८ वैशाख २०८१ शनिबार
कला

‘कथा काठमाडौं’लाई बिकास बोर्डको चेतावनी

काठमाडौं – चलचित्र बिकास बोर्डले दुई हप्तापछि प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै एउटा च्यानलबाट हटाउन चेतावनी दिएको छ।

बोर्ड अध्यक्ष निकिता पौडेल हस्ताक्षरित पत्रमा फिल्मको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र प्रोमो हटाइ सोको लिखित जानकारी बोर्ड समक्ष प्रस्तुत गर्न पत्राचार गरेको छ । पत्रमा निर्माण टिमले प्रोमो नहटाएमा  चलचित्र निर्माण,प्रदर्शन तथा वितरण नियमावली अनुसार कारवाही गरिने पनि बताएको छ। 

फिल्मकी निर्देशक संगीता श्रेष्ठले भने बोर्डको चिठीले आफूलाई अचम्भितसँगै थप पीडित बनाएको बताइन् । ‘सामाजिक सञ्जालमा उल्टै मेरो सिर्जना जथाभावी प्रयोग गरेर पीडित बनाइएको छ । तर मैले नै न्याय माग्ने जाने ठाउँमा कारवाही चेतावनीसहितको पत्र पाउँदा थप पीडित भएको महसुस गरेकी छु,’ संगीताले भनिन्, ‘बोर्डले अझै पत्रमा नै प्रोमो अश्लिल भएको ठोकुवा गरेको छ । कुन सामाग्री के हो भनेर ठोकुवा गर्ने निकाय पनि बोर्ड हो कि हैन यसमा पनि दुविधामा परेकी छु । तर मैले न अश्लिल फिल्म बनाएकी छु, न मेरो प्रोमो नै अश्लिल छ।’

निर्माण टिमले महिना दिन अघि फिल्मभित्र रहेको ‘रातका कुरा’ शीर्षकको गीत सार्वजनिक गरेको थियो जसमा अभिनेता प्रमोद अग्रहरी र अभिनेत्री प्रियंका कार्कीले अन्तरंग दृश्य दिएका छन् । सोही गीतको दृश्यलाई थुप्र्रै युट्युब च्यानलले राखेका छन् । बोर्डले तिनैमध्ये एकमा रहेको सामाग्री हटाउन पत्राचार गरेको हो । यता संगीताले भने बोर्डले पत्राचार गर्नु  अघि नै आफूले महानगरीय प्रहरी अपराध महाशाखामा जथाभावी राखिएका सामाग्री हटाउन निवेदन दिएको बताइन्।

‘म जिम्मेवार निर्देशक हुँ । मेरो सिर्जना पोर्न हबमा समेत गलत मनसायले प्रयोग भएको देखेपछि आफैंले त्यो जिम्मेवारी वोध गर्दै कारवाहीका लागि निवेदन दिएकी थिएँ । तर अहिलेसम्म प्रहरीको तर्फबाट केही कदम चालेको जानकारी पाएको छैन,’ संगीताले भनिन् ,‘तर उल्टै बोर्डले मलाई नै कारवाहीको चेतावनी दिँदा मेरो सिर्जनात्मक स्वतन्त्रतामाथि नै प्रहार भएको महसुस भएको छ।’ 

बोर्डको पत्रका सम्बन्धमा जानकारी लिन खोज्दा अध्यक्ष निकिता पौडेलसँग भने सम्पर्क हुन सकेन । नागरिकले बारम्बार फोन गर्दा पनि उनको फोन उठेन । बोर्डले यसअघि पनि ‘गाँजा बाजा’नामले दुव्र्यसनी बढाउने भन्दै फिल्मको नाम नै राख्नबाट रोकेको थियो । पछि फिल्म रिलिज हुँदा बोर्डले दाबी गरेजस्तो केही पनि थिएन। 

प्रमोद अग्रहरी र प्रियंका कार्कीसँगै फिल्ममा सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी आदि कलाकारको अभिनय रहेको छ । असोज १२ गते प्रदर्शनमा आउने फिल्मले काठमाडौंको पृष्ठभूमिमा घट्ने केही थान पात्रको कथालाई प्रस्तुत गरेको छ। 

प्रकाशित: २७ भाद्र २०७५ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App