coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री हेरफेर हल्ला मात्रै : गृहमन्त्री थापा

बनेपा – गृहमन्त्री रामबहादुर थापाले मन्त्रीको हेरफेर हल्लामात्रै भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच केही मन्त्री हेरफरका लागि भेट भएको भनी आएका समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूले भनिसक्नु भयो कि यो सबै हल्ला हो । सरकारको फेरबदल गर्ने भन्ने कुनै योजना छैन,’ जिल्ला सहकारी संघ काभ्रेको स्वर्ण महोत्सव उद्घाटनपछि सञ्चारकर्मीसँगको भेटमा थापाले भने।

समाचार लेखेकै भरमा पत्रकारलाई हत्कडी लगाएको र मुद्दा चलाएको भन्नेबारे सोधिएको प्रश्नमा मन्त्री थापाले भने, ‘गृह मन्त्रालयको काम नै सुरक्षा कायम गर्ने हो । त्यसको निम्ति आवश्यक कदम चालिएको हो,’।

पार्टीको एकता प्रक्रिया चलिरहेको र पूर्ण नभएकोले केही अस्तव्यस्त जस्तो देखिएको थापाको भनाइ छ । ‘यतिखेर संक्रमणकै स्थिति भएकाले अलिकता अस्तव्यस्त जस्तो देखिएको हो । पार्टीभित्र असन्तोष र असहमति भएको भन्ने कुरा निराधार हो,’ उनले भने।

निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे छानबिन भइरहेको थापाले बताए । ‘छानबिन समितिका एकजना सदस्यले राजीनामा दिएका छन् । किन राजीनामा दिए भन्नेमा हामी छानबिन गर्दैछौं । किनकि हिजोमात्रै त्यो घटना भएकाले अहिले छानबिनकै क्रममा छौं,’ मन्त्री थापाले भने।

प्रकाशित: २७ भाद्र २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App