काठमाडौं- दसैंमा राजधानी बाहिर जाने यात्रुको सुविधाका लागि लामा दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङ खोलिने मिति अहिलेसम्म टुंगो लागेको छैन। गत वर्ष भारतीय नाकाबन्दीले लामो दुरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खोलिएको थिएन। तर त्यसअघि दसैंको एक महिनापूर्व अग्रिम टिकट बुकिङ खोलिने गरेको थियो। यसपल्ट भने दसैं आउन एक महिनाभन्दा पनि थोरै समय बाँकी हुँदा समेत अग्रिम टिकट बुकिङ खुल्ने मिति टुंगो लागेको छैन्। यस वर्ष विजया दशमी असोज २५ गते परेको छ। राजधानीबाट दसैं मनाउन उपत्यका बाहिर जानेहरू यतिबेला टिकटको खोजीमा लागे पनि बुकिङ नखुलेककाले दोधारमा परेका छन्। 'पछि लिँदा टिकट पाउनै कठिन हुन्छ,' ओखलढुंगाका निराजन बुढाथोकीले भने, 'यसअघि यतिन्जेल बुकिङ खुलिसक्थ्यो, यस वर्ष खुलेको छैन। किन पो हो?' उनले भने, 'पोहोर पनि नाकाबन्दीले गाडी नपाएर जान पाइएन। यसपाला पनि टिकट नपाइने हो कि भन्ने चिन्ता लाग्न थालेको छ।'
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार असोज १० देखि उपत्यका बाहिर जाने यात्रुको चाप हुन्छ। उनले भने, '१० गतेदेखि अग्रिम बुकिङका बस पठाउनु पर्छ।' उनका अनुसार १० गते बस पठाउन अहिलेदेखि नै टिकट बुकिङ खोल्नुपर्छ। 'अग्रिम बुकिङ खोल्न हामी तयार छौं। तर यातायात व्यवस्था विभागको ढिलासुस्तीले रोकिएको छ,' सिटौलाले भने, 'कतिपय सडक मर्मत नगरिँदा अहिले नै ट्राफिक जामबाट निस्कन घन्टौं लाग्छ भने झन् दसैंमा के होला?' दसैंका लागि सरकारले बिग्रिएका सडक मर्मत र खाल्डा पुर्नुपर्ने उनको भनाइ थियो।
अग्रिम टिकट नखुल्नुको प्रमुख कारण बिगे्रका सडक मर्मत नगरिनु, अस्थायी रुटको भाडादर कायम नगरिनु रहेको यातायात व्यवसायीले बताए। कंलकी–नागढुंगा सडक मर्मत नहुँदा ९ किलोमिटर सडक छिचोल्न अहिले करिब ४/५ घन्टा लाग्ने बसचालक विकास तामाङ सुनाउँछन्।
त्यसैगरी मुग्लिन–नारायणघाट सडक विस्तारका क्रममा छ। करिब ३६ किलोमिटर सडक छिचोल्न ५/७ घन्टा लाग्छ। सिटौलाका अनुसार अधिकांश सडकको अवस्था बेहाल रहेको हुँदा मर्मत नगरे दसैंमा सवारी चापले ट्राफिक जाम छिचोल्न सकिँदैन।
विभागले दसैंका बेला बिग्रेभत्केका सडक मर्मत गर्नुपर्ने सिटौलाले बताए। 'सडकको समस्याले सर्वसाधारणले ठूलै सकस भोग्नुपर्छ। तसर्थ दसैंमा सवारी आवागमन सहज गराउन अस्थायी मर्मत गर्नुपर्ने माग राखेका हौं,' सिटौलाले भने, 'अहिले अस्थायी रुटको व्यवस्था गरिएको छ, तर भाडादर विभागले तोकेको छैन। विभागको ढिलासुस्तीले गर्दा अग्रिम टिकट बुकिङ खोल्न ढिलो भएको हो।'
विभाग र व्यवसायीबीच बुधबार अग्रिम टिकट बुकिङबारे छलफल भए पनि निर्ष्कषमा पुगेन। विभागले व्यवसायीका माग जायज भएकाले पूरा गर्ने जनाएको छ। 'यस पटक व्यवसायीले राखेका माग जायज छन्,' विभागका प्रवक्ता बसन्त अधिकारीले भने, 'सडक मर्मत कसरी गर्न सकिन्छ छलफल गरिरहेका छौं। अस्थायी रुटको भाडा तोक्ने काम पनि चाँडै हुन्छ।' उनका अनुसार असोज २ गते हुने विभाग–व्यवसायी छलफलबाट अग्रिम टिकट बुकिङ र बस पठाउने मिति टुंगो लाग्नेछ। 'असोज पहिलो साता अग्रिम बुकिङ खोलिने छ भने यात्रुको चाप हेरेर १० गतेदेखि बस पठाइनेछ,' अधिकारीले दाबी गरे।
विसं २०६८ को जनगणना अनुसार काठमाडौं उपत्यकामा करिब ४० लाख जनसंख्याको बसोबास छ। तीमध्ये करिब २६ लाख मानिस दसैं मनाउन उपत्यका बाहिर जाने गरेको विगत वर्षका तथ्यांकले देखाउँछ। यातायात व्यवसायीका अनुसार दसैंअघिका १५ दिन यात्रुको अत्यधिक चाप हुन्छ। फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप सबैभन्दा बढी हुन्छ। दुई दिनमा करिब दैनिक ४ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेको यातायात व्यवसायीले बताए।
यसअघि दसैंमा बसका छतमा समेत यात्रु लैजाने गरिन्थ्यो। यसपटक व्यवसायी आफैंले छतमा यात्रु नराख्ने बताएका छन्। बाहिरबाट फर्कँदा खाली आउनुपर्ने र खचाखच यात्रु पनि नहाल्ने भएपछि सरकारले व्यवसायीलाई केही सहुलियत दिइनुपर्ने बताए। सिटौलाले दसैंमा बसको कमी हुन नदिने दाबी गरे।
प्रकाशित: २ आश्विन २०७३ ०२:०४ आइतबार