१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्द्रजात्राको आकर्षण मुपात्र जात्रा

भक्तपुर- इन्द्रजात्राका क्रममा आइतबारदेखि भक्तपुरमा मुपात्र (मूल पात्र) जात्रा सुरु हुँदैछ। यो जात्रा तीन दिनसम्म चल्छ। आठ दिने इन्द्रजात्राको क्रममा अन्तिम तीन दिन मुपात्र जात्रा चलाउने परम्परा छ। जात्राको पहिलो दिन भक्तपुर नगरका सल्लागणेश, दोस्रो दिन छुमा गणेश र तेस्रो दिन मसान भैरवसँगसँगै मुपात्र जात्रा चलाइन्छ। पहिलो दिन आइतबार साँझ भक्तपुर नगरपालिका–३ स्थित दतात्रय मन्दिर नजिकको नारायण मन्दिरबाट मुपात्र जात्रा सुरु हुन्छ। मुपात्र नगर परिक्रमा गर्दै सोही स्थान पुगेपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। दोस्रो दिनको जात्रा भक्तपुर दरबार स्क्वायरका चार धाम मन्दिरबाट नगर परिक्रमा गरी दरबार स्क्वायरमै पुगेर समापन हुन्छ। अन्तिम तेस्रो दिन टौमढीस्थित भैरव मन्दिरबाट सुरु भई त्यहीं पुगेर जात्रा सम्पन्न हुन्छ। तीनै दिन भक्तपुरका मानन्धर समुदायबाट यामता (दीप बालेर घुम्ने) को जात्रा पनि हुन्छ।

इन्द्रजात्रा क्रममा हातमा खड्ग लिई मुपात्रलाई नगर घुमाइन्छ। जात्राका बेला मुपात्रले टोलटोलमा ठड्याइएका यम द्य (इन्द्रका छोराको प्रतीकको रुपमा रहेको लिंगो) लाई तीनपल्ट घुमेर खड्गले प्रहार गर्छन्। त्यतिबेला जात्रालुले ठूल्ठूलो स्वरमा 'हया चायगू कप मुपात्र, गेरा म्येसा ला' अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मुपात्र भन्दै जिस्क्याउँछन्। मुपात्रसँगै दायाँबायाँ दुई अन्य व्यक्ति हुन्छन्। धिचा भनिने उनीहरू दैत्यराजाका सहायक अर्थात् मन्त्री हुन्।

यो जात्राका विषयमा विभिन्न भनाइ छन्। संस्कृतिविद् ओम धौभडेलका अनुसार स्वर्गका राजा इन्द्रकी आमा बसुन्धरालाई गणेश चौथीको ब्रत बस्न पारिजातका फूल र खाइसी नामको एक फल (किप) आवश्यक परेको थियो। जुन स्वर्गमा पाइँदैनथ्यो। स्वर्गमा नपाइने भएपछि इन्द्रले छोरा जयन्तलाई मर्त्यलोक खोज्न पठाउँछन्। मर्त्यलोकको एक बगैंचामा फुलिरहेको पारिजातको फूल र फल कसैसँग नसोधी जयन्तले टिपेकै कारण मालीले चोरी आरोपमा समातेर दैत्यराजाकहाँ लैजान्छन्। जयन्तलाई सजाय दिने क्रममा दैत्यराजाले तरबारले प्रहार गर्छन्। त्यही कुराको सम्झना गराउन जात्राको मुपात्रले टोलमा ठ्याइराखेका लिंगोलाई खड्गले प्रहार गर्ने चलन चलेको हो। अन्तमा देवताहरूले युद्ध गरी जयन्तलाई छुटाएर लगेको भनाइ छ। प्रचलित कथनअनुसार त्यही दैत्यराजा नै त्यही मुपात्रा हो जनविश्वास छ।

मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षण रहे पनि हरेक वर्ष मुपात्र हुने व्यक्ति नपाएर समस्या हुने गरेको गुठी संस्थानले जनाएको छ।  

प्रकाशित: २ आश्विन २०७३ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App