आजका लागि बिपी सन्देश

बुधबार, २७ भदौ २०७५, ०९ : ३८ पुरुषोत्तम दाहाल

35


‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र मोदी आइन्मार्फत यस्तो सन्देश दिने बिपी कोइरालाको १०५ औंँजन्मदिवस नेपाली कांग्रेस र उहाँका अनुयायीले भदौ २४ गते गच्छेअनुसार मनाए । बिपीले नेपाली राजनीति र साहित्य दुवै विधामा विचार आन्दोलनको नायकत्व गरेको इतिहास प्रमाणित छ । ठूलो बन्ने आममहत्वाकांक्षा हुन्छ । यो मानवीय कमजोरी र स्वाभाविक प्रवृत्ति पनि हो । असल बन्न खोज्नु आदर्श वा ढोंग चरित्र मान्नेहरू समाजमा पर्याप्त छन् ।

साहित्यमार्फत बिपीले मानिसलाई विवेकशील बन्न जुन सन्देश दिनुभएको छ त्योभन्दा बढी जातीय अन्तर्घुलनका लागि प्रेरित गर्नुभएको छ । सुम्निमा उपन्यास सामाजिक अन्तर्घुलनको एक विशिष्ठ मनोवैज्ञानिक रचना हो भन्नेमा द्विविधा छैन । अनैतिक, व्यभिचार, झुट, बदमासी, ठगी, अपराधी चिन्तन, शोषण, विभेद, छुवाछूत, निरंकुशता, अहंकार आदि प्रवृत्ति चिर्न बिपीले असल मानिस खोजी गर्नुभएको छ भने समाजमा विद्यमान जातीय विभेदको लक्ष्मण रेखा समाप्त पार्न सुम्निमा आविष्कार गर्नुभएको छ।

वास्तवमा असल मान्छे र अन्तर्घुलित समाज निर्माण गर्न सकेमा नेपालको गरिबी, पछौटेपन, अचेतना, क्रोध र हिंसा सबै अन्त्य भएर शान्त, समृद्ध र सुखी नेपाल निर्माण गर्न सहज हुनेछ । तर के असल मानिस हामी सबैको लक्ष्य हुनेछ ? के कुनै ठूलो बन्ने आकांक्षाबाट हामी मुक्त हुन सक्छौँ त ?विविधताले भरिपूर्ण नेपाली समाज अन्तर्घुलनका लागि तयार छ त ? जातीय पहिचानको खोजी भइरहेको सन्दर्भमा अन्तर्घुलन कति सम्भव हुन्छ ? यी प्रश्न आजको सामाजिक मनोविज्ञानसँग जोडिएका हुन्। 

हरेक हप्ताजसो पत्रकार पक्राउ पर्न लागेका छन् । शासकका आँखामा थोरै आलोचक देखिएमा, विरोध र व्यंग्यका शब्द प्रयोग भएमा पत्रकारले प्रहरी कारबाही सामना गर्नैपर्नेभएको छ।

बिपी नेपालमा राजनीतिक स्वतन्त्रता र समाजवादी विचारको प्रथम भाष्यकार हुनुहुन्थ्यो । उहाँ आफ्नो विश्वासअनुसार नै जातिप्रथा अन्त्य गर्न चाहनुहुन्थ्यो । राजनीतिक स्वतन्त्रताको जमिनमा उभिएर समाजवादी आर्थिक सामाजिक रूपान्तरणलाई उहाँले लक्ष्य बनाउनुभएको थियो । बिपीका कुनै पनि साहित्यिक कृतिमा राजनीतिक विचारको आग्रह देखिँदैेन ।निर्दलीय पञ्चायतले दिएको कठोर कारावासको उपयोग गर्दै बिपीले नेपाली साहित्यमा अनेक अनमोल रचना प्रदान गर्नुहुँदा कतिपयले राजनीतिको विशेष रंग त्यस साहित्यमा देख्न पनि सक्छन् । यद्यपि साहित्य राजनीति निरपेक्ष हुँदैन भने विचार साहित्य निरपेक्ष हुनसक्देैन।

