७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पोखरा – झरीले प्रभावित बनाएको विभागीय डर्बीमा नेपाल आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब पोखराको लामाचौरमा आयोजित तीज महोत्सवअन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार दिउँसो लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेलमैदानमा भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलसामु नेपाल आर्मीको महिला टोली प्रतिस्पर्धात्मक खेल खेल्दै अन्ततः सोझो सेटमा पराजित हुन पुग्यो । सशस्त्रले पहिलो सेट २५–२२ मा आफ्नो पक्षमा ल्याउँदा आर्मीले कडा चुनौती प्रस्तुत गर्यो। 

नेपाली भलिबल टोलीकी प्रभावशाली स्पाइकर सरस्वती चौधरीको प्रेरणादायी खेलमा आर्मीमाथि जित निकाल्न सशस्त्रलाई सहज भने हुन सकेन । दोस्रो सेटमा २५–२० मा सक्दै सोझो सेटमा विजयी हुने दिशामा सशस्त्र उन्मुख हुन पुग्यो । अन्तिम सेट पनि २५–२१ ले सक्दै एपिएफ फाइनल पुग्यो। 

यसै गरी दोस्रो सेमिफाइनलमा शिवम् न्यु डायमन्डले चितवन टाइगर्सलाई सोझो सेटमै पन्छायो । पहिलो सेट २५–१७ ले सजिलै आफ्नो पक्षमा ल्याएको न्यु डायमन्डले दोस्रो सेट भने कठिन रूपमा  २५–२३ मा आफ्नो बनायो । तेस्रो सेटमा २५–१८ को विजयी नतिजा निकाल्दै पोखरामा बनाएको गर्विलो छविलाई जोगाउन उद्यत देखियो । शिवम् न्यु डायमन्ड र एपिएफ क्लब गत वर्षका फाइनलिस्ट टोली हुन्। 

प्रतियोगितामा विजेता टिमले एक लाख रुपैयाँ र दोस्रो हुनेले ६५ हजारका साथमा ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपाल पुलिस र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिले प्रतियोगितामा केवल ५ टोलीले मात्रै प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट क्विकर तथा बेस्ट कोचलाई विधागत रूपमा समेत पुरस्कृत गरिने आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ। 

प्रकाशित: २६ भाद्र २०७५ २३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App