निर्मला पन्त हत्या प्रकरण

‘अनुसन्धानमा प्रहरीको लापरबाही’

मङ्गलबार, २६ भदौ २०७५, ०६ : ३१ दिलबहादुर छत्याल

उल्टाखाम (कञ्चनपुर) - १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ। निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक बनेपछि गत भदौ ८ गते काम सुरु गर्ने गरी गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिलाई १५ दिन म्याद दिएको थियो। समितिले छानबिन सकेर प्रतिवेदन लेख्ने काम गरिरहेको संयोजक मैनालीले बताए।

छानबिनका क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको उनले बताए। समितिले पनि छानबिनका क्रममा निर्मला हत्याको दोषी पत्ता लगाउन सकेको छैन। संयोजक मैनाली हत्याको दोषी पत्ता लागउने क्षेत्राधिकार समितिको नरहेको बताउँछन्।

‘निर्मलाको हत्या कसले गरेको भनेर पत्ता लगाउने यो समितिको जिम्मेवारी होइन, त्यसबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भने। निर्मला हत्या घटनामा प्रहरीको अनुसन्धान कस्तो भयो, आन्दोलन भएर मान्छे मर्ने अवस्था किन आयो लगायतको कुराको छानबिन समितिले गरेको उनको भनाइ छ। उनले निर्मलाको हत्या अनुसन्धानमा सुरुमा प्रहरीबाट लापरबाही भएको बताए। ‘छानबिन गर्दा सुरुमा प्रहरी अनुुसन्धानमा लापरबाही भएको पाइएको छ’, उनले भने। प्रहरीको लापरबाहीले घटनास्थलमा प्रमाण नष्ट भएको समितिको निष्कर्ष छ।

प्रहरीले गोली चलाउनुपर्ने अवस्था थिएन
मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका १९ का दिलीपसिंह बिष्टलाई निर्मलाको हत्यारा भनेर प्रहरीले सार्वजनिक गरेपछि निर्दोषलाई दोषी देखाएको भन्दै स्थानीयले भदौ ५ गतेदेखि आन्दोलन चर्काएका थिए। आन्दोलनका क्रममा भदौ ७ गते प्रहरीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका थिए। आन्दोलन चर्केपछि गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठीलाई तानेर प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत, डिएसपी कृष्ण ओझालाई खटायो। भदौ ८ गते नयाँ टोली आएपछि पनि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय सनी खुनाको ज्यान गएको थियो।

छानबिन समितिले भदौ ७ र भदौ ८ गते प्रहरीले गोली चलाउनु गलत रहेको निष्कर्ष निकालेको छ। संयोजक मैनालीले भने, ‘छानबिन गर्दा प्रहरीले गोली चलाउनुपर्ने अवस्था नरहेको पाइयो।’ कति मान्छे प्रदर्शनमा आउँदै छन् भनेर सूचना संकलन गर्ने र त्यहीअनुसारको तयारी गरेर आन्दोलन नियन्त्रण गर्ने प्रयास नभएको उनले बताए। ‘लाठी चार्ज, अश्रुग्यास र हवाईफायर गरेर भीडलाई भगाउन सकिन्थ्यो, यी अनेक उपाय अवलम्बन नगरी प्रहरीले गोली चलाएको पाइयो’, उनले भने। प्रतिवेदन छिट्टै गृहमन्त्रीलाई बुझाइने उनले बताए।

प्रहरी भित्रै अनुसन्धान गर्न माग
छोरीको हत्यामा संलग्न दोषीलाई प्रहरीले नै बचाउन खोजेको भन्दै निर्मलाका आमा दुर्गादेवी पन्तले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष गुनासो गरेकी छन्। भीमदत्त पन्त नगरपालिका २ उल्टाखामस्थित पन्तको घरमा पुगेका आइजिपी खनालसमक्ष उनले प्रहरीभित्र अनुसन्धान गर्न माग गरेकी थिइन्। आईजिपी खनालले दोषी पत्ता लगाएर न्याय दिलाउने आश्वासन दिएको उनले बताइन्। दुर्गादेवीले भनिन्, ‘अहिलेसम्म सबैले आश्वासन मात्र दिएका छन् । दोषी पत्ता लगाएका छैनन्, म त हैरान भइसकें। मैले उहाँलाई आश्वासन होइन, दोषी पत्ता लगाएर न्याय दिनुहोस् भनें।’

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले करिब डेढ सय जनासँग सोधपुछ गरे पनि अहिलेसम्म कुनै तथ्य फेला पर्न नसकेको बताएका छन्। सुरुदेखि नै घटनास्थलमा धेरै प्रमाण नष्ट हँुदा अनुसन्धान जटिल बनेको उनले बताए।

छानबिन समिति विवादित

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा छानबिन गर्न गठित समिति विवादमा तानिएको छ। छानबिन समितिका सदस्य ७ नं. प्रदेशका आन्तरिक मामिला मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएपछि समितिको विवाद बाहिर आएको हो। गृह मन्त्रालयले समितिको म्याद १५ दिन थपेपछि सदस्य केसीले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । मन्त्रालयले घटना छानबिन गर्न आइतबार १५ दिन म्याद थप गरेको थियो।

कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन बुझाउने समयमा उपसचिव केसीले असन्तुष्टि व्यक्त गर्दे राजीनामा दिएका छन्। उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै राजीनामा दिएको बताएका छन्।

समितिले शुक्रबार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरी अनुसन्धानमा त्रुटि देखिएको औंल्याएको थियो। संयोजक मैनालीले अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको बताएका थिए। सोही आधारमा समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाउने जनाइएको थियो । तर मन्त्रालयले पक्राउ परेका अरोपित दिलीपसिंह बिष्टको डिएनए रिपोर्ट नआएको कारण देखाउँदै समितिको म्याद थपेको छ।

समितिबाट राजीनामा दिएपछि गृह मन्त्रालयमा पुगेका उपसचिव केसीले नागरिकसँग भने, ‘छानबिन समितिसँग मेरो कुनै गुनासो छैन तर मलाई समितिमा बस्न मन लागेन, मेरो ज्यानको खतरा भयो।’ उनले कसले धम्की दियो भन्ने विषयमा केही बताएनन् । गृह मन्त्रालयका कर्मचारी भएर उनले आफूलाई धम्की आयो भनेर समितिबाट राजीनामा दिएपछि गृहले अनुसन्धानको दायरा फराकिलो भएको जनाएको छ। ‘छानबिन समितिमा बसेका सदस्यमाथि धम्की आएको सार्वजनिक भएपछि मन्त्रालयको ध्यानाकृष्ट भएको छ, सरकारको कर्मचारी भएर धम्क्याउने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुको सट्टा प्रचारबाजी गर्नु ठिक होइन’, गृहका एक अधिकारीले भने।

निलम्बित एसपी बिष्ट लबिङमा
निर्मला पन्त हत्या अनुसन्धानमा कमजोरी गरेको भन्दै गृह मन्त्रालयले निलम्बन गरेको कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट आफूले गल्ती नगरेको भन्दै मन्त्रालयका कर्मचारीसँग लबिङ गर्न थालेका छन्। सोमबार दिउँसो मन्त्रालयमा पुगेका एसपी बिष्टले गृह मन्त्राललयका सचिवालयका अतिरिक्त त्यहाँका कर्मचारीलाई समेत भेटेका थिए।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad