८ वैशाख २०८१ शनिबार
समाज

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

तेह्रथुम – अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ। लालीगुराँस नगरपालिका–९ स्थित लसुने बजारनजिकै वाइन फ्याक्ट्री छेउमा सोमबार मध्यान्ह पहिरो खसेपछि अवरुद्ध भएको सडक १० घण्टा पछि सुचारु भएको हो।

पहिरोका कारण हिलाम्मे सडकमा यात्रुको विजोग भएको छ। सडकको बिभिन्न खण्डमा खसेको पहिरो जेसीबीले पन्छाएपछि सडक खुलेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईले बताइन्। निरन्तर वर्षा भएका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङलुङ – बसन्तपुर तथा म्याङलुङ – आठराई सडकका बिभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध भएको छ। अत्याधिक वर्षाका कारण खहरे खोलामा समेत ह्वात्तै बाढि बढेका कारण ग्रामीण भेगका किसानले लगाएको धानखेतीमा समेत क्षति पुगेको छ। यस वर्ष कै सबैभन्दा बढि पानी परेका कारण अन्नवाली भेल पहिरोले लाने भन्दै किसान चिन्तित बनेका छन्। 

निरन्तरको वर्षाका कारण फेदाप २ ओयाक्जुङ र फेदाप ५ ईसिबुका करिब १ दर्जन घर परिवार पहिरोबाट त्रसित भएका छन्। कृषकले उतपादन गरेको कृषिजन्य बस्तु निर्यातका लागि डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती परियोजनाले ओयाक्जुङमा निर्माण गरेको कृषि सडकमा प्रयोग हुने ढुंगा निकाल्दा आफ्नो घर बग्ने सम्भावना भएको भन्दै फेदाप गाउँपालिका ओयाक्जुङ २ का मानबहादुर लिम्बु, जसोदा लिम्बु, गुमानसिं लिम्बु, लाख बहादुर लिम्बु, श्यामध्वोज लिम्बु र भिम बहादुर लिम्बु लगायतले  फेदाप गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा क्षतिपूर्तिका लागि निबेदन दिएका छन्।

यस्तै मध्य पहाडी लोकमार्गले सडक निर्माण गर्दा जोखिममा परेका २ परिवार वर्षा नरोकिएपछि रातभर जाग्राम बस्न बाध्य भएका छन्। वर्षाका कारण फेदाप ५ ईसिबुका पदम प्रसाद उप्रेती र नर प्रसाद उप्रेतीको घर समेत पहिरोले बगाउने सम्भावना भएपछि अहिले रातभर जाग्राम बस्नु परेको नर प्रसादले बताए।

यसैबीच फेदाप गाउँपालिका ५ ईसिवुमा खोलाले बगाउदा १ जनाको ज्यान गएको छ। अविरल वर्षाका कारण पानीको बहाव बढेको बेला सोमबार दिउँसो स्थानीय खहरे खोला तर्ने क्रममा ४२ वर्षीय ईन्द्रबहादुर फोम्बोको मृत्यु भएको छ।

फोम्बोलाई खोलाले बगाएर दुई सय मिटर तल पुर्याएको थियो। खोलाले बगाएको स्थानीयबासीले देखेपछि खोजी गर्ने क्रममा ढुङ्गाको च्यापमा मृत अवस्थामा उनलाई फेला पारेको स्थानीय पुरुषोतम तिम्सिनाले बताए। फोम्बोलाई पंचमीबजारबाट सामान लिएर घर जाने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। 

प्रकाशित: २६ भाद्र २०७५ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App