७ वैशाख २०८१ शुक्रबार
समाज

सात रोपनीमा लगाइएको १२ सय बोट गाँजा प्रहरीद्वारा नष्ट

रैनादेवी छहरा गाउँपालिका–७, सुकादमारमा रहेको गाउँभरको गाँजा नष्ट गर्दै प्रहरी।   तस्बिरःमुक्ति/नागरिक

पाल्पा – लागुऔषध र दुर्व्यसनका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ। यही क्रममा रैनादेवी छहरा गाउँपालिका–७, सुकादमारमा रहेको व्यवसायिक गाँजाखेती प्रहरीले नष्ट गरेको छ। 

पाल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विश्वमणी पोखरेलले सात रोपनी जग्गामा लगाइएको करिब १ हजार २ सय बोट गाँजा नष्ट गरिएको बताए। उनी भन्छन्, ‘जिल्लाबाट बाहिरी जिल्लामा गाँजा बिक्री वितरण हुने सूचनाका आधारमा गाँजा खेती नष्ट गर्ने स्ट्रीङ अपरेशन नै सञ्चालन गरेका छौं। गाँजाका बोटहरू काटेर नष्ट गरेका छौं। जिल्लाका अन्य भेगहरूमा रहेका गाँजालाई पूर्ण रुपमा हटाउने अभियानमा छौं।’ उनले आँफै उम्रेका गाँजा भन्दै जोगाउने गरेको स्थानीय सुकादमारका बासिन्दालाई निगरानीमा राखेको बताए। 

पश्चिम पाल्पाको सुकादमारको गाउँमा ५४ घरपरिवारको बस्ति छ। यहाँका स्थानीयले गाईवस्तुलाई भन्दै गाँजा लगाउँदै आएका छन्। कसैले खेतबारीभित्रै त कसैले बारीका कान्लामा गाँजाका बोटलाई मलजल गरेर राखेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले स्थानीय भीमबहादुर बगाले, सावित्रा थामी र गोविन्दबहादुर लम्तरीको खेतबारीमा लगाएको गाँजा नष्ट गरेको हो। गाउँमा रहेका सबै बोट केही दिनमा पूर्ण रुपमा नष्ट गर्ने पाल्पाका प्रहरी प्रमुख पोखरेलले बताए।

यसक्षेत्रमा झण्डै चार रोपनी बारीमा गाँजा खेती लगाएकी ओमकली बगालेले घरमा भएका बाख्रालाई गाँजाका बोट खुवाउँदा चिसो नहुने र जुका नपर्ने कारण गाँजा लगाएको बताइन्। उनी भन्छिन्, ‘हामीले जानेदेखी बारीमा आँफै गाँजाका बोट उम्रिएका छन्। गाईवस्तुलाई खुवाउँदै आएका छौं। हामीले बाहिर बेच्दैनौं।’ स्थानीय गोविन्द लम्तरीले गाँजाका केही बोट भएपनि आफुहरूले कसैलाई नबेचेको दावी गरे। उनले गाउँमा अधिकांश घरमा गाईवस्तुलाई नै भनेर गाँजा राख्ने गरेको बताए। 

जिल्लाको पश्चिम भेगको दूर्गम भेगमा राज्यको कमजोर उपस्थितिलाई फाईदा उठाउँदै यहाँका स्थानीयले खेतबारीमा गाँजा लगाउँदै आएका छन्। रैनादेवी छहरा गाउँपालिका–७, सुकादमारमा चक्रबहादुर खड्काले आफुहरू बच्चा हुँदादेखीनै धेरैथोरै गाँजा गाउँमा देख्दै आएको बताए। ‘अझै पनि चेतनास्तर परिवर्तन भएको छैन्। घरमा गाईभैसीलाई चिसोबाट जोगाउन गाँजा खुवाउने निहुमा लुकाई छिपाई बिक्री गर्नेहरू पनि छन्, उनले भने, ‘गाउँमा बाटो आएको छ। तराईक्षेत्रबाट अपरिचित व्यक्तिहरू आउँछन्। केहीले दुईचार बोट जोगाएका छन्। कसैले धेरै नै जोगाएर पनि बेच्छन् भन्ने सुनेको हो।’

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२–०७३ मा १२, आर्थिक वर्ष २०७३–०७४ मा ९ र आर्थिक वर्ष २०७४–०७५ मा १५ वटा मुद्दा दर्ता भै फछ्र्यौट भएको थियो। युवा पुस्तामा बढ्दो दूव्र्यसन घटाउन प्रहरीले अभियान सञ्चालन गरेको जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०७५ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App