८ वैशाख २०८१ शनिबार
समाज

उपचार नगर्ने अस्पतालसँग स्पष्टीकरण माग

चितवन - सर्पले डसेपछि अस्पताल पु-याइएका भरतपुर–१५, मंगलपुरका ३ वर्षीय सलिन विकको उपचार नगर्ने अस्पतालहरूलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण मागेको छ। यही भदौ २१ गते राति सुतेकै ठाउँमा सर्पले डसेपछि भरतपुर अस्पताललगायत विभिन्न अस्पताल पु-याइए पनि सबै अस्पतालले उपचार गर्न नसक्ने भन्दै फर्काएपछि सलिनको मृत्यु भएको थियो । यसरी उपचार नगरी बालकलाई मृत्युको मुखमा पु¥याउने अस्पतालहरूलाई कारबाही हुनुपर्ने आवाज उठेपछि सम्बन्धित अस्पतालहरूलाई स्थानीय प्रशासनले स्पष्टीकरण मागेको हो।

पीडित परिवारलाई क्षतिपूर्ति तथा उपचार नगर्ने अस्पताललाई कारबाही हुनुपर्ने माग गर्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।

जहाँ–जहाँ बालकलाई लगिएको थियो ती सबै अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। सोमबारसम्म चारवटा अस्पतालले घटनाको जानकारी पठाएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। यस्तै सुरुमा बालक लगिएको भरतपुर अस्पतालमा आइतबार नै अनुगमन गरिएको उनले बताए। अस्पतालको आइसियु कक्षको अनुगमन र विज्ञ टोलीसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। इमरजेन्सीको फ्रन्ट डेक्समा बस्ने मेडिकल पर्सन र चिकित्सकले अस्पतालको विशेषज्ञ चिकित्सकसँग नसोध्दा घटना भएको देखिएको उनले बताए । बालकको उपचार नगर्नुका कारणबारे सबै अस्पतालबाट जानकारी आइसकेपछि कारबाही के गर्ने भन्ने विषयमा मंगलबार छलफल गरिने प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

यसैबीच भरतपुर अस्पतालले विज्ञप्ती जारी गर्दै त्यसदिन आइसियुका सबै बेडमा बिरामी भएकाले बालकको उपचार गर्न नसकिएको जनाएको छ। पीआइसियु सेवा उपलब्ध नहुनु र उपचारमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी अन्तर अस्पताल सूचना आदानप्रदान नहुँदा (कम्युनिकेन ग्याप हँुदा) दुःखद घटना भएको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ।

अस्पतालको लापरबाहीका कारण बालकको मृत्यु
अस्पतालको लापरबाहीकै कारण सलिन विकको सर्पदंशबाट मृत्यु भएको विज्ञले बताएका छन् । नेपालमा सर्पदंश उपचार विषयमा विद्यावारिधी गरेका अनुसन्धानकर्ता डा. देवप्रसाद पाण्डेले अस्पतालले बिरामी आउनेबित्तिकै उपचार नगरेका कारण सलिनको मृत्यु भएको बताएका हुन् । सर्पदंशका बिरामी अस्पताल आउनासाथ उपचार सुरु गरेर बचाउनुपर्ने उनी बताउँछन्।

चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेमा भेन्टिलेटर, आइसियु खाली नभएको भन्दै बिरामीलाई फिर्ता पठाउनु चरम लापरबाही भएको डा. पाण्डेले बताए। अस्पतालमा जे सुविधा उपलब्ध छ त्यहीबाट उपचार सुरु गर्नुपर्ने उनको तर्क छ । अन्यन्त्र पठाउनुपर्ने भए पनि त्यसको व्यवस्थापन चिकित्सकले गरिदिनुपर्ने उनको भनाइ छ। ‘सर्पदशं भनेको संवेदनशील समस्या हो,’ उनले भने, ‘समयको ख्याल गरेर डाक्टरको निगरानीमा नै बिरामी राख्नुपर्छ।’

सर्पदंशमा श्वासप्रश्वास अवरुद्ध भएर नै बिरामीको मृत्यु हुन्छ । त्यसैले श्वासप्रश्वास अवरुद्ध हुन नदिन इन्डो ट्रयाकियल ट्युब र एम्बो ब्याग प्रयोग गर्न सकिने सुविधालाई अस्पतालले प्रयोग नै नगरेको पाइएको उनले बताए । उनका अनुसार भेन्टिलेटर सुविधा आउनुअघि र आइसियु लगायतका व्यवस्था हुनुअघि पनि सर्पदंशका बिरामीको उपचार गरिन्थ्यो । तर, अस्पतालले यो कुरालाई पूरै बेवास्ता गरेको उनको भनाइ छ । यसले अस्पताल तथा चिकित्सकबारे गम्भीर प्रश्न उठाएको उनले बताए । डा. पाण्डे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पढाउँछन्।

प्रकाशित: २६ भाद्र २०७५ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App