६ वैशाख २०८१ बिहीबार
अर्थ

पूर्वको व्यापार घाटा साढे २ खर्ब

विराटनगर – मुलुकका पूर्वी क्षेत्रका भन्सार नाकाहरुबाट गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकहरुसँग भएको व्यापारमा साढे दुई खर्ब घाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७४–७५ मा पूर्वको व्यापार घाटा दुई खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो।

पूर्वी क्षेत्रका भन्सार नाकाबाट निर्यातको तुलनामा आयात ह्वात्तै बढ्दा व्यापार घाटा चुलिएको केन्द्र प्रमुख कृष्ण रेग्मीले बताए । ‘खाद्यान्न, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ आयात ह्वात्तै बढ्दा व्यापार घाटा उच्च हुन पुगेको हो,’ रेग्मीले भने । आव ०७४–७५ मा पूर्वका नाकाबाट दुई खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँका वस्तु आयात भएका छन्। 

अघिल्लो वर्ष एक खर्ब ४७ अर्बको वस्तु तथा सेवा आयात भएको थियो । यो वर्ष  आयातको तुलनामा न्यूनमात्रै निर्यात बढेको छ । आव ०७३–७४ को तुलनामा ०७४–७५ मा ९३ प्रतिशतले आयात बढेको छ भने १६ प्रतिशतले मात्रै निर्यात बढेको छ । अघिल्लो वर्ष २६ अर्ब २९ करोड रुपैयाँको निर्यात भएकोमा आव ०७४–७५ मा न्यून मात्रामा बढेर ३० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । पूर्वी नाकाबाट दाल, मल, चिनी, क्लिंकर, पेट्रोलियम, सुपारी, आइरन एन्ड स्टिल्स, मेसिनरी, जनावरको बोसो, जिपसम लगायत वस्तुको आयात उच्चदरले बढेको छ। 

पूर्वबाट सबैभन्दा बढी मूल्यको आइरन एन्ड स्टिल्सको आयात भएको छ । आव ०७४–७५ मा पूर्वी नाकाबाट ४४ अर्ब १९ करोड रुपैयाँको आइरन एन्ड स्टिल्स आयात भएको छ । त्यस्तै ३८ अर्ब ९६ करोड रुपैयाँको पेट्रोलियम, मिल मेसिनरी १३ अर्ब २८ करोड, प्लास्टिक १३ अर्ब ३० करोड, जनावरको बोसो तथा वनस्पती तेल ११ अर्ब ५८ करोड, सिमेन्ट क्लिंकर ११ अर्ब १२ करोड र रासायनिक मल १३ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ। 

पूर्वी नाकाबाट निर्यात भएका वस्तुमा टेक्सटायल, आइरन एन्ड स्टिल्स, अलैंची, चियालगायत रहेका छन् । पूर्वबाट सबैभन्दा बढी ६ अर्ब १६ करोड रुपैयाँको टेक्सटायल निर्यात भएको छ । त्यस्तै चार अर्ब ८७ करोड रुपैयाँको आइरन एन्ड स्टिल्स, चार अर्ब ६० करोडको अलैंची, तीन अर्ब दुई करोडको चिया, चार अर्ब ९७ करोड रुपैयाँको जुटका सामान निर्यात भएको छ । पूर्वबाट कार्पेट, चाउचाउ, खुँदो, रुद्राक्ष दाना, चियाको पातलगायत वस्तु निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरले जनाएको छ। 

सरकारले गरेको नीतिगत परिवर्तनले पनि पूर्वी नाकाको व्यापार घाटा बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरका प्रमुख रेग्मीले बताए । ‘तेस्रो मुलुकबाट आयात गरिएका वस्तुहरू रेलमार्ग हुँदै जोगवनीसम्म आउनु, क्लिंकर, सवारीसाधन, रासायनिक मल पूर्वका नाकाबाट आयात हुन थाल्नु पनि व्यापार घाटा बढ्नुको कारण हो ।’ यस्तै कृषिजन्य वस्तुमा पूर्वाञ्चल परनिर्भर बन्दै गएकाले पनि व्यापार घाटा बढाउन मद्दत गरेको रेग्मीले बताए।

प्रकाशित: २७ भाद्र २०७५ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App