coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

जे छ, सन्तुष्ट हुने कि शंका गर्ने?

पूर्वीय दर्शन भन्नाले मूलतः हालको एसियाली दर्शन बुझिन्छ । पूर्वीय वा पौरस्त्य दर्शन भारतीय, चिनियाँ, कोरियाली, जापानिज, अरेबियन र हिन्दू दर्शनको संगम हो । हाम्रो दर्शनको सार हो– आफूलाई चिन, आफूलाई खोज, लोभ पाप नगर, कर्म गर तर फल तिम्रो अधीनमा छैन, मानव सेवामा लाग । हाम्रो दर्शनले सदाचारिताको बढी कुरा ग-यो । ज्ञानलाई आफू केन्द्रित बनायो । बाहिर खोज भनेन । महाभारत र रामायणले दिने ज्ञान उस्तै उस्तै छ । बुद्धले दिएको ज्ञान र चाणक्यले दिएको ज्ञान सारमा उस्तै उस्तै छ । वेद उपनिषद्ले दिने ज्ञान र त्रिपिटकले दिने ज्ञान उस्तै उस्तै छ । यो सबै भनेको अन्तर्मुखी किसिमको भयो, आफूमा सीमित भयो।

नेपाल–भारत जुन हिन्दू दर्शनको मुख्य क्षेत्र हो, यहाँ विज्ञान हुर्कनै सकेन । एउटा समृद्ध दर्शनले त ज्ञान–विज्ञान दुवैमा विकास गर्नुपर्ने हो । तर सधैँ आफूलाई बुझेर, आफूलाई मात्र खोजेर त कस्तो ज्ञान आउँथ्यो होला र ? वर्षौं ध्यान बसेर कस्तो ज्ञान आउँछ र ? समाजबाट टाढा बसेर आउने ज्ञान समाजको हितमा त हुने कुरै भएन, त्यसले आत्मिक शुद्धताको मात्र कुरा गर्ने भयो । हिन्दू दर्शनमा जे जति विचारक छन् ती सबको ज्ञान प्राप्तिको माध्यम मुख्यतः ध्यान भयो । त्यसै हुनाले फरक फरक समय र परिवेशका विचारकको ज्ञान पनि उस्तै उस्तै नै भयो । ज्ञान प्राप्त गर्न त धेरैभन्दा धेरै डुल्नुपर्छ, धेरैभन्दा धेरै परीक्षण–प्रयोग गर्नुपर्छ, धेरैभन्दा धेरै संवाद गर्नुपर्छ । हिन्दू दर्शनमा अपूरो भनेको विज्ञानको पाटो हो । हामीकहाँ विचारक बढी भए । वैज्ञानिक शून्य बराबर भए।

हिन्दू दर्शनले आफूभन्दा बाहिर पनि खोज्न सिकाएको भए आज हामीकहाँ विचारक सँगसँगै वैज्ञानिकहरू पनि हुने थिए । धेरै ठूला ठूला वैज्ञानिक उपलब्धिहरू हाम्रासामु हुन्थे । हिन्दू दर्शनमा रहेको यही त्रुटिका कारण बाहिर खोजिएन । पछि त झन् कर्मकाण्डी हुँदै जाँदा विचारक पनि जन्मिन छाडे । कर्मकाण्ड जति बलियो हुँदै गयो, हिन्दू दर्शन त्यति नै कमजोर हुँदै गयो । पछिल्लो समयका जे जति विचारक छन् उनीहरूबाट नयाँ ज्ञान आउनेभन्दा पनि पुरानै ज्ञानको तानतुन र जोडजाड मात्रै छ । नयाँ विचारकहरू पुरानै ज्ञानलाई समृद्ध देखेर त्यसैको संरक्षणमा मात्र लागेको देखिन्छ । नयाँ ज्ञान आउँदा पनि आउँदैन किनभने नयाँ खोज्न सिकाएकै छैन । जे छ, त्यसैमा सन्तुष्ट बन भन्छ । सन्तुष्ट बनेपछि त शंका हुने भएन । शंका नभएपछि खोज हुने भएन । हिन्दू दर्शनले विशेषतः सामाजिक सन्तुलन, न्याय र आत्मिक शुद्धतालाई जोड दिएको छ । हुनुपर्ने चाहिँ ज्ञान र विज्ञान दुवैको मिश्रण हो । बाहिर र भित्र दुवैको खोजी हो । हिन्दू दर्शनप्रति गौरव गर्नेहरूले यति ठूलो हराएको चिजलाई नजरअन्दाज गर्न मिल्दैन । अलि अघिसम्म पश्चिमाहरू अत्यन्त बहिर्मुखी थिए । सारा संसार खोजेर सन्तुष्ट नभएर अहिले उनीहरू आत्मिक शान्तिको खोजीमा लागेका छन् । उता पनि त्यो कमजोरी रह्यो । पश्चिमाहरू विज्ञानको क्षेत्रमा यति विघ्न किन सम्पन्न भए, हरेक आविष्कार पश्चिममा किन भयो, आइन्स्टाइन किन उतै जन्मिनुपर्ने, न्युटनको जन्म किन यहाँ हुन सकेन?

जोसँग प्राविधिक सीप थियो, उसैलार्ई अपहेलित गरेर पढ्न–लेख्न दिइएन । सीप भएको मान्छेले आफ्नो अनुभव, खोज, उपलब्धि लेख्न सकेको भए त्यो अर्को त्यस्तैसँग प्रसारण हुन्थ्यो र त्यसले विज्ञानको रूप लिन्थ्यो । यदि कामीलाई हेँला नगरेर उसले जानेको सीपलाई प्रवद्र्धन हुन दिएको भए मोटर इन्जिन नेपाल भारतमै बन्थ्यो । दमाईलाई लेख्न–पढ्न दिइएको भए सिलाई मेसिनको विकास यतै हुन्थ्यो । प्रविधिसँग जोडिएको मान्छेलाई दलित भनेर उसको सीपलाई पुरेपछि विज्ञानको विकास हुने कुरै भएन । गीता पढे संसार बुझिन्छ भनेर बसियो।

पश्चिमाहरूमा पनि समस्या नभएको होइन । विज्ञान विकसित भएर यति उन्मत्त भयो कि विज्ञान मानवविरुद्ध नै देखाप-यो । त्यसो हुनाले अब हिन्दू दर्शन सच्याउने बेला आइसक्यो । यो सच्चिनैपर्छ, यदि यसलाई बचाउने हो भने । हैन भने पश्चिमाको विज्ञानले यसलाई थिच्दै थिच्दै बिलाउने बनाइदिन्छ । ज्ञान र विज्ञानको सन्तुलन भयो भने मानव नै मानवको दुश्मन हुने युग समाप्त हुन्छ । हिन्दू दर्शनलाई कर्मकाण्डबाट अलिकति टाढा राख्न सकियो भने पनि हिन्दू दर्शनको उद्धार नै हुने थियो।

प्रकाशित: २६ भाद्र २०७५ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App