८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको काम प्रभावित

नहर निर्माणका क्रममा काटिएका रुखका जरा। तस्विर : योगेश/नागरिक

टीकापुर – राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ। इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्ने कार्य रोकेपछि काम ठप्प भएको हो।

आयोजनाले वन विभागको स्विकृतीमा नहर निर्माणको ठेक्का पाएको कालिका कुमार जेभीलाई २०७४ चैत ८ गते डुँडेझारीदेखी लम्कीसम्मको ६ किलोमिटरमा २ हजार ६८८ रुख काट्न आदेश दिएको थियो। उसले २०७५ असार १० गते भित्र सबै रुख काटेर सम्बन्धित ठाउँमा घाटगद्दी समेत गरिसकेको जनाएको छ।

रुख काटेसँगै निर्माण पक्षले २०७५ भदौ १३ गतेदेखी जरा उखेल्ने काम सुरु गरेको थियो। २०७५ भदौ २० गते इलाका वन कार्यालय लम्कीले अर्को आदेश नभएसम्मका लागि जरा उखेल्ने कार्य रोक्न भनेको निर्माण कम्पनीका कार्यक्रम प्रबन्धक सुनिल पौडेलले जानकारी दिए।

उनले वन कार्यालयले रुख काट्न र जरा उखेल्नका लागि छुट्टाछुट्टै आदेश चाहिने भन्दै नहर निर्माण कार्यमा अवरोध सिर्जना गरेको गुनासो गरे। ‘काट्न र उखेल्न छुट्टाछुट्टै आदेश चाहिन्छ भन्यो हामी आदेशको पर्खाइमा छौं’, उनले भने।

निर्माण कम्पनीले आयोजनाको पश्चिमतर्फ डुँडेझारीदेखी पथरीया नदीसम्म १४ किलोमिटर ७०० मिटर नहर निर्माणको ठेक्का पाएको छ। २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने गरी कम्पनीले सिँचाई आयोजनासँग २०७३ साउन २३ गते सम्झौता गरेको थियो। नहर निर्माणको लागत मूल्य अभिवृद्धी कर सहित १ अर्ब ७१ करोड ७९ लाख १५ हजार ४५३ रुपैयाँ रहेको छ।

यसअघि नहर क्षेत्रमा पर्ने रुख काट्ने आदेशमा समेत दुई वर्ष ढिलाई भएको थियो। ठेक्का सम्झौता भएको केही समयमै रुख काट्ने आदेश पाउनुपर्नेमा ढिलाई भएका कारण नहर निर्माणको काम सम्पन्न हुने मिति बितिसक्दा समेत अन्यौलमा छ। गत आवसम्म नहर निर्माणको काम भौतिक रुपमा २० प्रतिशत मात्रै सम्पन्न भएको निर्माण कम्पनीका कार्यक्रम प्रबन्धक पौडेलले बताए।

निर्माण कम्पनीले रुख काट्न आदेश लिन नपर्ने केही खोलानालामा भने नहरको संरचना तयार पारिसकेको छ। उसले रोरा खोला अन्र्तगतको बर्गदा, बसुता र खत्यानीमा संरचना तयार गरेको छ। ‘अवरोध नभएका ठाउँमा हामीले काम गरिसकेका छौं’, कार्यक्रम प्रबन्धक पौडेलले भने, ‘सरकारी पक्षबाटै काममा अवरोध भएका कारण नहर निर्माणमा ढिलाई भयो।’

नहर निर्माणको काम ठप्प हुँदा आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको निर्माण कम्पनीले जनाएको छ। कार्यक्रम प्रबन्धक पौडेलले ७२ जनाको जनशक्ति र गाडी थन्केर बसेको बताए। उनले नहर निर्माणका लागि आवश्यक सामाग्री समेत तयारी अवस्थामा राखेको जानकारी दिए। ‘कसैले काम नगरेर समस्या छ’, उनले भने, ‘हामी काम गर्न तयार छौं, तर काम गर्ने वातावरण छैन।’

सिँचाई आयोजना प्रमुख मधुकर राणाले वन कार्यालयको ढिलासुस्तीले समस्या भइरहेको बताए। उनले विभिन्न बहानामा अवरोध सिर्जना गर्ने काम भइरहेको गुनासो गरे। ‘रुख काट्न आदेश दिने निकायले जरा उखेल्न अर्को आदेश चाहिन्छ भनेर रोकेको छ’, उनले भने, ‘अन्यत्र कुनै ठाउँमा यस्तो भएको देखिदैन। हामी कहाँ मात्रै किन यस्तो समस्या छ बुझ्न सकेको छैन।’

डिभिजन वन कार्यालय धनगढीका प्रमुख अमरबहादुर डुलेनले केही कानूनी प्रकृया पूरा गर्दा समय लागेको बताए। उनले राष्ट्रिय गौरवको आयोजनाको काम रोकिएको प्रति ध्यानाकर्षण भएको बताउँदै चाँडै समस्या समाधान हुने जानकारी दिए।

‘रुख काट्न आदेश दिएपछि जरा उखेल्न नदिने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘केही प्रकृया पूरा गर्दा समय लागेको मात्रै हो।’

तत्कालिन क्षेत्रीय वन निर्देशक र जिल्ला वन अधिकृतले रुख कटान भएको ठाउँमा ‘प्लट क्लिरियन्स’ दिएपछि मात्रै जरा उखेल्न आदेश दिने कानूनी प्रकृया रहेको वन कार्यालयको भनाई छ। हाल क्षेत्रीय वनको अवधारणा हटेको छ भने जिल्ला वन डिभिजन वन कार्यालयमा परिणत भएको छ। इलाका वन कार्यालय लम्कीका प्रमुख रविकुमार निधी कर्णले समस्या समाधानको अन्तिम विन्दुमा पुगेको बताए।

कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाई सुविधा पु-याउने उद्देश्यले सिँचाई आयोजना निर्माण सुरु भएको हो। नेपाल सरकार, विश्व बैंक र स्थानीयको लगानीमा आयोजना निर्माण भइरहेको छ। करिव १२ अर्बको आयोजनामा सात अर्ब नेपाल सरकार, पाँच अर्ब विश्व बैंक र १० करोड बराबरको स्थानीयको जनश्रमदान रहेको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App