समाजको मनोविज्ञान, सुखदुःख, इतिहास, आरोह–अवरोह, निजी अनुभव अनेक विषय रचनागर्भमा हुन्छन् । तिनलाई विम्ब बनाएर चित्रकारले कुचीमार्फत रंग भरेजस्तै लेखक साहित्यकारले अक्षरमा समेट्ने काम गर्छन् । धेरैले भन्ने गर्छन्– यदि बिपीलाई राजा महेन्द्रले त्यसरी जेल नहालेका भए, लोकतन्त्रको अपहरण नगरेका भए, नेपालीको स्वतन्त्रता कुण्ठित पार्ने काम नगरेका भए सम्भवतः नेपाली समाज बिपीको साहित्यिक रचनाहरूबाट विमुख हुनुपर्ने थियो । यो तर्क केही हदसम्म सही छ । साहित्यका रूपमा मानवीय चेतना र विवेकलाई बिपीले जुनरूपमा प्रस्तुत गर्नुभएको छ उहाँले कठोर कारावास नभोग्नु भएको भए ती अनमोल चिन्तनचेतबाट निश्चय पनि नेपाली समाज विमुख हुनुपर्ने थियो भन्न सकिन्छ ।तर असल मानिसको खोजी गर्ने बिपीले जेलमुक्तिसँगै किन हतियार उठाउने निर्णय गर्नुभयो ? मेरा मनमा सधैँ यो प्रश्नले चिमोटिरहेको छ। 

प्रणाली लोकतान्त्रिक मात्र भएर पुग्दैन । प्रणालीका संयन्त्रहरूमा बसेर राज्यसत्ता सञ्चालन गर्नेहरूको सोच पनि लोकतान्त्रिक हुनुपर्छ । दुर्भाग्यवस सत्तामा बस्नेहरूमा लोकतान्त्रिक आचरण क्रमशः निष्क्रिय हुँदै गएको देखिन्छ ।

आखिर असल मानिसको खोजी राजनीतिमा पनि हुन्छ । राजनीति यसै पनि राज्यको मूल मियो नै हो । परिवर्तनको सन्दर्भमा समेत असल मानिसको खोजी हुनुपर्छ । के हिंसा असल मानिसको स्वभाव र  माध्यम  हो त ? शासकीय महत्वाकांक्षा, सामूहिक वा व्यक्तिगत प्रतिशोधद्वारा निर्दिष्ट हिंसा असल मानिसको चरित्र कसरी हुनसक्छ ? उहाँले मोदी आइन्, हिट्लर र यहुदी कुनै पनि कृतिमा हिंसाको पक्ष लिनुभएको छैन । कठोर कारावासमा बस्दा हिंसा विरोधी असल मान्छेको खोजी गर्ने बिपीले राजनीतिक परिवर्तनकालागि किन हतियार उठाउन पुग्नुभयो ? के मानिस अनिप्षित समयमा परिस्थितिको बन्दी हुन बाध्य हुन्छ ? कि मानिसलाई परिस्थिति र समयले असल वा खराब सिद्ध गर्छ ? अर्थात् समयको दबाबअनुसार मानिसले आफ्नो विचार र व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ ? कदाचित यी प्रश्नको उत्तर नेपाली साहित्यका विज्ञ विवेचकहरूबाट मिहीन विश्लेषणकासाथ सार्वजनिक हुन सक्नेछ । यो पंक्तिकार साहित्यका अन्तरनिहीत आसयहरूको विवेचना गर्ने धृष्टता गर्दैन र त्यो यसको विधा पनि होइन । तर मानवताको उत्कर्ष खोजी गर्ने बिपीका लागि कुन बाध्यताले प्रेरित ग¥यो र उहाँले अन्तरविवेकबोध भन्दा भिन्न हिंसाको राजनीतिलाई केही क्षण अवलम्वन गर्नुभयो, त्यो भने विवेच्य हुनुपर्छ भन्नेमा दृढ छ।

