८ वैशाख २०८१ शनिबार
कला

तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

“सुन्नुहोस दिदीबहिनी सुन्नुहोस् दाजुभाइ, 
वातावरण विषयको गीत वरिलै 
सरसफाइ शुरु गरौँ टोलवासी वडाले 
वातावरणमा ध्यान दिनुहोस् ठूलाबडाले ।।”

पाेखरा - उल्लेखित गीत हरितालिका तीजका अवसरमा वातावरण संरक्षणलाई जोड दिँदै आयोजित एक प्रतियोगिताका अवसरमा पोखरामा गाइएको हो। महिलाका पीडाव्यथा तथा खुसीमा गाइने तीजका गीतमा पछिल्लाे समय समाजका विभिन्न पक्षको चित्रण गरी सन्देश समेत दिन थालिएको छ। नेपाली महिलाको महान् पर्व तीजका अवसरमा गीतमार्फत शहरमा बढेको फोहरलाई मोहरमा बदल्न सकिने सन्देश दिँदै यस्ता गीत गाउन थालिएकाे हाे।

फोहरलाई वर्गीकरणका आधारमा कुहिनेलाई घरभित्रै र नकुहिनेलाई विभिन्न आकर्षक सामग्री निर्माण गरेर थप आम्दानीको स्रोत बनाउन थालिएको छ। प्रयोगमा नआउने वस्तुलाई गाडीमा पठाउनु पर्नेमा तीज गीत प्रतियोगिताका सहभागी आमा समूहले जोड दिएका हुन्। 

“माथिबाट ढलसँगै बगी आउने फोहर 
त्यही फोहरलाई सबै मिली बनाऔँ मोहर 
कुहिने फोहोर जति करेसाबारीमा 
नकुहिने फोहोरलाई फालौँ गाडीमा ।।”

फोहरबाट हुने असर एवं व्यवस्थापन विषयमा पोखरा महानगरपालिका १७ द्वारा आयोजित अन्तर आमा समूह तीजगीत प्रतियोगितामा पर्यटकीय शहर पोखरामा दिनप्रतिदिन बढेको फोहरप्रति चिन्ता व्यक्त गर्दै न्यूनीकरण गर्नजनप्रतिनिधिलाई सचेत गराइएको थियो। 

“सबै मिली जिताएका जनप्रतिनिधिले 
सफा राख्न सिकाउनुस् है नयाँ विधिले ।
” 

कतिपय आमा समूहले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने प्लाष्टिक जलाउनुभन्दा विभिन्न सजावटका सामग्री बनाएर घरमा नै सजाउन सकिने सन्देशमूलक झाँकी समेत प्रस्तुत गरेका थिए। आआफ्नाे पोशाकमा सहभागी प्रत्येक समूहले कुहिने र नकुहिने फोहरको वर्गीकरण र फोहोर उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिँदै एक घर दुई विरुवा अभियानलाई प्रभावकारी बनाउँदै वातावरण स्वच्छ राख्न गीतको भावमा समेटेका थिए। 

नारी शक्ति जागरण आमा समूह आँखा अस्पताल चोकका अध्यक्ष शिशिर गोदारले १७ नं वडा पोखराको फोहोर फाल्ने क्षेत्र बन्दै गएकामा दुःख व्यक्त गरे। 

“न पेटीमा बाल्टी छ, न पोलमा लाइट 
१७ नं वडा हुँदैछ डम्पिङ साइट ।।” 

पोखरा शहरको दक्षिणी भेगमा अवस्थित उक्त वडामा शिरदेखि आउने भलले मरेका जनावरसहित फोहर बगाएर ल्याउने र महानगरको फोहर उठाउने गाडी समयमा नआउँदा दुर्गन्ध फैलिएर मानव स्वास्थ्यमा असर पार्ने गुनासो छ। 

घरघर तुलसी रोप चोकमा वर पीपल 
चारैतिर सफा भए वस्छन् शीतल ।।” 

कार्यक्रम संयोजक राधिका योगीका अनुसार प्रतियोगितामा वडाका १९ आमा समूहले भाग लिएका थिए। फोहर व्यवस्थापन र वातावरणीय सुधारका पक्षमा आमा समूहले उठाएका समस्या समाधानका लागि सहकार्य गरेर अगाडि बढ्ने वडाध्यक्ष तीर्थ अधिकारीले बताए। तारे होटलमा दर खाएर गहना र कपडामा रमाएर भडकिलो नभई मौलिक सांस्कृतिक संरक्षण सहित समाज, पर्यावरणीय एवं मानव स्वास्थ्य सुधारसहित उद्यमी बन्न सन्देश दिएर तीज पर्व विस्तारै रुपान्तरित हुँदै जानुलाई महत्वका साथ हेरिएको छ। रासस

प्रकाशित: २७ भाद्र २०७५ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App