रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रासन सामग्रीको दररेट माग गरेर शनिबार जिल्ला कृषि विकास कार्यालयमा पत्र पठायो । पत्र कार्यालयमा राखिए पनि जवाफ दिनसक्ने अवस्थामा कार्यालय छैन । नयाँ आर्थिक वर्ष सुरु भएपछि विवरण उपलब्ध गराउनविभिन्न कार्यालयले पत्र पठाइरहेको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताए।
‘यो भन्दा पहिले पनि जीवनासक विषादीको खुद्रा बिक्रेताको प्रमाणपत्र माग गरेर पत्र आएको थियो,’ उनले भने, ‘तर यसको जवाफ हामीले पठाउन सकेनौं ।’ कार्यालयले हरेक वर्ष खाद्य सामग्रीको दररेट, कृषि उत्पादनको रेकर्ड, कृषिको अवस्थालगायत विवरण कार्यालयले राख्ने गरेको छ।
कार्यालयमा सेवाग्राही आउने क्रम घटेको भएपनि आएका कृषकलाई कृषिसम्बन्धी जानकारी दिँदै आएको छ । ‘गत वर्षदेखि नै कार्यालयमा कार्यक्रम आएको छैन,’ उनले भने, ‘कार्यक्रम नआएका कारण यहाँबाट कृषकलाई परामर्श दिने काम मात्रै गरिरहेका छौं।’
हाकुका कृषक कामी छिरिङ तामाङ आइतबार परामर्शका लागि पशु सेवा कार्यालय गए । बंगुरमा आएको समस्याको समाधान हुने आशामा पुगेका उनी कार्यालयमा ताला लगाएको देखेर निराश हुँदै फर्किए।
‘बंगुरमा लाग्ने रोगको बारेमा बुझ्न कार्यालय गाको थिएँ,’ उनले भने, ‘कार्यालयमा त ताला लगाइएको रहेछ ।’कार्यालयमा कर्मचारी कहिलेकाही मात्रै पुग्ने गरेका छन् । कार्यालय खारेजीमा परेसँगै कर्मचारी अन्योल र द्विविधामा परेका छन्।
खारेजीमा परेका कार्यालयमा सीमित कर्मचारी भेटिन्छन् । कार्यालयले रजिस्टरमा हाजिर गर्ने व्यवस्था मिलाएका छन् । हाजिरीकपी एक साइडमा राखेर अर्को साइडमा हाजिर गर्ने गरेका छन् । दुई महिनादेखि तलब नपाएका कारण कर्मचारी कार्यालय रुघेंर बस्न सक्ने अवस्था छैन।
खारेज हुन लागेका आधा दर्जन कार्यालयको भवन निर्माण भइरहेको छ । यी कार्यालयको उपयोग हुने अवस्थामा छैन।
स्थानीय तहमा अझै पुगेनन् कार्यालय
स्थानीय तहको चुनाव भएको डेढ वर्ष पुगिसकेको छ । सदरमुकामको सेवा गाउँबाट नै पाइने अभिलासा बोकेका सेवाग्राहीले सबै कार्यालयको शाखा स्थानीय तहमा नपुग्दा प्रभावकारी सेवा पाउन सकेका छैनन्।
अहिलेसम्म कृषि, पशु, शिक्षा र महिला विकासको शाखा मात्र स्थापना हुन सकेको छ । अन्य कार्यालयबाट प्रदान हुने सेवा नागरिकले पाउन सकेका छैनन्।
जिल्लामा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, घरेलु, मालपोत, नापी लगायतका कार्यालय रहने छन्।
त्यस्तै लाङटाङ राष्ट्रिय निकुञ्ज, रेन्वो ट्राउट तथा मत्स्य अनुसन्धान केन्द्र र घाँसेबाली तथा चरन अनुसन्धान केन्द्र रहने निश्चित छ । यी कार्यालयमा वार्षिक कार्यक्रमसमेत आइसकेको छ।
प्रकाशित: २६ भाद्र २०७५ ०६:४० मंगलबार