coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजाको बदनाम गर्न 'झ्याल्चा'

तस्बिर साभार : उमेश श्रेष्ठ/माइसंसार

ललितपुर- रात छिप्पिँदै थियो। घडीमा ९ बज्दै गर्दा ललितपुरको च्यासल चोकमा मानिसको भिडभाड बढ्दै थियो। चारैतिर मधुरो बत्ती। सजिलै मानिसको अनुहार छुट्याउन नसकिने! 'झ्याल्चा' चपा भन्ने एउटा पुरानो घरको उत्तरपट्टि मोहडामा ठूलो झ्याल देखिन्छ। त्यही झ्यालमा टाँगिएको थियो सेतो पर्दा। भित्रको उज्यालोले पर्दामा एकाएक दुई मानवाकृति सलबलाएको देखिन्छ। एउटा पुरुष र अर्को महिला। मानवाकृति ठम्याउन गाह्रो पर्दैन। त्यति नै बेला नेवारी संगीत गुन्जिन्छ। संगीतको तालमा ती दुई आकृति नजिकिन्छन्। एकआपासमा चुम्बन गर्छन्, अंकमाल गर्छन्, ...!

पर्दामा देखिएको दृश्यले पुरानो घरको आँगनमा खचाखच मानिसको मनमा अनेकौँ तरंग पैदा हुन्छ। कोही लाज मान्छन्। कोही चुपचाप पर्दामा नियाल्छन्। कसैलाई पर्दामा देखिएको दृश्यले काउकुती लागेजस्तो हुन्छ। कोही रोमाञ्चित भएर ताली बजाउँछन्। सिटी फुक्छन्। बिहीबार राति पाटनको च्यासलस्थित चपाःछेँमा योगनरेन्› मल्लले बनाएको मल्लकालीन घरको एउटा झ्यालमा देखाइने जात्राको प्रसंग हो यो। यो जात्रा पहिलोपटक हेर्न आउनेका लागि अनौठो लाग्छ।

पर्दामा देखिएको मानवाकृतिबीच यौन हाउभाउ मात्र होइन, यौनासनसमेत देखाइन्छ। जात्रा हेर्न आएका बच्चाहरू अचम्म मान्दै त्यसबारे अभिभावकलाई सोध्दै थिए भने पाका र जात्रा बुझेका आफ्नै धुनमा देखिन्थे।

इन्›जात्राका बेला देखाइने यो 'झ्याल्चा' जात्रा पाटनका राजा योगनरेन्› मल्लको पालादेखि सुरु भएको कथन छ। जात्रा आरम्भको सन्दर्भ उठाउँदै ९७ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, 'एक दिन राजा योगनरेन्› मल्ल पाटनतिर जाँदै गर्दा च्यासलको इनारनजिकै एउटी व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन्। निकै सुन्दर युवती देखेर मुग्ध राजाले उनलाई बिहे गरेर दोस्रो रानीका रुपमा भिœयाएपछि जेठी रानीलाई असह्य हुन्छ। जेठी रानीले च्यासलका अवाल (कुम्हाले) उठाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न झ्याल्चा देखाउन लगाइन्,' उनले भने, 'झ्या भनेको झ्याल र ल्चा भनेको देखाउने हो। ती व्यञ्जनकार सुन्दरी केटीप्रति राजा आकर्षित भएपछि जेठी पत्नीले समाजमा योगनरेन्द्रको बद्नाम गर्न सुरु गरेको जात्रा हो यो।'

पाटन दरबार स्क्वायरमा उक्त जात्राको स्मरण गराउने योगनरेन्› मल्ल र उनका दुई रानीको सालिक अझै पनि छ। 'झ्याल्चा' पाँच दृश्यमा देखाउने चलन छ। दृश्यबारे जात्राको खोजकर्ता सुरज व्यञ्जनकार भन्छन्, 'देखाइएका दृश्यमध्ये पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्दै योमरी खान्छन्। दोस्रो चरणमा युवतीले बत्ती काटेको दृश्य हुन्छ। युवतीले झुल्दै बत्ती कात्दा युवकले झस्काइरहन्छ। तेस्रोमा युवकले युवतीलाई सम्भोगका लागि आग्रह गर्छ। युवती सहमत नहुँदानहुँदै दुईबीच यौन क्रियाकलाप हुन्छ। चौथो चरणमा युवतीले नै आग्रह गर्छिन्। युवक मान्दैनन्। पछि यौनलीला हुन्छ। पाँचौंमा युवकले आग्रह गर्छ। युवती मञ्जुरी जनाउँछिन् र अन्तिममा फेरि पूजा गरेर 'झ्याल्चा' सकिन्छ।'

उनका अनुसार तत्कालीन समयमा प्रविधिको प्रयोग नभएको र राजा योगनरेन्द्र मल्लकी जेठी रानीको आग्रहमा घरको झ्यालअगाडि पर्दा राखी मधुर उज्यालोमा राजाविरुद्ध यस्तो जात्रा मनाउन थालिएको थियो।

जात्राको छायामा केटा र केटी देखाइए पनि वास्तवमा अभिनय गर्ने दुवै केटा नै हुने परम्परा छ। रातिको समयमा केटीमान्छेले यसरी खुलेर जात्रा देखाउन नसक्ने हुँदा यसका पात्र केटा मान्छेलाई नै बनाउने गरेको स्थानीय अच्यूत व्यञ्जनकार बताउँछन्।

यो जात्राको प्रचलनबारे अर्को प्रसंग पनि छ। खोजकर्ता सुरज व्यञ्जनकारकै भनाइ अनुसार च्यासल चोकमा १७ वर्षीय चिमथकुं नामकी सुन्दर युवती देख्दा घुम्दै आएका राजा मोहित भए र ती युवतीलाई रानी बनाएर दरबार लगे। राजाले दरबारमा जेठी रानी छँदाछँदै अर्की रानी ल्याएको र यौन क्रियाकलाप गरेको प्रसंग स्थानीयले थाहा पाए। त्यसपछि योगनरेन्द्र मल्लको यो क्रियाकलाप जताततै फैलियो। त्यसपछि जनताले राजाले राम्री केटी देखे नछाडने रै'छन् भनेर असुरक्षित महसुस गर्न थाले। त्यतिबेला राजाको प्रत्यक्ष विरोध गर्ने अवस्था नभएकाले अप्रत्यक्ष रूपमा विरोध जनाउन उनका रतिरागका क्रियाकलापलाई पर्दामा अभिनयमार्फत देखाउन सुरु गरिएको हो, जुन आजपर्यन्त जारी छ।

प्रकाशित: २ आश्विन २०७३ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App