coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकीकरण गर्न राणालाई दबाब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकीकरण प्रक्रिया अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपति राणामाथि फेरि दबाब बढ्न थालेको छ। पार्टी नेतासमेत रहेका पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दसहितका नेताले एकीकरणका लागि अध्यक्ष राणालाई ज्ञापनपत्र बुझाएको केही दिन बित्न नपाउँदै जिल्ला अध्यक्षहरूले दबाब दिन लागेका हुन्। रामेछाप जिल्ला अध्यक्षको अगुवाइमा काठमाडौं, भक्तपुर, धादिङसहित ४६ जिल्ला अध्यक्षले आइतबार दिउँसो २ बजे राणालाई एकताप्रक्रिया तत्काल अघि बढाउन ज्ञापनपत्र बुझाउन लागेका छन्। उनीहरुले केन्द्रीय समितिको साउन १२ गतेको निर्णयअनुसार राप्रपा नेपालसँग एकीकरणका लागि आग्रह गर्न लागेका हुन्।

यसअघि भदौ ७ गते नेता चन्दसहित महामन्त्री बुद्धिमान तामाङ, प्रेमबहादुर भण्डारी, भीमप्रसाद गौचन, दुर्गा श्रेष्ठ, रोशन कार्की, रवीन्द्रप्रताप शाह, नीरसिंह ठकुरी, भुवन पाठक, तोरण गुरुङ, भरत पाठक, जयन्त चन्दसहित ४६ नेताले १५ दिनभित्र एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। 

केन्द्रीय समितिले राप्रपा नेपालसँग एकीकरण गर्ने सैद्धान्तिक निर्णय गरिसके पनि विधानलाई कारण देखाउँदै राणा त्यसबाट पछि हटेपछि एकता रोकिएको छ। एकीकृत पार्टीका राष्ट्रिय र पार्टी गरी दुई अध्यक्ष व्यवस्था गरिएकोमा राप्रपाले राष्ट्रिय अध्यक्षको क्षेत्राधिकार निकै कम भएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले साउन २२ गते संयुक्त विज्ञप्ति जारी २५ गते एकीकरण हुने घोषणा गरे पनि राणा अन्तरिम विधानको व्याख्या स्पष्ट हुनुपर्ने भन्दै पछि हटेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयसमेत दुई दलबीच विवादको कारण बन्दै आएको छ।

प्रकाशित: २ आश्विन २०७३ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App