८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सकियो बेलायतमा जनमत संग्रह

लन्डन– बेलायत युरोपेली युनियनको सदस्य रहने वा नरहने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत संग्रह सम्पन्न भएको छ। बिहीबार बिहानदेखि नै बेलायतमा जनमत संग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान ७ बजेदेखि विद्यालय, पुस्तकालय, चर्च र सामुदायिक केन्द्रहरुमा जनमत संग्रहका लागि मतदानका लागि मतपेटिका राखिएको बताइएको छ । जनमत सङ्ग्रहमा दशौँ लाख बेलायतीले मतदान गर्नेछन् ।

मतदान सकिएपछि मतगणनाको कार्य चाँडै सुरु गरिने बताइएको छ । यसका लागि ३८२ वटा मत गणना केन्द्रको स्थापना गरिने छ ।

त्यस्तै वेल्स र स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डमा पनि यस प्रयोजनका लागि अलग्गै स्थानमा यस्ता मतगणना केन्द्रहरु राखिने बताइएको छ ।

बिहानबाट सुरु भएको मतदान राति १० बजेसम्म चलेको थियो । निर्वाचन आयोगले दिएको जानकारी अनुसार बेलायतका करिब ४ करोड ६० लाख नागरिक मतदानका लागि योग्य रहेका थिए । कति प्रतिशत मत खस्यो भन्ने बारेमा भने पूर्ण जानकारी आइसकेको छैन ।

निर्वाचन अघि थुप्रै सर्वेक्षण गरिएका थिए । प्रारम्भिक निर्वाचन सर्वेक्षणहरुले भने बेलायत युरोपेली युनियनमा बस्नुपर्ने भन्ने विषयको मत बढी देखिएको छ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायत इयुबाट छुट्टिन नहुने मतको प्रतिनिधित्व गरिरहेका छन् ।

उनले बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि त्यहाँ बस्दा बढी राम्रो हुने बताएका छन् ।  उनले  बुधबार दिएको अन्तिम सम्बोधनमा पनि बेलायत इयुबाट छुट्टिए देशको आर्थिक अवस्था खस्कने चेतावनी दिएका थिए ।  

मतगणना बिहीबार बेलुकीबाटै सुरु हुनेछ । यी क्षेत्रबाट आउने मत परिणामहरु रातभर नै प्रकाशित भइरहनेछन् । यिनै मत परिणामका आधारमा अन्तिम राष्ट्रिय परिणामको घोषणा प्रमुख गणना अधिकारीले म्यानचेष्टर टाउनहलबाट गर्नेछन् ।

चुनाव आयोगले अन्तिम परिणाम शुक्रबार ब्रेकफाष्ट समयसम्ममा आइसक्ने अनुमान गरेको छ । यो अघिको राष्ट्रव्यापी जनमत संग्रहमा पाँच वर्ष अघि मतदाताहरुले सांसदहरु चयन हुने प्रक्रिया परिवर्तन गर्ने कि भन्ने प्रयत्नलाई अस्वीकार गरिदिएका थिए।

पहिलो जनमत संग्रह १९७५ मा भएको थियो । उक्त जनमत संग्रहमा ब्रिटेन त्यसबेलाको युरोपियन इकोनोमिक कम्युनिटिको सदस्य रहिरहने कि नरहने भन्नेबारे सोधिएको थियो ।
बिहीबार भएको जनमत संग्रहमा भोट हालेर निस्कँदै पत्नीका साथ बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन । तस्बिर ः एफपी

 

प्रकाशित: १० असार २०७३ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App