२००७ सालको सन्दर्भ फरक थियो । हतियारबाट नै परिवर्तनको अवस्था सिर्जना गर्नुपर्ने शायद बाध्यता पनि थियो । राणा शासनको कमजोर अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति तथा परिवर्तनको राष्ट्रिय आवश्यकताले समेत २००७ को हतियार प्रयोगलाई सिद्ध गर्न सकिन्छ । तर त्यसपछिका कुनै पनि हतियार प्रयोगलाई सिद्ध गर्नसक्ने अवस्था छैन । २०१८ को सशस्त्र आन्दोलन तत्कालको प्रतिक्रिया थियो भने झापा विद्रोहको रहस्यपूर्ण गर्भाशय अझै स्पष्ट भएको छैन । २०४२ को बम काण्डले त परिवर्तनको समयलाई लम्ब्याउने काम नै गरेको थियो ।२०५२ देखि २०६२ सम्म चलेको सशस्त्र हिंसाले मानवताका सबै सीमा उल्लंघन गरेकोसबैलाई थाहा छ । त्यसपछिका अनेक छिटपुट हिंसाका घटनाले राजनीतिमा विवेक र मानव मर्यादालाई धेरैपटक चुनौती दिएका छन् । अर्थात् परिवर्तनको आधार हिंसालाई बनाउने योजना असल मान्छे निर्माणका अवरोध हुन् भन्ने स्पष्ट देख्न सकिन्छ । कठोर कारावासमा बसेर यस सत्यलाई अभिलेखबद्ध गर्ने क्रममा असल मान्छे खोज्ने बिपी कोइरालाले हिंसाको बाटो रोज्नु यसैकारण आश्चर्यपूर्ण लाग्छ ।  सम्भवतः कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधी जस्ता बिपीका अनन्य सहयोगी र हितैषीले हिंसा अस्वीकार गर्नुको कारण र अर्थ पनि यस्तै केही हुनसक्छ।

साहित्यमा बिपीलाई सबैले, सबै पक्षले सहजरूपमा स्वीकार गरेका थिए हिजोका दिनमा । तर राजनीतिमा उहाँलाई सदा विवादमा राख्ने प्रयास भएको थियो ।नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालहरू जस्तै गरी नवीन धार र आयाम दिनेमध्ये बिपी एक हुनुहुन्थ्यो । राजनीतिमा भने नवीनधारको भाष्यकार बिपी एक्लै हुनुभएको कारणले पनि शायद अनेक आलोचक सतहमा देखा परे । साम्यवादमा विश्वास गर्नेहरू र राजाको निरंकुशता वरण गर्नेहरूले बिपीलाई सदा अनेक कुतर्कको सहारामा आलोचना गरिरहेका थिए । उनीहरूले निर्दलीय पञ्चायतकालभर र त्यसपछिका अनेक वर्षसम्म बिपीलाई राजनीतिक प्रहारको केन्द्रमा राखिरहेका थिए । तर सात दशकपछि विस्तारै सबैका लागि बिपी विचार समानरूपमा ग्राह्य हुनपुगेको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाले बिपीलाई सबैका माझमा स्थापित गरिदिएको छ । राजाको कालखण्डमा बिपीलाई राष्ट्रघाती अराष्ट्रिय तत्व देख्ने कमल थापाहरू र २००६ सालदेखिनै निरन्तर बिपीलाई पुँजीवादीदलाल देख्ने नेपाल कम्युनिस्ट पार्टीका आजका शीर्ष पुष्पकमल दाहालहरूले समेत अहिले बिपीका विचारको सान्दर्भिकता देख्न लागेका छन् । उनीहरूको चिन्ता केमा छ भने बिपीको अनुयायी राजनीतिक दल नेपाली कांग्रेसले र कांग्रेसमा आबद्धहरूले बिपीका विचार अवलम्बन गरेका छैनन् । अर्थात् उनीहरुको चाहना स्पष्ट छ– नेपाली कांग्रेसले बिपी विचारलाई जीवनपद्धतिका रूपमा वरण गर्नुपर्छ।

