, अनुसन्धान गर्नुपर्नेलाई नगर्ने र निर्दोषलाई दोषी साबित गर्न खोजेको हो,’ भीमदत्त नगरपालिका–२ का स्थानीय तथा भूतपूर्व सैनिक मोतीकुमार नेपाल भन्छन्। आफूले सुुरुमा प्रमाण र केही सुझाव दिन खोज्दा अनुसन्धान गर्न सिकाउनु पर्दैन भनेर प्रहरीले धम्क्याएको उनी बताउँछन्। प्रहरीले निर्मलाका पक्षमा अवाज उठाएमा गोली हान्ने धम्की दिएको उनले बताए।

इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी डिएनए मेल नखाएर दिलीप निर्दोष भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनुसन्धानमा खटिएको प्रहरी नै दोषी हो भन्ने प्रस्ट भएको बताउँछन्। ‘दोषी बचाउने र घटना ढाकछोप गर्न संलग्न प्रहरी अधिकारीलाई हिरासतमा राखी अनुसन्धान गरिनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूलाई बाहिर राखेमा चलखेल गर्ने र अझै पनि प्रमाण नष्ट गर्न सक्ने खतरा छ।’ कञ्चनपुरका एसपी कुवेर कडायतले अहिलेसम्म भन्न लायक कुनै तथ्य फेला नपरेको बताएका छन्।

शंकास्पद सबैको डिएनए परीक्षण गरिने
निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन्। उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने, ‘ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिन्छ।’

शंकाको घेरामा तानिए एसपी बिष्ट
दिलीप बिष्टको डिएनएले मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन्। स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन्। दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय सन्तोष भट्ट बताउँछन्। ‘अब प्रहरीका उच्च तहका अधिकारीकै डिएनए परीक्षण गराउनुपर्छ,’ उनले भने, ‘जनताको शंका प्रहरीतिरै भएकाले उनीहरूले डिएनए परीक्षण गराउँदा केही बिग्रंदैन।’ स्थानीय बासिन्दा र निर्मलाका आफन्तले एसपी डिल्ली बिष्टलगायतका जिम्मेवार प्रहरीमाथि नै शंका गरिरहेको उनले बताए। स्थानीय नैनसिंह बुढा पनि दिलीप बिष्ट निर्दोष साबित भएपछि अब जनताको औंला प्रहरीतर्फ सोझिएको बताउँछन्।

मलाई यातना दिए झूटो बयान दिन लगाए : दिलीप
भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलीप बिष्ट कारागारमा साथीलाई भेटर फर्कंदा भदौ १ गते पक्राउ परेका थिए । ‘निर्मला पन्तको साइकलको चेन बिग्रेका बेला भेट भयो, चेन बनाइदिएँ, अनि खोलापारि उखुबारीमा लगेर बलात्कार गरें र घाँटी च्यापेर हत्या गरेको हुँ भन् भनेर मलाई यातना दिएर झूटो बयान दिन लगाए’, मानसिक सन्तुलन त्यति ठिक नभएका दिलीपले टेलिफोनमा भने। प्रहरी हिरासतमा रहँदा आफूलाई पानीको ड्रममा टाउको हाल्न लगाएर, नाक र मुखमा पानी हालेर र लाठी खुट्टामा छिराएर यातना दिएको उनले बताए। ‘म पत्रकार सम्मेलनमै सही कुरा भनिदिन्थें, मेरो मुखमा टेप लगाएका थिए’, उनी भन्छन्। दिलीपका दाजु खडक बिष्टले निर्दोष भाईलाई प्रहरीले चरम यातना दिएर पूरै मगज बिगारिदिएको बताएका छन्। ‘मेरो भाइको पहिला पनि मगज बिग्रेको थियो। अहिले प्रहरी यातनाले पूरै बिगारिदिएको छ,’ उनी भन्छन्, ‘मेरो भाइ मान्छे देखे डराउन र आत्तिन थालेको छ।’ दिलीपका ८२ वर्षीय बुवा कमलसिंह बिष्टले छोरालाई यातना दिएर बोल्नै नसक्ने भएको बताउँछन्। उनले भने, ‘हामी गरिब मान्छे, कसरी उपचार गर्ने ? कसले क्षतिपूर्ति दिने?’

‘नक्कली पात्र’ खोज्नमै सक्रिय प्रहरी
निर्मलाको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टको टोली सुरुदेखि नै निर्दोषलाई फसाएर दोषी करार गर्न सक्रिय रहेको पाइएको छ। निर्मलाको शव साउन ११ गते उखुबारीमा फेला परेपछि प्रहरीले कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो। स्रोतका अनुसार जीवन मानसिक सन्तुलन गुमेका व्यक्ति हुन् भने दीपक पनि गम्भीर प्रकृतिका रोगी हुन्। ‘प्रहरीले गाउँमा आएर गम्भीर प्रकृतिको रोग लागेका दीपकलाई समातेर घटना कबोल गर्न लगायो,’ स्रोतले भन्यो, ‘घटना मैले गरेको हुँ भन् भनेर प्रहरीले उनलाई बक्न लगायो।’ तर, दीपकले आफू घटनामा संलग्न नभको बताएपछि दुवैजनालाई मुक्त गरिएको थियो।

जीवन र दीपक हिरासतमुक्त भएलगत्तै साउन २१ गते ‘नक्कली पात्र’ खोज्दै प्रहरी टोली घटनास्थल उखुबारी नजिकै घर भएका चक्रदेव बडूकहाँ पुग्यो। सादा पोसाकमा रहेका प्रहरीले घटना सोधपुछका लागि भन्दै चक्रदेवलाई घरबाटै पक्राउ ग-यो । प्रहरीले चक्रदेवसँग उनकी १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि जिल्ला प्रहरी कार्यालयमा पु-यायो । बहिनी र भाइलाई सोही दिन दिउँसो छोडे पनि प्रहरीले चक्रदेवलाई भने बेलुकीसम्म पठाउने सर्तमा हिरासतमै राख्यो। बेलुकीतिर प्रहरीले अस्पताल लगेर उनलाई रगत निकाल्न लगा। बडूले भने, ‘११ दिनपछि बल्ल छोड्यो।’ आफूलाई हिरासतमा राखेर प्रहरीले पटकपटक मानसिक यातना दिने गरेको उनले बताए। प्रहरीले निर्मलाको हत्या मैले गरेको हुँ भनेर भन्, सजाय कम हुन्छ भनेर बक्न लगाउने गरेको उनले बताए। उनले भने, ‘तर मैले सत्य बोलें। घटना मैले गरेको हुँ भनेपछि सजाय कम हुने र आर्थिक प्रलोभन देखाउँथे।’ त्यसपछि सार्वजनिक मुद्दामा पाँच हजार रुपैयाँ धरौटीमा उनी मुक्त भएका थिए।

प्रकाशित: २८ भाद्र २०७५ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App