coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं – नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

समूह ‘ए’ बाट आयोजक बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले बुधबार समूह ‘बी’ को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । माल्दिभ्ससँग नेपालले विगतमा सखद नतिजा निकाल्न नसके पनि सेमिफाइनलमा फरक नतिजा आउनेमा नेपाली टोली ढुक्क देखिन्छ।

‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ । टोलीले प्रत्येक खेलमा सुधार गरिरहेको छ । खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन्,’ पहिलो खेलमा पाकिस्तानसँग पराजित भए पनि बाँकी दुई खेलमा विजयी नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको नेपालका मुख्य प्रशिक्षक महर्जनले थपे, ‘वैकल्पिक खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यसअघिको प्रदर्शन दोहोर्याउन सक्यौं भने हामी माल्दिभ्सलाई हराउन सक्षम छौं।’

विगतका नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन । १५ खेलमध्ये नेपालले ४ खेलमा मात्र जित निकाल्न सकेको छ भने ४ खेल बराबरी खेलेको छ । बाँकी ७ खेलमा माल्दिभ्सले बाजी मारेको छ । पछिल्लो समय नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४–० को नतिजा निकालेको थियो । नेपालले माल्दिभ्सलाई हराएको त्यही बंगबन्धु राष्ट्रिय रंगशाला हो जहाँ बुधबार पुनः दुवै आमनेसामने हुँदै छन् । उक्त खेलमा नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए।

‘माल्दिभ्स विगतमा भन्दा केही कमजोर देखिए पनि खेल्ने शैली उस्तै छ । त्यसैले उनीहरुविरुद्ध सचेत हुनु आवश्यक छ । खेलको अवस्था हेरेर रणनीति बनाउँछौं।’

साफ च्याम्पियनसिपमा ५ पटक सेमिफाइनल खेलेको नेपालले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । २०११ र २०१३ को सेमिफाइनलमा नेपाल माल्दिभ्ससँगै पराजित भएको थियो । तर, मुख्य प्रशिक्षक महर्जनले माल्दिभ्सविरुद्ध विगतको नतिजा राम्रो नरहे पनि बुधबार नेपालले अहिलेसम्म हासिल गर्न नसकेको नतिजा आउने बताए । पछिल्ला दुई खेल बंगबन्धु र १२औं दक्षिण एसियाली खेलकुद (यु–२३ टोली) मा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै महर्जनले साफ च्याम्पियनसिप फरक प्रतियोगिता भए पनि विजय हासिल गर्दै फाइनलमा स्थान बनाउने बताए। 

‘माल्दिभ्स विगतमा भन्दा केही कमजोर देखिए पनि खेल्ने शैली उस्तै छ । त्यसैले उनीहरुविरुद्ध सचेत हुनु आवश्यक छ । खेलको अवस्था हेरेर रणनीति बनाउँछौं,’ मुख्य प्रशिक्षक महर्जनले थपे, ‘सारा नेपाली समर्थकले विगतमा जस्तै बुधबार पनि रंगशालामा आएर समर्थन गरिदिनुहुन्छ भन्ने विश्वास छ।’ 

१९९९ सागको सेमिफाइनलमा २–१ ले जितेको नेपालले २०१६ को बंगबन्धुमा माल्दिभ्सलाई पराजित गरेको थियो । भारतमा सम्पन्न सागमा नेपाल (यु–२३) माल्दिभ्सलाई ३–४ ले पराजित गरेको थियो। 

नेपाली टोलीका कप्तान विराज महर्जनले माल्दिभ्सविरुद्धको खेलका लागि आफूहरू तयार रहेको बताए । ‘माल्दिभ्सविरुद्ध आत्मविश्वासी भएर खेल्नेछौं । उनीहरू कमजोर प्रतिद्वन्द्वी होइनन् त्यसैले धेरै आत्मविश्वासी हुनु पनि राम्रो हुँदैन,’ बंगलादेशविरुद्ध बेन्चमै थन्किएका नेपालका कप्तान महर्जनले थपे, ‘हामी जितकै लागि खेल्नेछौं । माल्दिभ्सलाई हराएर सारा नेपालीलाई खुसी दिनेमा विश्वस्त छौं।’

समूह ‘बी’ भारतसँग २–० ले पराजित भएको माल्दिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकासँग समान १ अंक भए पनि गोलाप्रथामा माल्दिभ्स भाग्यमानी बनेको थियो । माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्वन्द्वी भएको भन्दै सचेत भएर खेल्ने बताए । ‘नेपाल बलियो प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ । तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्नेछौं।’

प्रकाशित: २७ भाद्र २०७५ ००:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App