बिपीले दिनुभएका धेरै विचार छन् जसलाई समयसन्दर्भमा परिष्कार गर्न सकिन्छ । विचार अमर त हुन्छन् तर व्यवहारतः सदा प्रयोग योग्य नहुनसक्छन् । तर बिपीका केही शास्वत विचार छन् जसलाई निरन्तर र युगौंयुगसम्म जीवन पद्धतिका रूपमा व्यवहार गर्नुपर्ने हुन्छ । जस्तो असल मान्छे हुन दिनुभएको सन्देश र सामाजिक अन्तर्घुलनको विषय । अहिले नेपाली कांग्रेसले पार्टी पंक्तिमा निरन्तर असल पक्षलाई जीवन पद्धति बनाउन प्रेरित गरिरहेको छ । यतिखेर नेपाली कांग्रेसले बिपी विचारको सान्दर्भिकतालाई अनुभूत गर्दै असल मान्छे, असल लोकतन्त्रवादी र असल कांग्रेसकालागिप्रशिक्षित गर्न लागेको छ । असल नभएसम्म जनताको मानिस हुन सक्देैन, जनतासँग जोडिनका लागि असल हुनै पर्छ । यतिखेर लोकतन्त्र छ । प्रणाली लोकतान्त्रिक मात्र भएर पुग्दैन । प्रणालीका संयन्त्रहरूमा बसेर राज्यसत्ता सञ्चालन गर्नेहरूको सोच पनि लोकतान्त्रिक हुनुपर्छ । दुर्भाग्यवस सत्तामा बस्नेहरूमा लोकतान्त्रिक आचरण क्रमशः निष्क्रिय हुँदै गएको देखिन्छ। 

अहिले सबैभन्दा बढी अलोकतान्त्रिक आचरणको प्रहार नेपाली प्रेसमाथि केन्द्रित भइरहेको छ । हरेक हप्ताजसो पत्रकार पक्राउ पर्न लागेका छन् । शासकका आँखामा थोरै आलोचक देखिएमा, विरोध र व्यंग्यका शब्द प्रयोग भएमा पत्रकारले प्रहरी कारबाही सामना गर्नैपर्नेभएको छ । लोकतन्त्रमा सीमारहित स्वतन्त्रता हुन्छ । स्वतन्त्रताको सीमारहित सन्दर्भमा कृष्णप्रसाद भट्टराईलाई यसबेला नेपाली प्रेसले सम्झनुपर्ने हुन्छ । उहाँ भन्नुहुन्थ्यो– प्रेसले पूर्ण स्वतन्त्रता उपयोग गर्नुपर्छ । तर नेपाली प्रेसले लोकतान्त्रिक गणतन्त्रमा पूर्ण स्वतन्त्रता खोजेको नभए पनि मर्यादित स्वतन्त्रता र अन्य लोकतान्त्रिक राष्ट्रको प्रेसले पाएसरह स्वतन्त्रता उपयोग गर्न चाहेको अवस्था छ । लोकतान्त्रिक मूल्यअनुरूपको स्वतन्त्रतालाई समेत निषेध गर्न तत्पर शासकीय चिन्तनविरुद्ध जागरणको खाँचो जति छ त्यति नै असल मान्छे, असल लोकतन्त्रवादी र असल कांग्रेसको आवश्यकता छ । बिपी विचारको सम्मान गर्ने हो भने असल चरित्र र अन्तर्घुलित समाज निर्माणमा सबैको विश्वास र लगाव हुनु जरुरी छ । कांग्रेसजनका लागि त योभन्दा पृथक मार्ग देखिँदेैन।







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...